मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरोना फैलिने त्रासले नेपाल–भारतमैत्री बस सेवा बन्द

कोरोना फैलिने त्रासले नेपाल–भारतमैत्री बस सेवा बन्द


धनगढी । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारतमैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफन्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । 
 
यसबाहेक गौरीफन्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताए । 
 
यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकूल प्रभाव परेको बताए । लामो तथा छोटो दुरीमा चल्ने बस सेवामा यात्रुको सङ्ख्या घट्दै गएकोले यातायात सेवा प्रभावित भएको हो । 
 
धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बसमात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताए । 
 
धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताए । पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।
 
यसैबीच, कैलाली त्रिनगर भन्सार कार्यालयको खाली रहेको भवनलाई कोरोनाका शंकास्पद बिरामी राख्न क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पहल गरिएको छ । 
 
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले यसबाहेक वडा प्रहरी कार्यालय धनगढी नजिक रहेको अर्को भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पहल गरिएको बताए ।
 
कोरोनाका शंकास्पद बिरामी फेला परेमा यस्ता बिरामीको तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान त्रिनगर भन्सार नाकामा एम्बुलेन्स तयारी हालतमा राखिएको छ । कैलालीको खक्रौला सीमा नाकाको हकमा टीकापुर अस्पतालमा एम्बुलेन्स तयारी हालतमा राखिएको छ ।
 
सेती प्रादेशिक अस्पताल धनगढीमा पाँच वटा ‘आइसोलेसन‘ कक्षको व्यवस्था गरिएकोमा भेन्टिलेटरसहितको थप कक्षको व्यवस्था गर्न पहल गरिएको छ । 
 
सुदूरपश्चिम प्रदेशका भारतसँग नजिक रहेका त्रिनगर, खक्रौला लगायतका सीमा नाकामा सञ्चालन गरिएका ‘हेल्थ डेस्क’ मार्फत नेपाल–भारततर्फ आवागमन गर्नेको स्वास्थ्य जाँच नियमितरुपमा गर्ने गरिएको छ ।
 
सुदूरपश्चिम प्रदेश सरकारले कोराना भाइरस रोग निगरानी तथा रोकथामका लागि हेल्थ डेस्क सञ्चालन मार्गदर्शन तयार पारेर सोही आधारमा आवश्यक ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।