मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘दूतावासमा टेलिफोन गर्दै नगर्नुस’ राजदूत कार्की

‘दूतावासमा टेलिफोन गर्दै नगर्नुस’ राजदूत कार्की


ड्यालस (टेक्सस) – अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले वासिङ्गटन डिसी स्थित दूतावासमा टेलिफोन गर्दै नगर्न भनेका छन् । 
 
‘दूतावासको टेलिफोन उठेन भनेर गुनासो नगर्नुहोला, इट इज इम्पोसिबल’ डा.कार्कीले आइतबार ड्यालसको आर्लिङ्गटन स्थित नेपाली युवाहरुलाई संबोधन गर्दै भने । उनले दूतावासमा एउटैमात्र टेलिफोन लाइन भएको र अमेरिकाभरि रहेका नेपालीहरुले कल गर्ने भएकाले टेलिफोनको विकल्पमा सूचना प्रविधिका अन्य विकल्पहरु प्रयोग गरेर दूतावासमा सम्पर्क गर्न आग्रह गरे । 
 
दूतावासको टेलिफोन नउठ्ने, उठिहाले पनि कर्मचारीले कर्कश व्यबहार गर्ने गरेको आम गुनासोको सन्दर्भमा राजदूत डा. कार्कीले दोहोर्याइ, तेहेर्याई भने–‘म अन्डरलाइन गरेर भन्छु टेलिफोन उठेन भनेर गुनासो नगर्नुहोला ।’ उनले त्यसको साटो इमेल गर्न, सामाजीक सञ्जाल मार्फत जिज्ञासा सुझाव राख्न, टेक्स्ट मेसेज गर्न सुझाव दिए ।
 
‘हामीले सामाजीक सञ्जाल मार्फत पनि अमेरिकामा रहेका नेपालीका समस्याको समाधान गर्ने पहल गर्दै आएका छौँ । प्रविधिका अन्य विकल्पलाई पनि प्रयोग गरौँ । फोनमा मात्र भर नपरौँ’ उनले भने । उनले अमेरिकामा रहेका ५ लाखभन्दा बढी नेपालीले एउटै लाइनमा फोन गर्ने भएकोले फोन बिजी भएर नउठ्ने गरेको अवस्था पनि दर्शाए । 
 
धेरै सूचनाहरु दूतावासको वेवसाइटमा पनि राखिएको उल्लेख गर्र्दै उनले आफूलाई फोन गर्नेहरुले एनआरएन कार्ड बनाउन के गर्नुपर्छ ? एमआरपी बनाउने प्रकृया के हो, पासपोर्ट हराउँदा के गर्ने भन्ने जस्ता जिज्ञासा राख्ने गरेको र सबै कुरा आफुलाई पनि जानकारी नहुने भएकोले वेवसाइट मार्फतनै अघि बढ्न पनि सुझाव दिए ।
 
दूतावासको टेलिफोनको सम्बन्धमा नेपाली समुदायबाट पटक पटक भैरहेको आपत्ति र गुनासोको सम्बन्धमा राजदूत कार्की आइतबार निकै कडा रुपमा प्रस्तुत भएका थिए । उनले भने–‘टेलिफोनमै सबै समस्या राख्ने कुरा इट्स इम्पोसिबल । हामीसँग नत अतिरिक्त टेलिफोन लाइननै छ । नत कर्मचारी थप्नसक्ने क्षमतानै । त्यसो हुँदा इमेल प्रयोग गर्नु बेश हुनेछ । हामीले इमेलबाट पनि तत्कालै जवाफ दिँदै आएका छौँ ।’
 
टेलिफोनमा जसको कल कनेक्ट हुन्छ उसले कर्मचारीलाई अनावश्यक कुरा सोधेर व्यस्त बनाउने गरेको गुनासो पनि राजदूत कार्कीले गरे । ‘तपाइको पहाड घर कहाँ हो ? कहाँ बस्नुहुन्छ ? उबर चलाउनुहुन्छ कि हुन्न ? जस्ता प्रश्न राख्ने गर्नाले पनि फोनबाट सम्पर्क गर्न खोज्ने जति सबैले कुराकानी गर्न नसकेका हुन्’ उनले वास्तविकता खोले । 
 
‘यस्ता प्रश्नको जवाफ नदिएर कोही कर्मचारीले तपाईको समस्या छिटो बताउनुस् त भन्यो भने कस्तो रुड कर्मचारी रहेछ भनेर गुनासो गर्छन्’ उनले भने ।
 
युवाहरुलाई एनआरएन बनाउने होइनः
 
एनआरएन अमेरिकाको युवा तथा विद्यार्थी टास्कफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले नेपाल सरकारको उद्वेश्य युवा, विद्यार्थीलाई गैर आवासीय नेपाली बनाउने भन्दा पनि उनीहरुको क्षमता नेपालको विकासमा लगाउनका लागि नेपालनै फर्काउने रहेको स्पष्ट पारे । 
 
‘सरकारको प्राथमिकता भनेको सकेसम्म हाम्रा नानी–बाबुहरुलाई नन–एनआरएन बनाउने हो । विशेषज्ञ शिक्षा हासिल गरेर नेपाल फर्किउन भन्ने हो’ डा. कार्कीले भने । नेपाल जस्तो गरिब देशले लगानी गरेर उत्पादन गरेका अब्बल, दक्ष जनशक्ति डाक्टर, इन्जिनियरहरु बाहिरै बसेकोमा सरकारले त्यस्ता जनशक्तिलाई नेपालमै बस्ने वातावरण सिर्जना गर्नेतिर लाग्ने पनि उनले बताए । 
 
एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष डा. केशव पौडेल, वर्तमान अध्यक्ष सुनिल साहतर्फ संकेत गर्दै डा. कार्कीले भने–‘नेपाल सरकारको चाहना भनेको उहाँहरु जस्तो क्षमतावान डाक्टर, इन्जिनियरहरुलाई नेपालमै फकाउने हो । सधैँभरि एनआरएन बनाउने होइन । ५ वर्षे कार्यकालमा पहिले भन्दा दूतावासले जनताका काम छिटो छरितो रूपमा गरेको दावी पनि राजदुत कार्कीले गरे । 
 
कार्यक्रममा वक्ताहरुले नेपाली युवा विद्यार्थीहरुका समस्याका बारेमा छलफल गर्दै एनआरएनले छात्रवृत्ति, अन्य वृत्ति विकास, रोजगारीका लागि सहयोग गर्दै आएको चर्चा गरिएको थियो । एनआरएन आइसिसीका सचिव गौरीराज जोशीले आउटअफ स्टाटस हुने, चाँडै धनी हुने सपना बोकेर बिभिन्न फन्दामा पर्ने क्रम बढेकोले एनआरएनले सचेतनामुलक कार्यक्रम अघि बढाउन जरुरी भैसकेको बताए ।
 
एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष डा. केशव पौडेल र वर्तमान अध्यक्ष सुनिल साहले भने अमेरिकामा रहेका नेपाली विद्यार्थीहरु नेपालको विमानस्थल पार गर्नासाथ स्वतः एनआरएन हुने प्रवृत्ति रहेको बताए । ‘अरु देशमा अध्ययनका लागि जानेहरु नेपाल फर्किन्छन्, तर अमेरिका आउनेहरु यतै बस्ने भएकोले उनीहरु स्वतः एनआरएको सदस्य हुने व्यबस्था राख्न ध्यानकर्षण गरे । 
 
त्यस अवसरमा टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्यालले एनआरएनका कृयाकलाप र युवा विद्यार्थीलाई संस्थाप्रति आकर्षित गर्न गर्नुपर्ने कामका बारेमा उल्लेख गरेका थिए ।
 
फोटो साभार : सामाजिक संजाल