मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाको महामारीबाट १७७ देश प्रभावित, ९३९० ले ज्यान गुमाए

कोरोनाको महामारीबाट १७७ देश प्रभावित, ९३९० ले ज्यान गुमाए


काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १७६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बिहीबार राति १० बजेसम्म ९३९० जनाको मृत्यु भएको छ ।
 
बिहीबार अर्थात् मार्च १९ मा इरानमा १४९, स्पेनमा १६५, यूकेमा ३३, नेदरल्याण्ड्समा १८, जर्मनीमा १५, अमेरिकामा ११, चीनमा आठ, बेल्जियम र दक्षिण कोरियामा सात सात, इन्डोनेसियामा छ र जर्मनीमा पाँच जनाको मृत्यु भएको हो । बिहीबारमात्रै नयाँ संक्रमितको संख्यामात्रै १२ हजार ४१६ रहेको छ भने मृत्यु हुनेको संख्या ४४७ पुगेको छ ।    
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ३१ हजार २०४ जनामा संक्रमण देखिएकोमा ८६ हजार २६१ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ३५ हजार ५५३ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ६९३८ जनाको अवस्था जटिल रहेको छ । 
 
बिहीबार रातिसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २४५ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३४ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ८ रहेको छ । 
 
चीनपछि इटालीमा २९७८ जनाको ज्यान गएको छ । इटालीमा ३५ हजार ७१३ जना संक्रमित भएका छन् । इरान १८ हजार ४०७ जना संक्रमित भएकोमा १२८४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १०४६ छन् । इरानमा बुधबार १४७ र बिहीबार १४९ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ ।
 
यस्तै, स्पेनमा १७ हजार ३९५ व्यक्ति संक्रमित छन् भने हालसम्म ८०३ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै २६२६ पुगेको छ । स्पेनमा बुधबार ९० जना र बिहीबार १६५ जनाले ज्यान गुमाएका छन् । इरानपछि तेस्रो संक्रमणदर उच्च भएको देशमा स्पेन सूचीकृत भएको छ । 
 
अमेरिकामा बिहीबारसम्म ११ हजार २३४ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने १६१ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बिहीबार ११ जनाको ज्यान गएको छ भने १९७५ जना नयाँ संक्रमित थपिएका छन् । 
 
फ्रान्समा नौ हजार १३४ जना प्रभावित रहेकोमा २६४ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८५६५ जना कोरोनाबाट प्रभावित छन् भने ९१ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १४ हजार ३६६ संक्रमित छन् भने ४३ जनाको मृत्यु भएको छ । जर्मनीमा बिहीबारमात्रै २०३९ नयाँ संक्रमित थपिएका छन् ।   
 
यसैगरी, युकेमा २६९२ व्यक्ति संक्रमित भएकोमा १३७ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २४६० संक्रमित भएकोमा ७६ जनाको मृत्यु भएको छ । जसमा बिहीबारमात्रै ४०९ नयाँ संक्रमित थपिएका छन् । स्वीट्जरल्याण्डमा ३९३९ संक्रमित छन् भने ३६ जनाको ज्यान गएको छ । बिहीबार ८२४ नयाँ संक्रमित थपिएका छन् ।
 
जापानमा ९२३ संक्रमित छन् भने ३२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । (एजेन्सीहरुको सहयोगमा ।)