मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३५२६ व्यक्तिको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३५२६ व्यक्तिको मृत्यु


वासिङ्टन । विश्वका विभिन्न देशमा समेतगरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांक एवम् विभिन्न समाचार संस्थाअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ३ हजार ९७५ पुगेको छ ।
 
उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र कोरोनाबाट सङक्रमितको संख्या ८० हजार ६५१ जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । 
 
यस्तै, दक्षिण कोरियामा ७ हजार ४१, इरानमा ५ हजार ८२३, इटालीमा ६ हजार ६३६, जर्मनीमा ७१७, फ्रान्समा ७१६, डाइमन्ड प्रिन्सेस जहाजमा ९९६, स्पेनमा ४७७, जापानमा ४३५, अमेरिकामा ३३५, स्वीट्जरल्याण्डमा २६८, बेल्जियममा १६९, यूकेमा १६४, स्वीडेनमा १३७, नर्वेमा १३६, सिंगापुरमा १३०, नेदरल्याण्ड्समा १२८ र हङकङमा १०८ प्रभावित भएका छन् । यो संख्या एक सयभन्दा बढी संक्रमित हुने देशको हो ।  
 
विश्वभर हाल कोरोना संक्रमितहरु एक लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजार ७० जनाको मृत्यु भएको छ । 
 
अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५२६ पुगेको छ । यस भाइरसको सङ्क्रमण ९८ देश र आसपासमा फैलिएको छ । 
 
कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ ।
 
इटालीका विभिन्न २२ वटा सहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ । 
 
उता संयुक्तराज्य अमेरिकाको  फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १७ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा ३३५ सयभन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ । 
 
यस भाइरसको प्रकोपबाट स्पेनमा पनि आठ जनाको ज्यान गएको छ । शनिबार प्राप्त भएको एक समाचारमा त्यहाँ आठको मृत्यु भएको हो । 
 
स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ४७७ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । 
 
स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबार मात्र त्यहाँ १०२ जना नयाँ संक्रमित भेटिएका हुन् । 
 
राजधानी म्याड्रिड सहरमा शनिबारसम्म १३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा शनिबारसम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ । 
 
ती दुईजना मध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका बृद्ध पुरुष रहेका छन् । यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो बृद्धबृद्धाहरुलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् ।
 
यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 
 
उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ । [एएफपी र विभिन्न समाचार एजेन्सीको सहयोगमा ।]