मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपामा गल्ती गर्ने छूट कसैलाई छैन : प्रचण्ड

नेकपामा गल्ती गर्ने छूट कसैलाई छैन : प्रचण्ड


नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छूट नदिने बताएका छन् । 
 
प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन् । 
 
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उनलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको उनको भनाइ छ । 
 
उनले भने, “अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छूट दिने पक्षमा हामी छैनौँ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।”  
 
अध्यक्ष प्रचण्डले अहिले चर्चामा रहेको एमसिसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले शुक्रबारमात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए । 
 
कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनको भनाइ थियो । 
 
“एमसिसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ”, उनले भने, “यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पुर्‍याउनेछ ।” 
 
अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशीला बनाउन चाहेको उल्लेख गरे । 
 
आउने दशक आमनेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उनले आग्रह गरे ।