मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन, कांग्रेस शोकमा, संसदद्वारा शोक प्रस्ताव पारित

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन, कांग्रेस शोकमा, संसदद्वारा शोक प्रस्ताव पारित


रुपन्देही । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए । 
 
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । 
 
विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उनको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताए । 
 
सभापति देउवाद्वारा दुःख व्यक्त
 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
 
उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याएका थिए । 
 
काँग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
 
नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ । 
 
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 
 
क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज निधन भएको हो । उनीहरुले सांसद उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याएको उल्लेख गर्दै उपाध्यायको निधनले राष्ट्र र काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् । 
 
विसं २०२६ मा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साबिक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । 
 
काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत हुँदै उनी विसं २०७४ मा काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए । 
 
शोक प्रस्ताव पारित
 
प्रतिनिधिसभाको आजको बैठकले नेपाली काँग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवङ्गत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
 
सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए  । नेता उपाध्याय सरल एवं भद्र व्यक्तित्वको रूपमा परिचित, सामाजिककार्य एवं लोकतन्त्रका स्थापनाका आन्दोलनमा सदैव अग्रपंक्तिमा सक्रिय थिए  । 
 
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीेले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३ गते ११ बजे बस्नेछ ।