मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

विना संघर्ष त जीवन नै हुँदैन – कुन्साङ वाइबा तामाङ

विना संघर्ष त जीवन नै हुँदैन – कुन्साङ वाइबा तामाङ


काभ्रेको सिसाखानीका कुन्साङ वाइबा तामाङ गीतसंगीतमा परिचित नाम हो । पछिल्लो समय उनी पोर्चुगलमा छन् । पोर्चुगलमा रहे पनि उनी बेलाबेला नेपाल पुग्छन् । नयाँ गीत सार्वजनिक गर्छन् । झन्डै बीस वर्षअघि बाट गायन यात्रा थालेका कुन्साङ यसपटकको ल्होछारमा पनि स्टेज कार्यक्रमका लागि न्युयोर्क आइपुगे । उनै गायक कुन्साङ वाइबासँग उनको सांगीतिक यात्राबारे हालै गरिएको कुराकानी :-
 
तपाईले आफ्नो सांगीतिक यात्रा कसरी शुरु गर्नुभयो ?
 
मेरो म्युजिक करियर चाहि २०५३ सालदेखि भएको हो । बच्चैदेखि तामाङ गीत सुन्थें रेडियोमा । तर, संगीत सिक्ने र बुझ्ने मौका २०५३ बाट पाएँ । 
 
अनि गीत गाउन खुब मनपराउने । स्वयम्भुमा मामा गाउँ । त्यहाँ पुग्दा चोटातिर गएर गीत गुनगुनाउने । माइजुले तिमी राम्रो गाउनेरहेछ भनेर प्रशंसा गर्नुहुन्थ्यो । २०५१ सालतिर काठमाडौं आएँ हाइ स्कुल सकेपछि । त्यतिबेला चन्द्रकुमार दोङको तामाङ गीतहरु एकदम चर्चामा थियो । मलाई मन नपर्ने कुरै भएन । त्यही बेला उहाँसँग भेट गर्ने मौका पाएँ । उहाँले हार्मोनियममा एक दुईटा गीत सुनाउनु पनि भयो मलाई । त्यसपछि मलाई पनि गीत गाउन मन लाग्यो ।
 
कसरी जुर्यो त्यो भेट, तपाईलाई उहाँले गीत सुनाउनुको केही कारण ?
 
एकजना दाइ धनवीर वाइबा हुनुहुन्थ्यो । उहाँसँग चिनजान रहेछ । मेरो चिनजान धनवीर दाइसँग । भेटको अभिलाषा थियो नै । क्यासेटमा सुन्ने स्वर साँच्चिकै चाहि कस्तो हुँदो रहेछ भनेर मैले उहाँलाई गीत गाउन अनुरोध गरें । उहाँले गाइदिनुभयो ।
 
त्यसपछिको यात्रा तामाङ गायनमै जारी छ है तपाईको ?
 
पक्कैपनि, म चाँहि विशेष गरि आफ्नै भाषा आफ्नै संस्कृतिको गीत मनपर्ने । २०५८ सालमा चाहि तामाङ भाषाको एल्बम ‘छेरेङगई’ चार जना मिलेर ल्याए । तुलसा वाइवा, इन्दिरा योञ्जन, भक्तजीसँगै मिलेर ।
त्यसपछि २०५९ सालतिर ‘लानीधिनी’ एल्बम ल्याए । धेरै एल्बममा गीत गाएँ । अर्को सन् २००९ तिर चाहि नेपाली एल्बम शुरुवात ल्याए । त्यो भन्दा पछाडि ‘द सिद्रा ट्री’ एल्बम ल्याएँ । तीन दर्जन बढी गाएँ हुँला अहिलेसम्म । ‘सेम्जो’ पनि निकाले । सेम्जोबाट सिंगल यात्रा शुरु भएको हो । इन्द्रेणी क्यासेट सेन्टरले डिस्ट्रिब्युसन गरेको थियो । गाना पनि राम्रो चल्यो । पैसा पनि राम्रै थियो । 
 
यो ‘सिद्रा ट्री’ नाम चाहि कसरी रह्यो ?
 
२०१३ मा आएको एल्बम हो द सिद्रा ट्रीे । त्यसको विरुवा पाउँदो रहेछ गल्फमा । मरुभूमिमा सानो प्लान्ट हुँदो रहेछ । पानी नभए पनि बाँच्ने कोशिश गर्दोरहेछ । सांगीतिक विषयलाई पनि मैले त्यसलाई जोडें । म बाँच्ने कोशिश गरिरहेकै छु है भनेर । अनि म्युजिक पनि कहिल्यै मर्दैन नि । यो लाइफको पार्ट हो यो कहिल्यै मर्दैन भनेर राखेको हो । न त वर्ष हुन्छ तैपनि सिद्रा बाँचिरहेको हुन्छ संगीत पनि यस्तै हो भनेर मैले यो एल्बमको नाम यस्तो राखेको ।
 
सानैदेखि गीत मन पराउँथे भन्नुभयो, कुनै सम्झना छ ?
 
स्कुलमा हुँदा जयनन्द लामा, चन्द्रकुमार मोक्तानको गीत सुन्थें । एकपटक काभ्रेको खर्पचोक पुगेको थिएँ । त्यो बेला जयनन्द मामाको गाना रिल क्यासेटमा बजाएर बिहेमा अरुसँगै म पनि नाचें । त्यो गीतले मलाई एकदम छोयो । यो भाषा तामाङको सेलो मजाको फरक पनि सुन्दा नै इनर्जेटिक लाग्यो ।
 
अनि कतै गाएको याद छ कि ?
 
गाउने त त्यही हो, मामाघरमा गुनगुनाउँथे कसैले नदेखेको बेलामा । घरमा माइजु काम गरिरहनुहुन्थ्यो । उहाँले चाहि राम्रो लाग्यो भन्नुभएको थियो ।
 
उतिबेला संगीत क्षेत्रमा प्रवेश गर्न कतिको अप्ठेरो थियो ?
 
एउटा गानाका लागि २-३ घन्टा लाग्ने । कहिले कुर्दै फर्कदैमात्र । एनलग पाल क्यासेट थियो । एरेन्ज पक्ष सबै हेर्नुपर्ने । अहिलेको जस्तो सजिलो थिएन ।
 
तपाईंहरुको चार जनाको जोडी कसरी छुट्यो त ?
 
छुट्टिनैपर्ने त्यस्तो नराम्रो केही भएको थिएन । शुरुमा मिलेर जाउँ भन्ने नै थियो । पहिलो एल्बममै कम्पनीसँग एसाइनमेन्ट गरेर फाइनान्स पक्ष पनि राम्रै भएको थियो । एउटा क्यासेटको ८ रुपैयाँमा साइन गरेको थियो । अरु तामाङ क्यासेटलाई यस्तो पैसा एड्भान्स दिने चलन थिएन । ५० हजार क्यास र ५०० पिस क्यासेट एड्भान्स दिएको थियो । त्यसले उत्साहित थियौैं हामी । न्युरोडको बिएनआर क्यासेट सेन्टरबाट आएको क्यासेट गाउँगाउँ पुग्यो । त्यही पैसाले नाम पनि आयो दाम पनि आयो ।
 
पछि लानीधिनी प्रोजेक्ट गर्यौ त्यसमा पनि गीतहरु राम्रै भयो । लानीधिनीले फिनानसियल्ली फिडब्याक भने दिएन । समयले मानिसलाई कताकता पुर्याउछ नि । भक्त, इन्द्र, तुलसा आफ्नै ठाउँमा लाग्नुभयो । काम गर्ने क्षेत्र पनि फरकफरक परेकोले तुलसा इन्दिराले नेपाली भाषाको एल्बम निकाल्नुभयो । भक्तजी अर्कैतिर लाग्नुभयो । म विदेशिए ।
 
विदेश यात्रापछि पनि सांगीतिक यात्रा त जारी नै छ नि हैन ?
 
सन् २००७ दोहा पुगें घुम्नका लागि । २००८ र २००९ स्टेज कार्यक्रमका लागि नेपाल बाहिर पुगे । अहिले त लगभग १३ वर्ष पुगेछ विदेश यात्रा थालेको । अहिले पोर्चुगलमा छु ।
२००९ मै सेलो एल्बम निकाले । सात वटा गीत । नाम – शुरुवात । फेरि गीत निकाल्न सकें भनेर शुरुवात नाम राखेको । त्यसपछि डिजिटाइज भयो अनि एल्बम निकाल्न । सिंगल ट्रयाकमा गीत गाउन थाले ।
 
विदेश बसेर यही क्षेत्रमा निरन्तरता दिन कतिको साह्रोगाह्रो हुनेरहेछ ?
 
ठ्याक्कै नेपालमा हुँदा जस्ताको क्षणमा छिटोछिटो गीत रेकर्ड गर्न अलि गाह्रै छ । आफूले गर्नुपर्ने प्रक्टिस, रियाजहरु, स्टेज कार्यक्रमहरु भने गरिरहेकै छु । 
 
देशबिदेशमा तामाङ कम्युनिटीको कार्यक्रम बढ्दै आयो । १०–१२ वर्षअघि त्यस्तो माहोल थिएन । अहिले क्राउड छ । अहिले गीतहरु रेकर्ड गरिरहेको छु ल्होछारको । स्टेज कार्यक्रम न्युयोर्कमा गर्दा पनि पुरानो गाना सुन्न पाए भनेर प्रतिक्रिया दिनुभयो । प्राउड फिल भयो ।
 
अमेरिका यात्रा कस्तो रह्यो ?
 
यो दोस्रोपटकको यात्रा हो । अघिल्लोपटक डालास र न्युयोर्क घुमे । यसपटकको यात्रा पनि अत्यन्तै स्मरणीय भयों ।२८५६ औं सोनाम ल्होसारमा तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा जनवरी २५ मा कार्यक्रम भयो । लगत्तै तामाङ सोसाइटी अफ डलास टेक्सासको निमन्त्रणा आयो । एकदमै रमाइलो भयो । उहाँहरुले एकदम सकारात्मक रुपमा लिनुभयो र अत्यन्तै ख़ुशी छु ।
 
यो यात्रा कस्तो लागिरहेको छ ?
 
एउटै गीत गाएर म यस्तो गायक हो भन्ने चिनाउने मौका पाएको छ डिजिटल मिडियाका कारण । पहिले चाहि धेरै साधना र संघर्ष थियो । अहिले म गीत गाउँछु म यसरी एल्बम निकाल्छु भनेर जुन खालको धारणा बोकेर त्यो चाहि त्यति राम्रो हुँदैन । साधनासँगै भिज्नुपर्छ । ज्ञान पनि हुनुपर्छ । गायनको लागि केहि डेडिकेसन चाहिन्छ । 
 
जीवनयात्रा के रहेछ त ?
 
जीवन दुई दिनको पाहुना नै रहेछ । यो संघर्षले भरिएको हुन्छ । विना संघर्ष त जीवन नै हुँदैन । जसरी पनि संघर्ष त गर्नैपर्छ । संघर्षको मैदानमा । केहि पाउनुछ भने मुख्य कुरा निरन्तरता दिनुपर्नेरहेछ ।
 
कतिको खुसी हुनुहुन्छ यो सांगीतिक यात्रामा
म एकदम खुसी छु । यहाँ नहिडेको भए म सामान्य हुन्थे । कुन्साङ भनेर कसले चिन्थे र ? अडियन्सले सुन्नुभएको छ । कुन्साङ भनेर माया गर्नुहुन्छ यही हो गर्वको कुरा ।
 
नयाँ पुस्तालाई केही सन्देश छन् कि ?
 
आफै शुरुमा स्ट्रङ हुनुस् । संगीतलाई सामान्य नलिई साधना चाहिन्छ । पूजा चाहिन्छ । निरन्तरता दियो भने फिडब्याक राम्रै मिल्छ । नयाँ जेनेरेसन राम्रै आइरहेको छ । अझै राम्रो गरेर अगाडि बढ्दा राम्रो हुन्छ । सफलताका लागि निरन्तर संघर्ष गर्नैपर्छ । कामप्रति लगनशीलता र डेडिकेसन चाहिन्छ । 
 
समुदायबाट तपाईको अपेक्षा ?
 
सबैको माया र हौसलाको अपेक्षा छ । सुझावको पनि आशा गरेको छ । सबै कुरा फिडब्याक नै हो ।