विचार / ब्लग

अमेरिकी जनगणना २०२०: नेपालीहरुको चासो किन हुनु पर्ने ?

821 पटक पढिएको

-सुजन पण्डित | 6th Mar 2020, Friday | २०७६ फाल्गुन २३, शुक्रबार ०८:४५
हरेक देशले आफ्नो देशमा बसोबास गरिरहेका मान्छेहरुको यकिन संख्या थाहा पाउन एउटा निश्चित समायावधीमा गर्ने पूर्ण गणना (कम्प्लिट काउण्ट) प्रक्रिया नै जनगणना ( Census) हो। इशा पूर्वको १००१ देखि २००० तिर नै इजिप्ट्सियन र आदिम ग्रिस सभ्यतामा पनि मान्छेहरुको गणना गर्ने परम्परा शुरु भएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख भएको पाइन्छ। त्यसबेला सेनामा भर्तिहुन लाएक पुरुषहरु थाहा पाउन त्यस्तो गणना हुन्थ्यो भनिन्छ। भारतीय उपमहाद्विपमा पनि सम्राट चन्द्रगुप्त मौर्यको शासनकालमा मानिसहरुको गणना भएको थियो भनिन्छ।
तर आधुनिक युगमा प्राय सबै देशहरुले जनगणना गर्दै आइरहेका छन्।
 
अहिले यहाॅ चर्चा गर्न लागिएको विषय अमेरिकी जनगणना २०२० हो। अमेरिकामा एप्रिल १, २०२० बाट औपचारिक रुपमा जनगणना (सेन्सस) २०२० शुरु हुँदै छ। सन् १७९० बाट अमेरिकामा जनगणना गर्न शुरु गरिएको हो। अमेरिकाका संस्थापकहरुले अमेरिकी संसदमा प्रतिनिधी चयनको आधार तयार गर्न जनगणना गर्ने संविधान मै व्यवस्था गरेर प्रत्येक दश बर्षमा जनसंख्याको पूर्ण गणना गर्ने प्रवन्ध मिलाएका थिए। सन् १७९० मा जनगणना शुरु हुॅदा अगष्ट २ मा शुरु गरिएपनि विभिन्न गणना बर्षहरुमा फरक फरक दिनमा जनगणना शुरु भएको पाइन्छ। तर सन् १९३० देखि भने एप्रिल १ लाई नै जनगणना दिन अर्थात ‘सेन्सस डे’का रुपमा मान्यता दिएको पाइन्छ।
 
पहिलो पटक १७९० मा जनगणना हुॅदा तत्कालीन १३ वटा राज्यहरुमा ३९ लाख २९ हजार जनसंख्या गणना गरिएको थियो। सन् १९६० मा भएको जनगणना ५० वटा स्टेट भैसके पछिको पहिलो जनगणना थियो। त्यो बेला १७ करोड ९३ लाख जनसंख्या गणना गरिएको संयुक्त राज्य अमेरिकामा पछिल्लो जनगणना २०१० मा आइपुग्दा जनसंख्या बढेर ३० करोड ८७ लाख पुगिसकेको थियो। ५० बर्षमा झण्डै ५० प्रतिशत जनसंख्या बढेको अमेरिकामा २००० र २०१० बीचमा करीब १० (९.७) प्रतिशत जनसंख्या बढेको अमेरिकी जनगणना ब्यूरो (US Census Bureau) को प्रशोधित तथ्यांकले देखाएको छ। अहिलेको ताजा परिस्थितिलाई हेर्ने हो भने यो बर्ष हुने गणनाबाट अमेरिकी जनसंख्या ३३ करोड नाघ्ने अनुमान गरिएको छ।
 
अमेरिकी सेन्सस ब्यूरोले सेन्सस २०२० मा पहिलो पटक अनलाइनबाट समेत जनगणनाका लागि निर्दिष्ट प्रश्नावली भर्ने व्यवस्था मिलाएको छ। अमेरिकी सेन्सस इतिहास कै सबभन्दा छोटो प्रश्नावलीको (घरमूली वा पहिलो व्यक्तिका लागि ९ र अन्यका लागि ७ वटा) व्यवस्था भएको सेन्सस २०२० शुरु हुनै लाग्दा नेपाली समुदायको चासो पनि बढेको देखिन्छ। सेन्सस २०१० मा झण्डै ६० हजार (५९,४९०) नेपालीहरुको गणना भएको छ जबकी यो संख्या सन् २००० को जनगणनामा मात्र ९, ३९९ मात्र थियो। सन् २००० देखि २०१० का बीचमा गणना भएका नेपालीहरुको संख्यामा ५३३ प्रतिशतले बृद्धि भएर झण्डै ६० हजार पुगेको हो। सही ढंगले प्रश्नावली भरियो भने यो जनगणना २०२० पछि नेपालीहरुको जनसंख्या अमेरिकामा तीन लाख नाघ्ने सहज अनुमान गर्न सकिन्छ। सन् २०१० देखि २०१८ सम्ममा १ लाख तीनहजार भन्दा बढी नेपालीहरुले अमेरिकी ग्रिनकार्ड लिएको यूएससिआइएसको तथ्यांक छ भने २०१९ को संख्या थप हुॅदा करीब १ लाख १३ हजार नाघ्ने अनुमान गर्न सकिन्छ। यसैबीच २०१० यतामात्र ३१ हजार बढीले अमेरिकी नागरिकता लिएको देखिन्छ। स्थायी बसोवास अनुमति पत्र भएका र अमेरिकी नागरिकता लिइसकेका नेपालीहरुको बढ्दो संख्याले यस पटकको जनगणनामा नेपालीहरुको जनसंख्या बढ्ने निश्चित नै छ।
 
तर सेन्ससमा ग्रिन कार्ड वा नागरिकता भएका नेपालीको संख्या मात्र गणना हुने होइन। निश्चित अबधीको पर्यटक/व्यवसायिक भिसामा आएकाहरु बाहेक एप्रिल १, २०२० का दिनसम्म अमेरिकामा बसिरहेका सबै व्यक्तिको गणना हुनु पर्दछ। जनगणनामा गणना हुनका लागि व्यक्तिको अमेरिकामा बस्न पाउने कानूनी हैसियतले केही फरक पार्दैन। विद्यार्थीहरु, शरणार्थीको हैसियतमा आवेदन दिएकाहरु, टिपिएस बाहकहरु वा अन्य जुनसुकै स्ट्याटसमा भएका सबै नेपालीहरुले जनगणना २०२० मा सक्रिय सहभागिता जनाउनु पर्दछ।
 
आफ्नो एकिन संख्या अभिलेखिकरण गराउन सकियो भने मात्र नेपालीहरुको अमेरिकी मुलधारको राजनीति र सामाजिक विकासका क्रियाकलापमा उचित प्रतिनिधित्वका लागि सहयोग पुग्दछ। स्थानीय, राज्य र संघीयस्तरमा प्रवाह हुने सेवा र सामाजिक सुरक्षामा समेत नेपालीहरु लक्षित कार्यक्रमहरु सूचिकृत र संचालन हुनका लागि पनि यथार्थ विवरणहरु अभिलेखिकरण हुनै पर्छ। मेरिल्याण्ड लगाएतका केही राज्यहरुमा नेपाली भाषामा ड्राइभिंग लाइसेन्स लगाएताका परीक्षा नेपाली भाषामा समेत दिन पाइने व्यवस्था सम्वन्धित ठाउॅमा बसोवास गर्ने नेपाली भाषीहरुको संगठित उपस्थितिले गर्दा भएको हो। यसैगरी मोहन गुरुंग जस्ता सच्चा नेपाली भाषालाई माया गर्ने अभियन्ताले गर्दा वाशिंगटन राज्यमा १२ कक्षासम्म नेपाली भाषाले अन्तराष्ट्रिय भाषाको मान्यता पाएको हो। यस्ता उपलब्धीहरुको बिस्तारका लागि नेपालीहरुको यथार्थ तथ्यांक उपलब्ध हुनु पर्दछ। नेपालीहरुले आफूलाई अभिलेखित गर्ने एउटा महत्वपूर्ण अवसर भनेको जनगणना हो।
 
एनआरएनए अमेरिका लगाएतका बिभिन्न नेपाली संघसंस्थाहरुले तीन लाख बढी नेपालीहरु अमेरिकामा छन् भनिरहेका भएपनि यसलाई पुष्टिगर्ने कुनै विश्वसनीय आधार उपलब्ध छैन। तसर्थ एनआरएनए अमेरिका लगाएत नेपालीहरुका अमेरिकास्थित संघसंस्थाको यतिखेरको मुख्य जिम्मेवारी भनेको सबै नेपालीहरुको गणना हुने बातावरण बनाउन सहयोग पुर्याउने हो।
 
एनआरएनए अमेरिकाले आफ्नो बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेको संयोजकत्वमा जनगणना २०२० कार्यदल बनाएर प्रचारात्मक अभियान शुरु गरेको छ। डा. बन्जाडे आफैं पनि न्यूयोर्क, न्यूह्याम्श्यर, मिनसोटा लगाएतका राज्य कमिटीहरुले आयोजना गरेको सेन्सस २०२० सम्वन्धि छलफल र अन्तर्क्रियाहरुमा सक्रिय भैरहेका देखिन्छन्। बिभिन्न पत्रपत्रिकामा सेन्सस २०२० सम्वन्धि लेखहरु लेखेर पनि उनले नेपाली समुदायलाई सक्रिय सहभागिता जनाउन आव्हान गरिरहेका छन्। डा. बन्जाडे र एनआरएनएका केही स्थानीय संयन्त्रहरुको अन्तरक्रियात्मक सक्रियताले मात्र जनगणना २०२० मा नेपालीहरुको सहभागिता सुनिश्चित गर्न सकिन्न। यसका लागि प्रत्येक नेपाली र प्रत्येक सामाजिक संस्था र अभियन्ताहरुको सक्रियता जरुरी पर्दछ।
 
‘सेन्ससमा नेपालीहरुको सही सहभागिताले मात्र हामीले राज्य वा स्थानीयस्तरका सरकारी निकायहरुसंग आफ्नो समुदायको हितका विषयहरुमा दरिलो लविंग गर्ने हैसियत बनाउन सक्छौं, एनआरएनए जनगणना २०२० कार्यदलका संयोजक डा. बन्जाडेले भने।
 
नेपाली समुदायका अगुवा र संघसंस्थाहरुले के गर्न सक्छन्?
समुदायको हितका लागि काम गर्छौं भन्ने सामाजिक अगुवा र संघसंस्थाले अहिले गर्ने भनेको आफ्नो समुदायमा बसोबास गर्ने सबै नेपाली र नेपाली मूलका अमेरिकीहरुलाई जनगणना २०२० मा गणनामा पर्न सघाउने हो। सेन्ससमा गणना हुनेक्रममा आफ्नो जातीय संलग्नता पनि सही छनौट गर्नु जरुरी हुन्छ। नेपालीमूलका सबैले आफ्नो जातीयता (Race) नेपाली भनेर छान्ने बिकल्प नदिइएकोले सेन्सस २०२० लागि तयार पारिएको प्रश्नावलीको अन्तिम प्रश्न घरमूलीका लागि नं ९ र अन्यका लागि नं ७ अन्तरगत अन्य एशियन (Other Asian) छनौट गर्ने र संगै दिइएको बक्समा नेपाली (Nepali or Nepalese) लेख्नु पर्दछ। यसरी सबै नेपालीहरुलाई जानकारी दिन सकियो भने मात्र यो पटकको जनगणनामा नेपालीहरुको एकिन संख्या गणना हुन सक्ने छ। तसर्थ नेपाली समुदायका अगुवा र सबै नेपाली संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सेन्सस २०२० मा सबै नेपालीहरुको गणना हुने बातावरण बनाउन सक्रिय हुन जरुरी छ।
 
हामी कति छौं भनेर हामी आफैंलाई थाहा नहुनु पनि अमेरिकी मूलधारमा हाम्रो कमजोर उपस्थितिको कारण हो। ह्यारी भण्डारीले अमेरिकी मूलधारको सफल राजनीति गरेर अमेरिकामा बसोबास गर्ने सबै नेपालीहरुको मनोबल उँचो बनाएका मात्र छैनन्, अमेरिकामा रहेका नेपालीलाई नेपाली राजनीतिक पार्टीको भातृसंगठन चलाएर नेतागिरी गर्नुको साटो यहींको मूलधारको राजनीति गर्न समेत सुझाएका छन्। ह्यारी भण्डारीलाई पछ्याउन पनि पहिले आफ्नो समुदायको बलियो उपस्थिति देखाउन सक्नु पर्छ र त्यसरी आफ्नो समुदायको उपस्थिति देखाउने राम्रो अवसर सेन्सस २०२० हो। मार्चको दोश्रो सातातिर तपाईंहरुको घर-ठेगानामा सेन्सस २०२० को लागि प्रश्नावली आउन थाल्ने छ। त्ससलाई सबैले भरेर पठाउन र कोही पनि नछुट्न नेपाली समुदायमा प्रचार-प्रसार चाहिन्छ। र, त्यो गर्ने भनेको यही बेला हो। परेको बेला निदाएर बस्ने र पछि हामी छौं र उति छौं भनेर हावादारी तथ्यांक बोल्दै हिंडेर केही हुॅदैन। तसर्थ आउनुहोस् जागौं, जनगणना २०२० मा आफ्नो समुदायमा बसोवास गर्ने सबै नेपालीहरुको गणना सुनिश्चित गरौं।
 
नेपाली भाषी संचारकर्मीहरुले के गर्न सक्छन्?
सेन्सस कुनै साधारण र नियमित इभेण्ट होइन। यो प्रत्येक दशबर्षमा मात्र हुन्छ र यो नै निश्चित बेला/समयमा कुनै देशमा बसोवास गरिरहेका मानिसहरुको एकिन संख्या थाहा पाउने सबभन्दा भरपर्दो तरीका हो। अमेरिकामा शुरु हुनै लागेको सेन्सस २०२० मा सबै नेपालीहरुको गणना सुनिश्चित गर्न हामी नेपाली भाषी संचारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छौं। आफू संलग्न संचार माध्यममा सेन्सस २०२० का बारेमा सूचना, लेख र जानकारीहरु नियमित प्रचार-प्रसार गरेर वा आफूले चिने जानेका सबै नेपालीहरु गणनामा परे-नपरेको जानकारी लिएर संचारकर्मीहरुले सेन्सस २०२० मा नेपालीहरुको सहभागिता बढाउन सक्छन्। आफू बस्ने अपार्टमेण्ट, घर-समुदाय, शहर र राज्यमा नेपालीहरुको एकिन सँख्या थाहा पाउनु संचारकर्मीहरुका लागि झनै महत्वपूर्ण हुन्छ। आफ्नो समुदायका मान्छेहरु बढ्नु नेपाली भाषी संचारकर्मीहरुका लागि सुखद कुरा पनि हो। र, संख्या त्यसै बढ्दैन, त्यसका लागि हामी आफू गणनामा सहभागी हुनै पर्छ। संचारकर्मीले चाहि आफू सहभागी भएर मात्र पुग्दैन, अरुलाई पनि भन्नु पर्छ र त्यो हाम्रो मुखले मात्र होइन, कलमले पनि भन्न सक्नु पर्छ।
 
जनगणनामा सहभागी हुन कागजपत्र चाहिन्न
कागजपत्र नभएपनि जनगणनामा सहभागी हुन सकिन्छ। जनगणनामा संकलित सूचना अमेरिकामा बसिरहेका मानिसहरुको एकिन संख्या र उनीहरुको बसोबासको स्थिति थाहा पाउने प्रयोजनका लागि मात्र हो, यो अन्य कुनै संघीय वा राज्यस्तरका सरकारी निकाय वा आप्रवासी सम्वन्धि कानून कार्यान्वयन निकायको लागि उपलब्ध नहुने सेन्सस ब्यरोका अधिकारीहरुले बारम्बार दोहय्राइरहेका छन्।
 
तर पनि आप्रवासनका मामलामा निकै कठोर राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकता सम्वन्धि प्रश्न थप्न गरेको असफल जोडबलका कारण कतिपय कागजपत्र बीहिन वा शरणार्थी सुविधाका लागि निवेदन दिएकाहरु वा Deferred-Action for Childhood Arrivals (DACA) अन्तरगत सुविधा लिइरहेकाहरु वा टिपिएस सुविधामा भएकाहरु सकेसम्म गणनामा पर्न नचाहेको जानकारी आइरहेका छन्।
 
गतसाता ह्युस्टनमा इथ्निक मिडिया सर्भिसले (Ethnic Media Service) ह्युस्टन इन एक्सन (Houston in Action) संगको सहकार्यमा सेन्ससमा विभिन्न जातीय एवं भाषिक समुदायका मानिसहरुको कसरी सहभागिता सुनिश्चता गर्न सकिन्छ भनेर अन्तरक्रिया गरेको थियो। सो अन्तरक्रियामा सहभागी विभिन्न समुदायका प्रतिनिधी र विज्ञहरुको प्रस्तुतिमा पनि समुदायमा रहेको डरका विवरणहरु समेटिएको थियो। सेन्सस र गैरकानूनी आप्रवासीहरुलाई भैरहको धरपकडकाबीच कुनै सरोकार नरहेकोले स्थानीय समुदायका अगुवा र जातीय/भाषिक स्थानीय संचारकर्मीहरुले सबैको सहभागिता बढाउन विशेष प्रचार-प्रसार गर्न विज्ञहरुले जोड् दिएका थिए।
 
इथ्निक मिडिया सर्भिसकी स्याण्डी क्लोजद्वारा (Sandy Close) संचालित र स्थानीय जातीय एवं भाषिक विषयमा पत्रकारिता गरिरहेका संचारकर्मीहरु समेत उपस्थित सेन्सस २०२० सम्वन्धि अन्तरक्रियामा उपस्थित विभिन्न समुदायका अगुवा प्रतिनिधीहरुको चासो कागजपत्र बीहिन र एउटै अपार्टमेण्ट वा बासस्थलमा बस्ने बहुपरिवारका सदस्यहरुलाई कसरी सेन्ससमा समेट्ने भन्नेमा बढी केन्द्रीत देखिन्थ्यो। ल्याटिनो वा नेपाल, भारत, पाकिस्तान, फिलिपिन्स, भियतनाम लगाएतका एशियन मूलुकका आप्रवासीहरुमा मात्र होइन अफ्रिकन अमेरिकनहरु समेत गणनामा छुटिरहेका विवरणहरु अन्तरक्रियामा प्रस्तुत भएका थिए।
 
विज्ञहरुका प्रस्तुतिमा पाँचबर्ष भन्दा कम उमेरका बालबालिकाहरु, होस्टेल वा पढ्न अन्यत्र गएका छोराछोरीहरु र कागजात नभएका आप्रवासी समुदायका मानिसहरु छुट्ने संभावना बढी भएको बताइएको थियो। र, त्यसरी छुटे भने जनस्ख्याको एकिन संख्या कम हुन गएर राज्यले पाउने संघीय अनुदान र सो राज्यबाट अमेरिकी संसदमा हुने प्रतिनिधी संख्यामा समेत फेर बदल ल्याउन सक्ने हुन्छ। संघीय सरकारले राज्य सरकारलाई दिने अनुदान घट्नु भनेको राज्यस्तरमा हुने भौतिक विकास, शिक्षा स्वास्थ्य लगाएतका सुविधामा समेत कटौती हुनु हो। अनलाइन प्रश्नावलीका कारण साइवर सुरक्षाका बिषयहरुले समेत सेन्ससमा सहभागिता घटाउने हो कि भन्ने आशंका पनि केही सहभागीहरुले राखेको सुनियो।
 
सो अन्तरक्रियामा सुनिएका यस्ता प्रसंगहरु नेपाली समुदायका लागि समेत लागु हुन सक्ने भएकाले नेपाली सामाजिक अगुवाहरु र संचारकर्मीहरुले समुदायमा रहेका भ्रमलाई चिर्दै सबै नेपालीहरुको गणना हुने वातावरण बनाउन तत्काल सक्रिय हुनु आवश्यक देखिएको छ। त्यसैले फेरि पनि बिनम्रताका साथ अनुरोध गर्न चाहन्छु- आउनुहोस् जागौं, जनगणना २०२० मा आफू र आफ्नो समुदायमा बसोवास गर्ने सबै नेपालीहरुको गणना सुनिश्चित गरौं।