अन्तर्वार्ता

गीत–संगीतमै ज्ञान र जीवन निरन्तर बगिरहेको छ : बुद्धिसागर बस्याल

397 पटक पढिएको

केशव भट्टराई | 17th Feb 2020, Monday | २०७६ फाल्गुन ५, सोमबार ०८:०१
नेपालको स्याङ्जा, मालुङगा गाउँमा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव हासिल गरेका बुद्धिसागर बस्याल लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक मानिन्छन् । एकदशक लोकदोहोरी क्षेत्रमा जमेर अर्को एकदशक ओझेल परेका उनी फेरि गीतसंगीतको क्षेत्रमै समर्पित भएका छन् । आफूलाई थाहा भएदेखि गीत गाउन सुरू गरेको बताउने बस्याल युवादेखि बुढापाकाले रुचाइएका गायकमध्ये एक हुन् । उनले २२ वर्षको उमेरमा गाएको बुढेसकालैमा बोलको गीत आजपर्यन्त उत्तिकै समय सान्दर्भिक र जनजिब्रोमा झुण्डिरहेको पाइन्छ ।
 
उनले एक दर्जन एल्बम निकालेका छन्, प्रायः सबै गीतले विभिन्न म्युजिक अवार्ड प्राप्त गरेका छन् । उनले कान्तिपुर टेलिभिजनबाट सुरू गरेको लोकगीतको कार्यक्रमबाट लोकदोहोरी क्षेत्र स्थापितमात्र भएन, धेरै कलाकार जन्माउन सार्थक पनि भयो । जो आज लोकदोहोरी क्षेत्रमा स्थापित भएका छन् । यतिमात्रै होइन १४ वर्षे क्यानडा बसाइमा उनले उत्तर अमेरिकामा नेपाल स्थापित गर्ने काम पनि गरेका छन् । आफूलाई ‘सांगीतिक यात्री’ भन्न रुचाउने उनले आफ्नो धर्मसंस्कृति र कलाको माध्यमबाट बुद्धको सन्देश प्रवाहित गर्न सकेकोमा गर्व महसुस गर्छन् । यिनै मूर्धन्य कलाकार बस्याल देशदेशावर घुमेर, अध्ययन गरेर आफ्नै जन्मभूमिमा उत्रिएका छन् । लोकगीतलाई गाउँदेखि सहरसम्म पु¥याउन उनको ठूलो योगदान रहँदै आएको छ । सामाजिक विभेद र समस्याको उजागर गर्दै आवाजविहीनहरुको आवाज मुखरित गर्न र सामाजिक परिवर्तनको अभियानमा लागिपरेका गायक बस्यालसँग हिमालयखबरका नेपाल संयोजक केशव भट्टराईले  गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 
 
१) गीतसंगीतमा रमिरहेको तपाईं एकाएक अलग हुनु भयो नि ? 
 
– म गीतसंगीतको क्षेत्रबाट अलग भएको छैन । मेरो रगतमा गीतसंगीत बगिरहेकै छ । जहाँ रहे पनि गीतसंगीतप्रतिको मोह घटेको छैन । सागरको पानी बग्दै महासागरमा पुगेजस्तै म पनि केही समय महासागरमा मिसिएको हुँ । गीत–संगीतमै ज्ञान र जीवन निरन्तर बगिरहेको छ । 
 
२) त्यसो भए गीतसंगीतको क्षेत्रमा तपाईंको पुनरागमन भएको हो ? 
 
– केही वर्ष वैदेशिक यात्रामा पुगे पनि म कहीँ गएको छैन । रुँदै विदेश गएको थिएँ, हाँस्दै फर्किएको छु कुरा यत्तिमात्रै हो । म हिमालको काखबाट कहिल्यै पर भाग्न सक्दिनँ । आफ्नो देशको महŒव थाहा पाउन पनि एकपटक जोकोही  विदेश जानैपर्छ । विदेश जानु पलायन हुनु होइन । किनकि पृथ्वी हाम्रै हो । जब चराका लागि कुनै सीमा हुँदैन । पानीका लागि सीमा हुँदैन भने मानिसका लागि पनि सीमाले बाँध्नु उचित होइन । आफ्नो धर्मसंस्कृति र कर्म गर्न छाड्नु हुँदैन । मानिसद्वारा बनाइएका सीमा भत्काउनुपर्छ भन्ने मान्यता बोकेको मान्छे हुँ म ।
 
३) गीतसंगीतका दर्शक स्रोतालाई के कोशेली ल्याउनु भएको छ ? 
 
– नेपाली युवाहरु विविध कारण विदेश जान बाध्य छन् । विदेशमोहले समाजमा पारेको प्रभावका कारण सामाजिक सम्बन्ध नबिग्रियोस् भन्ने उद्देश्यले नेपाललाई विश्वसँग जोड्ने अभियानमा छु । केही महिनाअघि परेलीले...बोलको गीत ल्याएको थिएँ । फेरि लाहुरे एल्बममार्फत् दुलहीको मायाले बोलको गीत दर्शक स्रोतामाझ ल्याएको छु । यस्तै माकुरी जाल बुनेको र ज्योति मगरसँग खोलीभित्र पानी चोलीभित्र जवानी... बोलको कलियुग एल्बम पनि ल्याएको छु । दर्शकस्रोताले निकै रुचाउनु भएको छ । 
 
४) तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ?  
 
–मैले बच्चैदेखि गीत गाउन थालेको हुँ । गाउँमा हुने भजनकीर्तन, चुड्का, रत्यौली, कालीगण्डकीको सेरोफेरोमा हुने रोधी, सोरठी, मादल र गन्धर्वको सारंगीको धूनले मलाई गायक बनाएको हो । मैले सानैमा रुखमा बसेर गीत गाउँदा मेलापात गर्नेहरु मेरा स्रोता हुन्थे । तिनैका प्रेरणा र हौसलाबाटै मभित्रको प्रतिभा प्रष्फुटन हुँदै गयो । चार कक्षामा जिल्लास्तरीय प्रतियोगितामा लक्ष्मी न्यौपानेसँग गीत गाएको थिएँ । त्यतिबेला उत्कृष्ट पुरस्कारस्वरुप पाँच रुपैयाँ पाएको थिएँ ।   
 
पाल्पा तानसेनमा नौ कक्षा पढ्ने बेलामा गन्धर्वसँग चामल दिएर सारंगी सिकेपछि एसएलसी दिएलगत्तै पहिलो एल्बम ‘कपाल कोरेर हितैको मायालु नजाऊ छोडेर’ बोलको गीत गाएको हुँ । त्यस गीतले सांगीतिक क्षेत्रमा लाग्न हौस्याएपछि ‘मुसुक्क हाँसिदेऊ निरमाया जानी बेलैमा’ बोलको अर्को गीत निकालेँ । भाञ्जाबाबु बोलेको पञ्चेबाजा गीत धेरैले रुचाउनुभयो । त्यसपछि बुढेसकालैमा निकालेपछि म लोकदोहोरी क्षेत्रमा स्थापित भएँ । आधुनिक गीततर्फ देउरालीमा हावा चलेको, डाँफे नाचेर फूल कहाँ फुल्छ र हाँगै भाँचेर लोकदोहोरी गीत पनि निकै रुचाइए । छमछम पाउजुले बोलको गीतपछि म संगीत र चलचित्र निर्माणसम्बन्धी विषयमा अध्ययनका लागि क्यानडा पुगेँ । 
 
५) लोकदोहोरी क्षेत्रमा कति कलाकार जन्माउनुभयो ? 
 
– कलाकार कसैले जन्माउनेभन्दा पनि मार्गदर्शन गर्ने प्रमुख कुरा हो । थुप्रै भाइबहिनी गीतसंगीतका क्षेत्रमा स्थापित भएका छन् । गायकतर्फ मेरो पुस्ताको प्रतिनिधित्व पशुपति शर्मा र राजी खाँड भाइहरुले गरिरहेका छन् । यस्तै गायिका सिन्धु मल्ल र लक्ष्मी न्यौपानेले पनि छुट्टै पहिचान बनाएका छन् । देवी घर्ती मगरदेखि ज्योति मगरसम्म धेरै कलाकार भाइबहिनीहरु स्थापित भएका छन् । लोकसंगीतमा पनि पुस्तान्तरण हुँदैछ । एउटा घाँसीले भानुभक्त आचार्यलाई आदिकवि बनाइदियो । कसैको एउटा सानो प्रोत्साहनबाट सयौँ सिर्जनाको उजागर हुनसक्छ । जस्तै लोकगीतलाई गाउँदेखि सहरसम्म ल्याउने काम मैले गरेँ । र, संगीतको अर्को संसार बझ्न म क्यानडासम्म पुगेँ । 
 
६) क्यानडामा रहँदा लोकसंगीतका लागि के गर्नुभयो ? 
 
–म क्यानडा पुगे पनि लोकसंस्कृतिको लागि उत्तरी अमेरिकामा नेपाल स्थापित गर्ने काममा सक्रिय रहेँ । पहिलो त क्यानडामा बुद्धको सन्देश प्रवाहित गर्दै नेपाल सगरमाथाको देश र ज्ञानभूमि हो भन्ने सन्देश फैलाउन सकियो । नेपाल भनेको भारतकै अंग हो भन्ने बुझाइ हटाउन पनि मेरो वैदेशिक बसाइ अर्थपूर्ण बन्यो । 
 
७) गीतसंगीतको माध्यमबाट के परिवर्तन ल्याएँजस्तो लाग्छ ? 
 
–पत्रकारिताजस्तै गीतसंगीत पनि समाज परिवर्तनको प्रभावकारी माध्यम हुनसक्छ । मैले लाहुरे एल्बम निकाल्दा छायांकनको क्रममा त्रिशूली नदी किनारमा ट्युबको माध्यमबाट नदी तरेर विद्यालय जाँदै गरेका चेपाङ बालबालिकाको नियति चित्रण गरेको थिएँ । त्यही भिडियोले त्यहाँका मानिसको कथा उजागर भयो । त्यसपछि मूलधारका ब्रोडसिट अखबारले यही समस्याको बारेमा समाचार रिपोर्ट बनाए । त्यसपछि सरकारको ध्यानाकर्षणमात्र भएन, तुइन हटाएर पुल बनाउने अभियान नै सञ्चालन भयो । अहिले देशैभरि तुइन विस्थापित गर्ने सरकारको योजना बनेको छ । समस्या उजागर गर्न लोकसंगीत एउटा माध्यम बन्न सक्छ भन्ने एउटा दृष्टान्त हो यो । गीतसंगीतले समाजका कथा भन्न सक्नुपर्छ, समाजमा एउटा सन्देश फैलाउन सक्नुपर्छ । यो परिवर्तनका लागि सशक्त माध्यम हुनसक्छ । 
 
८) जीवनसँग संगीतको के सम्बन्ध छ ? 
 
–जीवनसँग संगीतको अन्योन्याश्रित सम्बन्ध छ । सृष्टिकर्ता भगवान् शिवको हातमा डमरु, भगवान् कृष्णको हातमा बाँसुरी र विद्याकी देवी सरस्वतीको हातमा विणा हेर्दा नै पुष्टि हुन्छ कि जीवनसँग संगीतको कति अर्थपूर्ण सम्बन्ध रहेछ भन्ने । गीतसंगीत नभए जीवन कति बिरसिलो हुन्थ्यो होला ? संसार नै कस्तो भइसक्थ्योे ? कतिवटा युद्ध भइसक्थे होला ? सयौँ मानिसलाई एकैठाउँमा भुलाउने, झुलाउने र शान्त बनाउने शक्ति गीतसंगीतमा हुन्छ । त्यसैले जीवनमा गीतसंगीतको सम्बन्ध नङ र मासुको जस्तै हुनेगर्छ । 
 
९) पहिले र अहिले लोकदोहोरी क्षेत्रमा के फरक महसुस गर्नुभएको छ ? 
 
–समय परिवर्तनशील छ । प्रविधिको विकासका कारण लोकदोहोरी क्षेत्रमा पनि निकै परिवर्तन देखापरेको छ । नेपालको सांगीतिक क्षेत्रमा पनि पश्चिमी प्रभाव परिसकेको छ । लोकदोहोरी व्याटल, रिमिक्सआदि पश्चिमा संगीतको फ्युजन हुनथालेको छ । पछिल्लो जेनेरेशनको यस्ता संगीतप्रति बढ्दो रुचि छ । संसार खुला भएको संकेत पनि हो यो । समयअनुसार लोकसंगीतमा पनि नयाँपन आएको छ । तर, अलि छाडापन बढेको अनुभूतिचाहिँ गरेको छु । संग्लो पानीमा धमिलो पानी पनि मिसिएको हुन्छ ।
 
नयाँ जेनेरेशन अलि बेहोसी छ । उनीहरुलाई बुझाउन सक्ने नेतृत्व चाहिएको छ । संगीतका माध्यमबाट संसार जोड्न नेपालमै अथाह चिजहरुलाई प्रस्तुत गर्नसक्नुपर्छ । मध्यपूर्वमा बालुवामुनि तेल र ग्यासको अथाह भण्डार भएजस्तै बुद्धको ज्ञानभूमि र सगरमाथाको हाम्रो देशमा प्राकृतिक रुपमै संसारलाई मोहित गर्ने अथाह सम्पदा छन् । नयाँपुस्ताले गीतसंगीतको क्षेत्रबाट यस्ता विषयहरुको उठान गरी संसार जोड्ने काम गर्नुपर्छ ।