मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकी जनगणना फर्म भर्नुभयो ?

अमेरिकी जनगणना फर्म भर्नुभयो ?


केही सातायता नेपाली समाज टेक्ससले सामाजीक सञ्जालमा एउटा अभियान अघि बढाएको छ । फेसबुककको प्रोफाइल पिक्चरलाई फ्रेम दिएर लेखिएको छ–‘यसपाली हामी छुट्ने छैनौ । वी काउन्ट ।’ 
 
अमेरिकामा सुरु भएको जनगणनामा नेपालीहरुको अधिकतम सहभागिता गराउने र कोही पनि नछुटाउने ध्येय नेपाली समाज टेक्ससले राखेको छ । सोही अभियान अन्तरगत नेपालीहरुमा चासो जगाउनका लागि प्रोफाइल पिक्चरलाई फ्रेम दिएर यस्तो अभियान थालिएको हो । 
 
हरेक १० वर्षमा हुने अमेरिकी जनगणना यसवर्ष सुरु भैसकेको छ । यतिखेर अमेरिकी सेन्सस व्युरोले हरेक घर, अपार्टमेन्ट, मोबाइल होमहरुमा पत्र पठाएर जनगणना २०२०मा सहभागी हुनका लागि आव्हान गरिसकेको छ । युएस सेन्सस व्युरो, नेसनल प्रोसेसिङ सेन्टर १०० लजिस्टिक एभेन्यु जेफरसनभील इण्डियाना ४७१४४ ठेगानाबाट अमेरिकाका हरेक घर÷अपार्टमेन्ट ठेगानामा पत्र आउन सुरु भैसकेको छ । यस्तो पत्र आउँदो मार्च २० भित्रमा अमेरिकाका हरेक ठेगानामा पुगिसक्छन् । 
 
जसरी नेपालमा हरेक १० वर्षमा जनगणना हुन्छ । त्यसैगरि अमेरिकामा पनि संविधानले नै हरेक १० वर्षमा जनगणना गर्नुपर्ने वाध्यात्मक व्यबस्था गरेको छ । 
 
अमेरिकामा पहिलो पटक सन् १७९० मा जनगणना भएको थियो । त्यतिखेर ३९ लाख २९ हजार जनसंख्या थियो । हुनत त्यतिखेर अहिलेका १३ राज्यहरुमात्र अमेरिकाका रुपमा थिए । त्यसो हुँदा जनसंख्या कम देखिएको हो । 
 
१० वर्ष अघि सन् २०१० मा भएको गणना अनुसार अमेरिकामा ३० करोड ८७ लाख जनसंख्या थियो । अमेरिकी सेन्सस व्युरोका अनुसार हरेक ९ सेकेण्डमा एक बच्चा जन्मन्छ । त्यस्तै हरेक ११ सेकेण्डमा एउटा मृत्यु हुन्छ । अमेरिका संसारमा यस्तो देश हो, जहाँ हरेक ४७ सेकेण्डमा एकजना आप्रवासीको प्रवेश हुन्छ । 
 
अमेरिका चीन र भारतपछि संसारमा तेस्रो ठूलो जनसंख्या भएको देश पनि हो । यतिखेरको अनुमान अनुसार अमेरिकाको जनसंख्या ३२ करोड ९३ लाख छ । 
 
यसपटक अमेरिकाको २४ औँ जनगणना हो । यो जनगणनामा सहभागी हुनु अमेरिकामा बस्दै आएका जो कोहीको पनि कर्तव्य हो । किनकी संविधानलेनै जनगणना गर्नुपर्ने वाध्यात्मक व्यबस्था गरेको छ । 
 
जनगणनाबाटै मानिसको जन्मदर, मृत्युदर, बसाइसराईदेखि लिएर कहाँ कस्तो पूर्वाधार आवश्यक पर्छ भन्ने बारेमा योजना बनाउन सघाउ पुग्छ । यतिमात्र होइन, अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ, स्थानीय राजनीतिक तहको सदस्य संख्या पनि कुन राज्यले कति पाउँछ भन्ने बारेमा जनगणनाबाटै निधो हुन्छ । 
 
मानिसको संख्या अनुसारनै के कति पूर्वाधार, दैनिक उपभोग्य वस्तु, शिक्षा स्वास्थ सुरक्षाका प्रवन्धहरुको तय हुन्छ । 
 
जनगणनामा सहभागी हुनु अमेरिकाको भूमिमा बस्ने जो कोहीको पनि दायित्व हो । टाइटल १३, युएस कोड, सेक्सन १४१, १९३ र २२१ अनुसार अमेरिकामा बस्ने हरकोहीले पनि जनगणनालाई आफ्नो र परिवारको सही सूचना दिनुपर्छ । अमेरिकी कानुन अनुसार यदी जनगणनामा सामेल नहुने हो भने दण्डको भागिदार हुनुपर्छ । 
 
अमेरिकामा नेपालीको संख्या कति छ भन्ने बारेमा अहिलेसम्म वास्तविक तथ्यांक अझै आउन सकेको छैन । तीनलाखको हाराहारीमा भनिएपनि त्यो आधिकारिक तथ्यांक होइन । कसैले पाँचलाख भनेर उल्लेख गरेको पनि पाइन्छ । कसैले दुईलाखमात्र पनि भन्ने गरेका छन् । 
 
पछिल्लो अर्थात २०१० देखि २०१९ को अवधिमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या थपिएको अनुमान गरिएको छ । तरपनि नेपालीबाट आएर स्थायी रुपमा बस्दै आएकोहरुको आधिकारिक तथ्यांकका लागि यसपटक नेपाली समुदायहरु जनगणनामा अधिकतम सहभागिताका लागि जागरण अभियानमा लागेका हुन् । 
 
नेपालीमुलका, नेपालबाट आएकाहरुले प्रश्नावलीको नम्बर ९ मा ‘अदर एसिएन’ मा टिक मार्क लगाएर सँगैको तल लेख्ने ठाउँमा नेपाली लेख्ने हो भने नेपालबाट आएकाहरुको एकीन विवरण प्राप्त हुन निकै ठूलो सहयोग पुग्छ । अमेरिकामै नेपाली बा–आमाबाट जन्मिएका बालबच्चाहरुलाई पनि ‘नेपाली’ भनेर लेख्न सकिन्छ । 
 
सेन्सस व्युरोले हरेक ठेगानामा पठाएको पत्रमा दिएको आइडीलाई प्रयोग गरेर अनलाइनबाटै पनि आपूm र परिवारको विवरण दिन सकिन्छ । सेन्सस व्युरोले १० मिनेट लाग्ने भनेपनि परिवार संख्याको आधारमा ५ मिनेटमै पनि जनगणनाको प्रश्नावली भर्न सकिने रहेछ । प्रश्नावली भर्दा सोसल नम्बर आवश्यक पर्दैन । नत बैंक एकाउण्टको विवरण, क्रेडिट कार्डको विवरण चाहिन्छ । उमेर समुहको निक्र्यौलका खातिर जन्ममिति भने चाहिन्छ । 
 
सोसल नम्बर सहित आवश्यक पर्ने भन्दै कुनै पत्र आएको छ या फोन आयो भने त्यसलाई इन्कार गर्नुपर्छ । किनकी हरेक परिवारलाई सेन्ससले अंक र अक्षर मिश्रित १२ डिजिटको आइडी दिएको हुन्छ । त्यसैका आधारमा यो परिवार कुन ठेगानामा बस्छ भनेर सेन्ससले पत्ता लगाउँछ । 
 
अमेरिकी जनगणनामा भिजिटर भिसामा आएका भन्दा बाहेक यो मुलुकमा चाहे कानुनी रुपमा हुन् या गैर कानुनी रुपमा । जुनसुकै स्टाटस भएकाहरुले पनि आफूलाई दर्ता गर्न सक्छन् । 
 
सेन्सस व्युरोले पठाएको पहिलो पत्रका आधारमा कोही अनलाइनमा दर्ता भएनन् भने मार्च २४ भित्रमा फेरि अर्को स्मरणपत्र आइपुग्छ । यसरी पनि नभर्ने वा कम्प्युटर, स्मार्टफोनको पहुँच नभएकाहरुलाई अप्रिलको पहिलो साता कागजी प्रश्नावली पठाउँछ । यति गर्दा पनि कसैले भरेनन् भने मे महिनामा गणकहरु घर वा अपार्टमेन्टको ढोकाको घण्टी बजाउन आउनेछन् । 
 
जनगणनामा सहभागी हुनु एक त कानुनी रुपमा अनिवार्य त छँदैछ । अर्कोतर्फ यसपटक नेपालीमुलकाहरुले आफ्नो सहभागिता, अमेरिकी सरकारसँग आफ्ना कुराहरु राख्नका लागि समेत संख्याको स्पष्टता आउनेगरि आफुलाई दर्ता गर्नैपर्छ । तसर्थ यसपटकको अमेरिकी जनगणनामा दोहोरिने संभावना त छैन । तरपनि कोही नछुटौ । आफ्नो परिवारको हित, कर्मभूमि अमेरिकाको हितका लागि कोही नछुटौं । ५ मिनेट समय छुट्टाएर सबैले अमेरिकी जनगणना २०२० मा आफूलाई सूचिकृत हुनबाट नछुटाउँ ।