मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालोबजारी गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने

कालोबजारी गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने


काठमाडौँ । कोरोना भाइरसको त्रास देखाएर बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई सरकारले कारबाही सुरु गरेको जनाएको छ । 
 
कारोनाको विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने पनि सरकारले स्पष्ट पारेको छ । 
 
सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिनेभन्दा बढी सामान खरिद नगर्न सबैमा आग्रह गरेको छ । 
 
सरकारले कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गर्दै आएको छ । 
 
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसप्रति सचेत भई आमजनतालाई सुसूचित गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । 
 
आपूर्तिमन्त्री भट्टका अनुसार आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि जानकारी दिए । 
 
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारबाही गर्न चेतावनी दिएको जानकारी दिए । 
 
मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इण्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने स्पष्ट गरे । 
 
उनले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारबाही गरी रु ५६ लाख जरिवाना असुल गरिएको बताए ।