मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

८ मार्चको राँको बाल्न अन्तर्राष्ट्रीय महिला दिवस नै कुर्नु पर्दैन

८ मार्चको राँको बाल्न अन्तर्राष्ट्रीय महिला दिवस नै कुर्नु पर्दैन


यथार्थमा भन्ने हो भने अमेरिकी महिलाहरुको हड्तालको सम्मानमा अन्तर्राष्ट्रिय महिला दिवसको शुरुवात भएको भन्ने जान्न अमेरिकी महिलाहरुका निम्ति यो वास्तविक गर्व र प्रेरणाको स्रोत हुनुपर्दछ। 
 
सन् १८५७ मा संयुक्त राष्ट्र संघका अनुसार न्युयोर्क शहरका कपडा मजदुरहरू जुलुसमा उत्रिए । श्रमिकहरु विचको एकता र सहकार्यबाट समानताको निम्ति माग गर्दै गार्मेन्ट महिला मजदुरहरूले  कम तलबको विरोधमा हडताल गरे ।  ती महिला मजदुरले लिएको त्यो पहलकदमी त्यतिबेला निकै नै महत्वपूर्ण थियो ।
 
त्यसको सम्झनामा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले क्लारा जेट्किनलगायतका महिलाको प्रस्तावमा सोही दिनलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गर्‍यो । त्यसैबेलादेखि ८ मार्च मनाउन शुरु भयो, तर यो दिवस विश्वव्यापी भएको थिएन । 
 
सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्‍यो र त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले ।
 
बिश्वब्यापी रुपमा हेर्ने हो भने युरोप र अमेरिकाका देशमा जति अधिकार पाएका छन्, अहिले पनि त्यति अधिकार एसिया र अफ्रिकाका कतिपय देशका महिलाले लिन सकेका छैनन्। अन्तर्राष्ट्रिय रूपमा महिलाका हकअधिकार र तिनको कार्यान्वयको लेखाजोखा हुन बाँकी नै छ।
 
नारी आँट, साहस, शक्ति र मायाको खानी हो । जसलाई कसैले नकार्दैन। हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन्। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ रहेको छ यो भनाइलाई सार्थक बनाउन जरुरी छ।
 
हाम्रो मुलुक नेपालको इतिहास लाई फर्केर हेर्दापनि नयाँ संविधानको कार्यान्वयनसँगै महिलाहरूले नेतृत्व लिएका उदाहरण हामीसामु छर्लङ्ग छन्। राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पाटो हो।
 
महिलाहरुको सक्रिय राजनीतिक सहभागिताले पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजीक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन् ।
विश्व परिप्रेक्ष्यमा कुरा गर्दा आमा दिवस् या भ्यालेन्टाईन दिवसजस्ता विशेष दिवसहरुमा मानिसहरुले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह ब्यक्त गर्ने गर्दछन्, र अन्तर्राष्ट्रीय नारी दिवसमा भने संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् ।
 
तर हाम्रो नेपाली समाजमा भने महिलाहरु बिच एक आपसमा सकारात्मक सोच, सम्मान, माया र स्नेहको भावना भन्दा बढि ईर्ष्या गर्ने, असहयोग गर्ने तथा खुट्टा तान्ने प्रवृत्ति भने रहिआएको छ।
 
महिलाहरुको विचमा एकआपसमा  फराकिलो मानसिक सोचको साथ एकजुट हुन ज़रूरी देखिन्छ,देश विदेश जहाँ भएतापनि नेपाली समाज भित्र अझै लैंगिक समानता कायम गर्न, लैंगिक हिंसा अन्त्य गर्न थुप्रै बाँकी छ । प्रवासी मुलुकमा हेर्ने हो भने पनि धेरै नेपाली दिदीबहिनिहरु सामाजिक हिंसा र मानसिक हिंसाको शिकार भईरहेको छ । जसको मार प्रत्यक्ष रुपमा महिलाहरूले खेपिरहेका छन्। यो समस्याले उनीहरूको मानसिक तथा भौतिक विकासमा समेत असर परिरहेको अबस्था छ।
 
नेपाली समुदायमा घरेलु हिंसा, मानसिक हिंसा वा कुनै पनि हिंसा बिरुध्दमा बोल्न अब मार्च ८ अर्थात नारी दिवस कुरी रहनु हुँदैन । कुनै पनि दिनमा हिंसाको बिरुध्दमा आवाजको राँको बालेर यसलाई रोक्ने आँट नारीहरुले गर्ने साहस गर्दा मात्र यसको अन्त्य भएर सुन्दर अनि सम्मानपुर्ण समाजको निर्माण गर्न सक्नेछौ । न्याय र समानता को निम्ति आवाज बुलन्द गरौ । साथै आजको २१ औ शताब्दीमा बिभिन्न गोष्ठी भेला मात्र हैन अन्तर्राष्ट्रीय डायस्पोरामा वास्तविक जीवनमा ठाउँ ठाउँमा घटीरहेका महिला हिंसाका घटना तथा प्रेरणा मिल्ने सफल महिलाहरुको  कथाबस्तु हरुलाई उजागर गर्दै सामाजिक संजालको माध्यम बाट प्रभावकारी ढंगले सामाजिक सचेतना बढाउने कोशिष गरौ ।
 
बिभिन्न क्षेत्रमा महिलाले गरेका ऐतिहासिक योगदानको क़दर गर्ने हो भने हाम्रो समाज अग्रणी रूपमा अघि बढ्न सक्छन्। 
 
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौ !
 
सोचलाई सकारात्मक बनाउने प्रयास गरौ र समानता को आँखाले हेर्ने गरौ अनि मात्र “Each for Equal”: को नाराले सफलता पाउनेछ ।
 
र अन्त्यमा  अन्तराष्ट्रीय महिला दिवस -२०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण महिला दिदीबहिनिहरुलाई हार्दिक शुभकामना ।