साहित्य / विविध / फिचर

जुनेलीको शुभकामना

568 पटक पढिएको

– कमला अधिकारी लोहनी

कथा | 7th Mar 2020, Saturday | २०७६ फाल्गुन २४, शनिबार १८:४०
फुर्सदको दिनमा पनि सबेरै उठेर सामाजिक सञ्जालमा हाजिर हुने लत नै बसिसकेको छ मेरो । हुनपनि यो सञ्जाल अचम्मकै छ । हरेक चाडपर्व देखि संसारभरिका राम्रा/नराम्रा सबै खबरहरु यसैबाट थाहा पाउन सकिन्छ । अनि कस्को जन्मदिन, विवाहको बार्षिकोत्सवको त कुरै नगरूँ ।
 
ओहो, फेरि सिजन त नारी दिवसको आइ सकेछ । म जान्ने बुझ्ने भएदेखी नै नारी दिवसका अबसरमा हुने बिभिन्न गतिबिधिहरु नजिकैवाट नियाल्दै आइरहेकी छु । घरदेश देखि परदेशसम्म तहल्का नैं मच्चाएको हुन्छ यो दिवसले ।
 
तर हरेक बर्ष मैले संझने गरेका प्रतिनिधि नारीहरु उस्तै लाग्छन् मलाइ । ३/ ४ दशक देखि महिला अधिकारका नारा लाउने ठूली भाउजु देखी मेरो भोटो सिलाउने दमिनीआमा सम्म । सात बर्षको उमेरमा बिधुवाको दर्जा पाएकी कान्छी फुपूदेखी बर्षौं बेखबर पतिको बाटो हेरिरहेकी ठूलीदिदी सम्म । अनि पिठ्यूँमा नानी बेकेर गाँस, बासको जोहो गर्न बिभिन्न नदीका किनारमा गिटी कुटी रहेका सबै नारीहरु मलाइ उस्तै लाग्छन् । अझै भन्नुपर्दा सबै सबै उस्तै छन् ।
 
खास नारा नारी अधिकारको कि जिबीकोपार्जनको ? अझै नारीहरु अज्ञानता र चरम गरिबीबाट मुक्त हुन सकेका छैनन् ।
 
सायद उनीहरुले भावी पुस्ताकालागी देखेको सपना अझै फितलो हुँदैछ । दिनरात छोरी/चेलीहरु असुरक्षित भएको टुलुटुलु हेर्नुको बिकल्प नहुँदा यिनको सेतै फूलेको कपालले के भन्दो हो ? यस्तै यस्तै तरंगले मन अमिलो भै रह्यो निकै बेर ।
 
फेसबुकका पानाहरु पल्टाउँदै गर्दा एक परिचित जस्तै लाग्ने अनुहारमा भन्दा पनि उनले लेखेको स्टाटसमा आँखा टक्क अडिए । लेखिएको थियो :
“मेरा बा आमाले कन्यादान गरेपछी, उ अनी उ सँगै जोडीएका सम्पूर्ण परिवारको खुशीकालागी मैले जीबन नैं दान गरिदिएँ ।तर मात्र एक चिम्टी खुसीकालागी म अझै भिख मागी रहेकी छु । हो उ उस्तै छ चट्टान जस्तै  ..........”
यस्तो मनै चसक्क हुने हरफहरु लेख्ने मान्छेको खोजी गर्न थालें । सजिलै पत्ता लाग्यो उ त्यै जूनेली, मेरी बालसाखा जुनेली । तर उसले सञ्जालमा छुट्टै नाम राखेकी रहिछ । उस्की मावलकी हजुरआमाले मायाँ गरेर राखिदिएको नाम हो “ जुनेली “, सबैले उस्लाइ “ जुनेली “ नैं भनेर चिन्थे ।
 
जुनेलीसँग भेट नभएको दशकौं बितिसकेछ । तर फेरी सञ्जालमा साथी हुन हामी दुबैलाइ खासै बेर लागेन । कसरी बिर्सन सकिन्थ्यो र त्यो रमाइलो बालापन् ? हुर्के बढेको सँगै त हो । तर फरक भूगोलको बसाइले हामीलाइ छुटाइ दिएको धेरै भएछ । 
 
जुनेली सानै देखी स्वाभीमानी र निकै आँटिली थिइ । हत्तपत्त उसलाइ कसैले जिस्क्याउन त परै जावस्, सीधा हेर्ने आँट सम्म राख्दैनथे । उस्को स्वभाब अचम्मको थियो । त्यो जमनामा गाउँले परिबेशमा हुर्केरपनि उ केटा /केटी दुबैलाइ साथी बनाउन सक्षम थिइ । 
खेल्थी, हाँस्थी र रमाउन सक्थी । कसैले मायाँ पिरतीका कुरा गर्न खोजेपनि उ निकै शालीन पाराले सम्झाउन सक्थी । ९/१० कक्षातिर हुँदा घुमाउरो पराले केटा/केटी एक आपसमा नजिकिने, चित्त नबुझेमा केटीहरुले केटाहरुलाइ चप्पल खोलेर हान्ने जस्ता दृश्यहरु प्राय सामान्य लाग्न थालिसकेका थिए । तर जुनेली अपबाद थिइ, कहिल्यै कसैले उसको हातको झटारो खान परेन । 
 
उति बेला जुनेलीको ब्यबहार उति सारो मन नपरेपनि खासै असर परेन हाम्रो मित्रतामा । तर आज फेरी फेसबुकले भेटाइ दिएकी मेरी जुनेलीलाइ । अंगालोमा बेरेर सारा कथाहरु अक्षर अक्षरमा पोख्न आतुर छु म । हो हिजोअाज म घन्टौं सम्म उ सँग कुरा गरिरहन्छु ।
 
म : “ जुनेली आजकाल मलाइ हाम्रो बालापनको धेरै नैं झझल्को आउँछ । तँ जस्तै सकारात्मक सोच राख्ने सबै भइदिए ? तँ त समुन्द्र जस्तै कन्चन र आकास जस्तै बिशाल छस् । म मेरा अक्षरहरुले तेरो उचाइ र गहिराइ नाप्ने मूर्खता गरिराखेकी छु ।मलाइ साथ दिन्छेस् हैन ?”
 
उ : “ हेर म हारिसकें , मैंले सानैं देखी जिउने गरेको सकारात्मक जीबनलेपनि खासै खुशी दियो या दिएन भन्दापनि  संसार बुझाउने मेरो क्षमताले मात्र मेरै मान्छेलाइ बुझाउन सकिन । बुझ्ने या बुझाउने पाटो कतातिर गएर ठोक्कियो  र सम्बन्धको गाँठो कमजोर हुँदै गयो पत्तै भएन । 
 
लाग्छ यो दुनियाँ घर बाहिर धेरै नै सचेत या जान्ने सुन्ने भएको नाटक गर्छ र घर भित्र बास्तबिक रुप देखाउँछ । त्यस्तै त्यस्तै रह्यो मेरो यथार्थपनि ।”
 
कुरा गर्दै जाँदा एउटा नमेटिने पाटो थियो उस्को बिहेको । बिहेपछी उसँग आजसम्म भेट भएकै थिएन । उसको बिहे क्याम्पस पढ्दा पढ्दै फरक ढंगले भएको थाहा थियो । बाँकी कुरा आज सम्म अधुरै रह्यो । उ परिवारकी जेठी छोरी, सानासाना दुइ भाइहरु थिए । 
 
बाआमा परलोक हुनु भएपछि भाइहरुले गाउँ छाडी सकेका थिए । उ पनि बिहेपछी काठमान्डू छोडेर श्रीमान कै गाउँतिर गएकी । फेरि भेटै भएन । उ बेलामा न त मोबाइल हुन्थ्यो,न त फेस बुक नैं । घर ठेगाना भएको भए चिठ्ठी चल्दो हो । आफुपनि त घर, परिवार, जागीरमा ब्यस्त भैयो । साथी सम्झने फुर्सद नैं कहाँ थियो र ? फेरि देशमा द्वन्द भयो । संकटकाल लाग्यो कति साथी यूद्दमा होमिए, कति बेपत्ता भए, कति बिदेशतिर लागे कुनै लेखा जोखा भएन ।
 
क्याम्पस पढ्दै गर्दा आफु भन्दा लगभग एक दशक जेठो जेठो पुरुषसँग प्रेम बिबाह भएको हो उस्को । कसैको करकापमा नपरिकन एक आपसमा मन पराएका थिए उनीहरुले । सुरुमा घरपरिवार सहमत भएन, बिस्तारै जुनेलीको सकारात्मक सोचका अगाडी कसैको केहि लागेन ।
उसको भनाइ अनुसार ती भद्र पुरुष बदलिंदै गएको पत्तै भएन । जुनेलीले पहिला जसरी नैं सकारात्मक सोचले सबैको मन जित्दै गइ । सन्तानहरुको लालन पालन सहित एक होनाहार समाजस्वीको रुपमा छुट्टै पहिचान बनाइ सकेकी छ जुनेलीले । 
 
तर उस्को श्रीमानमा पुरुसत्वको घमण्ड बढ्दै गयो । कलिलि जुनेली सजिलै जीबनसाथि बनिदिँदा उसमा झनझन कलिला केटीहरु तिर आँखा लगाउने बानी परिसक्यो । तैपनि सम्झाइ बुझाइ जीबन चलिरह्यो । जेनतेन चलिरहेको जीवनमा खासै धेरै गुनासो रहेन ।
 
लगभग ४० बर्षको हाराहरीमा उनीहरुको जीबनयात्रा अर्कै बाटोतिर मोडीयो । सपरिवार कुनै बिकशित मुलुकतिर बसाइ सरिसक्दा उनका लोग्ने ५० बर्षको हाराहारीमा होलान् । 
 
आजकाल मलाइ जस्तै जुनेलीलाइ पनि सामाजिक सञ्जालको लत लागि सकेको छ । तर उस्को श्रीमानलाइ अझैपनि  उहि लतले छोडेको छैन । अझैपनि कलिला कलिला केटीहरुसँगको फोटो होस् या संबाद । जस्ताको तस्तै देखाएर आफ्नो पुरुष शक्ती प्रदर्शन गर्छन् उस्का पतिदेब । बिदेशी भाषामा यसलाइ बुलिंग, चिटींग, टर्चर आदि भन्दै कानुनको साहरा पनि लिइन्छ । तर जुनेली यो उमेरमा आएर आफ्ना मुटुका टुक्रा जस्ता छोराछोरीलाइ असर पर्ने गरी पारपाचुके गरेर महा पुरुषार्थ देखाउन पनि सक्दिन ।
 
म : समाजमा अझैपनि हजारौं जुनेलीहरुका उस्तै उस्तै कथाहरु छन् । ल यसपालीको नारी दिबसमा तेरो धारण के छ ?
 
उ : तँ सक्छेस भने नारी महाँकाब्य लेख् । जहाँ हाम्रै भोगाइका कथा हुनेछन् र इतिहासमा कुनै दिन यसको नाटक मन्चन हुने छ ।
म: कोशिष गरौंला ।
उ : “जब सम्म पुरुषहरुले आफ्नो पुरुषत्व नैं शक्तिको रुपमा हतियार बनाएर नारीहरु माथि प्रहार गरिरहन्छन् तबसम्म नारीहरुले मुक्ती पाउँदैनन् । पुरुष या नारी भन्दा पनि हरेक मानिस असल मानिस भएर बाँच्न सक्नुपर्छ । नारी या पुरुष दिवसले कुनैु न कुनै रुपमा नारी/पुरुष बिचको भेदभाब निम्त्याइ रहन्छ । अब नारी र पुरुष मिलेर असल मान्छे जन्माउन पर्छ जस्ले संसारबाट हराउँदै गइरहेको मानवताको संरक्षण गरोस् । सम्पूर्ण नारी र पुरुषहरुलाइ आउँदै गरेको नारी दिवसको शुभकामना ।”
हो जुनेलीले भने जस्तै यसपालीको नारी दिवसबाट असल मान्छे बन्न र बनाउन सकौं । मेरोपनि शूभकामना ।