विचार / ब्लग

भ्यालेन्टाइन्स डे विशेष

285 पटक पढिएको

सुजन पण्डित, हिमालय खबर / १४ फेब्रुअरी २०२०, शुक्रबार | 13th Feb 2020, Thursday | २०७६ फाल्गुन १, बिहीवार २१:००
-सुजन पण्डित
फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे अर्थात ‘प्रेम दिवस’का रुपमा मनाउने प्रचलन संसारभर ह्वात्तै बढेको छ। सूचना प्रविधिको विकासले ल्याएको परिवर्तन संगसंगै सामाजिक संजालको बढ्दो प्रयोगले पश्चिमा क्रिश्चियनहरुको पर्वको रुपमा रहेको ‘भ्यालेन्टाइन्स डे’ अब पूर्वीय संस्कृतिमा अभ्यस्त मुलूकहरुमा समेत ताम-झामका साथ मनाउन थालिएको छ।
 
कसरी मनाउन शुरु गरियो भ्यालेन्टाइन्स डे?
यति धेरै लोकप्रिय र केही देशहरुमा बिवादित भ्यालेन्टाइन्स डे कहिलेबाट मनाउन शुरु गरियो भनेर भरपर्दो तथ्य नभएपनि इशाको पाँचौं शताब्दी (४९६) मा पहिलो पटक मनाउन थालिएको भनाई पाइन्छ। तत्कालीन बेलामा रोमन सभ्यतामा फेब्रुवरीको मध्यतिर मनाइने रोमन-चाड ‘लुपर्सिलिया’लाई नै रोमन चर्चहरुले पछि गएर ‘भ्यालेन्टाइन्स डे’को रुपमा मनाउन थालेको भनिन्छ। त्यो बेला लुपर्सिलियामा केटाहरुले एउटा बक्स भित्र राखिएको केटीहरुको नाम निकाल्ने र त्यही केटीलाई गर्लफ्रेण्ड बनाउने र केहीको आपसमा बिवाह समेत हुने चलन थियो।
 
विभिन्न कथनहरु सु्न्न पढ्न पाइने भएपनि इशाको तेश्रो शताब्दीतिर प्राचीन रोमन शासक क्लाउडियस दोश्रोले युवाहरुलाई बिवाह गर्न प्रतिबन्ध लगाएका थिए भनिन्छ। उनको के विश्वास थियो रे भने बिवाह गरेका युवाहरु सबल र गतिला सैनिक हुन योग्य हुँदैनन्। त्यसैले, उनीहरुले बिवाह गर्नु हुन्न। उनको प्रतिबन्ध तत्कालीन रोमन चर्चका एक भ्यालेन्टाइन नाम गरेका पादरीलाई चित्त बुझेनछ। मायालु जोडीहरुको लुकीछिपी बिवाह गराइदिएको थाहा भएपश्चात उनलाई मृत्यदण्ड हुने गरी जेल पठाइयो। जेलमा रहँदा जेलरकी छोरीसंगै उनको माया बस्यो। पछि उनलाई मृत्यदण्ड दिन लगिनु अघि उनले जेलरकी छोरीलाई एउटा प्रेम पत्र लेखे- ‘फ्रम योर भ्यालेन्टाइन’। माया गर्ने जोडीको पक्षमा लागेकै कारण शहीद भएका एक प्रेमीको सम्झना-स्वरुप ‘सेन्ट भ्यालेन्टाइन्स डे’ मनाउन शुरु गरेको हो भन्ने भनाई पाइन्छ। एक हजार पाॅचसय २४ बर्ष पहिलेको मायाको कथा बोकेको सेन्ट भ्यालेन्टाइन्स डे अब क्रिश्चियनहरुबीच मात्र सीमित छैन।
 
बिवादमा भ्यालेन्टाइन्स डे
अधिकाँश देशहरुमा लोकप्रिय भएपनि केही मुस्लिम बाहुल्य देशहरुले भने भ्यालेन्टाइन्स डे मनाउन र त्यससम्वन्धी सबैखाले सामाग्रीहरुको बेचबिखन र प्रचार-प्रसारमा रोक लगाएका छन्। पाकिस्तानमा इस्लामाबाद उच्च अदालतले भ्यालेन्टाइन्स डे’लाई इस्लाम संस्कृतिको खिलाफ भएको भन्दै सन् २०१८ बाट नै भ्यालेन्टाइन्स डे मनाउन र यसको प्रबर्द्धन गर्ने सबै गतिविधिमा प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिएको थियो। यसैगरी साउदी अरेबिया, इरान, इण्डोनेसिया र मलेशियामा पनि यसलाई इस्लाम संस्कृतिलाई भड्काउन सक्ने भन्दै सार्वजनिकरुपमा भ्यालेन्टाइन्स डे मनाउन पाइन्न। प्रेमिल जोडीहरुले बन्द कोठाभित्र मात्र भ्यालेन्टाइन्स डे’को मज्जा लिन सक्छन्। साउदी अरेबियामा रेष्टुरेण्टमा समेत महिला-पुरूषहरु संगै बसेर खान मनाही गरिएको छ। इस्लामिक कानून भएको देश इरानमा भ्यालेन्टाइन्स डे संग सम्वन्धित सामाग्रीहरु बेचबिखन गर्ने र ओसार-पसार गरेमा कडा कारबाही गर्ने सरकारी चेतावनीकाबीच त्यहाँका युवापिंढीहरुमा भने माया-साट्ने पर्व बिस्तारै लोकप्रिय हुन थालेको बीबीसी लगाएतका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएकाछन्।
 
संसार कै सबभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश इन्डोनिशियामा कट्टरपन्थी र परम्परावादीहरुले पश्चिमा संस्कृतिको बढावा हुने, यौनजन्य क्रियाकलाप र मदिरा सेवन बढ्ने भनेर यस पर्वको बिरोधमा प्रदर्शन गर्ने गरेका भएपनि इस्लामिक कानून लागूभएको आचेह प्रान्तमा बाहेक अन्यत्र ‘भ्यालेन्टाइन्स डे’को क्रेज बढ्दो छ।
 
प्राय सबै धर्म र सम्प्रदायका युवा-युवतीहरुमा लोकप्रिय ‘सेन्ट भ्यालेन्टाइन्स डे’ ले आपसी माया र सद्भाव बाँडेर समाजमा माया र सकारात्मकता बढाउन सघाउ पुय्रायो भने यसका बिरुद्द केही सम्प्रदाय र देशहरुमा हुने बिरोधले कुनै महत्व राख्दैन।
 
दक्षिण एशियामा भ्यालेन्टाइन्स डे
नेपाल लगाएत भारत र चीनमा समेत यो पर्वले निकै ठूलो लोकप्रियता बटुलेको छ। दक्षिण र दक्षिण-पूर्वी एशियाली देशहरुमा बढिरहेको व्यापारिक प्रबर्द्धनात्मक गतिविधिहरुले समेत भ्यालेन्टाइन्स डे एउटा महत्वपूर्ण आर्थिक कारोबार हुने अवसरको रुपमा देखा परिरहेको छ। हालैका बर्षहरुमा यो पर्वका बेला मात्र अरबौं डलरको उपहारजन्य सामग्रीहरुको कारोबार हुने गरेको आर्थिक विवरणहरु आएका छन्।
 
भारतमा
सन् ९० को दशक तिरबाट मात्र भारतमा पनि भ्यालेन्टाइन्स डे’ले लोकप्रियता पाउन थालेको हो। परम्परावादी हिन्दु संस्कृतिका संकुचित सामाजिक चालचलनहरु भएको भारतीय समाजमा एमटिभी लगाएतका व्यापारिक प्रशारण माध्यमहरुले बढावा दिन थालेपछि युवाहरुमा यसले चासो बढाएको हो। अहिले सामाजिक संजाल र इन्टरनेटको प्रयोगमा भएको बृद्धिसंगै भ्यालेन्टाइन्स संस्कृति पनि हावी हुन थालेको छ। एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा पश्चिमाहरुको महत्वपूर्ण पर्व- भ्यालेन्टाइन्स डे’ले हालैका बर्षहरुमा यति धेरै लोकप्रियता पाएको छ कि त्यहाँका परम्परावादी राजनीतिक शक्तिहरु यसको बिरोधमा संधै एउटा न एउटा हथकण्डा मच्चाई हाल्छन्।
 
बजरंग दल नामको कट्टरपन्थी हिन्दु समूहका एकजना नेता सुवास चौहानले त केही बर्ष पहिले सार्वजनिकस्थलमा दम्पति वा युगल जोडीहरुलाई आलिंगन वा चुम्बन नगर्न उर्दी नै जारी गरे। यदि उनीहरुको आदेशको खिलाफ गएमा कार्यकर्ताहरुद्वारा कुटपिट गर्ने धम्की दिएका थिए। अझ केही हिन्दुवादी समूहहरुले भ्यालेन्टाइन्स डे’मा सार्वजनिक स्थलमा फेला पर्ने अविवाहित जोडीहरुको जबर्जस्ती बिवाह समेत गर्दिने धम्की दिएका थिए। बिरोधमा उत्रिनेहरुको भनाई छ- ‘यसले पश्चिमा संस्कृतिलाई मलजल गर्ने, समाजमा यौनजन्य हिंसा र अनावश्यक तडक-भडक बढाउने, हुनेखाने शहरियाहरु र ग्रामिण-गरीबहरुबीच सामाजिक दूरी बढाउन मद्दत गर्छ।’
 
नेपालमा भ्यालेन्टाइन्स डे- प्रणय दिवस
नेपालमा पनि सन् ९० को दशक पछिबाट मात्र भ्यालेन्टाइन्स डे मनाउने प्रचलन बढेको पाइन्छ। काठमाण्डू लगाएतका केही पर्यटकीय शहरहरुमा फाट्टफुट्ट मनाउने गरिएको प्रेम-दिवस १९९० को जनान्दोलन पश्चात शहरीया संस्कृति नै बन्न थालेको छ। इन्टरनेटको पहुँच बिस्तार र फेसबुक लगाएतका सामाजिक संजालको प्रयोगमा बढोत्तरीसंगै बन्दस्थानमा गरिने माया आदान-प्रदानका गतिविधिले सार्वजनिक थलोहरु ओगट्न थालेको छ। हालैका बर्षहरुमा स्मार्ट फोनको प्रयोग बढेकाले प्रेम दर्शाउन थरी-थरीका ‘एनिमेटेड्’ सन्देशहरु पठाउने प्रचलन अचाक्ली बढेको देखिन्छ। फेब्रुअरीको शुरु देखि नै बिभिन्न खाले उपहार सामग्रीहरुले सजिएका स्टोरहरुमा युवा-युवतीहरुको घुईंचो लाग्न थालिसक्छ। रातो गुलाफ, पानपाते संकेत सहितका टेडिज, ‘हार्टसेप्ड’ चकलेट, कार्ड लगाएतका महंगा उपहारहरु समेत साट्ने चलन अचेल शहरीयाहरुमा निकै देखिन थालेको छ। देखासिकी कै लागि भएपनि महँगा होटल, रेष्टुरेण्ट, डिस्कोथेक र पार्कहरुमा युगल-जोडीहरुको बाक्लो जमघट हुन थालेको छ। शहर-बजारमा मात्र नभएर अचेल ग्रामिण भेगका नेपालीहरु पनि भ्यालेन्टाइन्स डे संस्कृति भित्र्याइरहेका छन। सामाजिक संजालमा सक्रियहरुलाई नियाल्ने हो भने त नेपाल पनि यो पर्वमा धेरै आर्थिक कारोबार गर्ने देशमा दर्ज भैसके जस्तै लाग्दछ। अन्तराष्ट्रिय व्यापारिक संजालले यति धेरै प्रचार-प्रसार गर्दछ कि केही बर्षदेखि संकुचित सामाजिक व्यवहार भएका देशहरुमा पनि यो प्रमुख पर्वको रुपमा स्थापित भैसकेको छ र करोडौंको आर्थिक कारोबार गराइरहेको छ।
 
यूरोपमा,
अंग्रेजी भाषी क्रिश्चियनहरुले १९ औं शताब्दीमा बढी प्रचलनमा आएको भ्यालेन्टाइन्स डे’मा विविध उपहार सहित रोमान्टिक लभ-सिम्बलका रुपमा ‘सेन्ट भ्यालेन्टाइन्स कि’ दिने चलन छ। यसले उपहार दिने प्रेमीको मनको साँचो खोल्न सघाउ पुग्ने विश्वास गरिन्छ।
 
अमेरिकामा भ्यालेन्टाइन्स डे
पश्चिमा देशहरुमा त यसको प्रभाव छँदै थियो, झन् आधुनिकता संगै यसले व्यापार बृद्धि समेत गराइरहेको छ। हालैका बर्षहरुमा अमेरिकामा भ्यालेन्टाइन्स डे’का अवसरमा करीब २०० मिलियन भ्यालेन्टाइन्स कार्ड आदान-प्रदान हुने गर्छ भनिन्छ। त्यसबाहेक स्कूले केटा-केटीहरुले आपसमा आदान-प्रदान गर्ने लाखौं कार्डहरु गन्ति मै आएका हुन्नन्। अमेरिकीहरुले गतबर्ष २० अर्ब डलर बराबरको कार्ड लगाएतका उपहार सामग्री खर्च गरेको आँकडा सार्वजनिक भएको छ। यसैबाट अनुमान गर्न सकिन्छ कि-यो आधुनिक र खुल्ला समाजको बाहुल्यता रहेको अमेरिका जस्ता देशहरुमा भ्यालेन्टाइन्स डे’को महत्व कति धेरै छ भनेर। नयाँ बर्षको लगत्तै अमेरिकी स्टोरहरुमा सजिने भ्यालेन्टाइन्स उपहार सामाग्रीहरुको मात्रा यति धेरै हुन्छन् कि सबै अमेरिकी बजार र उपभोक्ताहरु भ्यालेन्टाइन्स सामाग्री बेच्न र किन्न मात्र व्यस्त छन् जस्तै भान हुन्छ। फेब्रुवरीको पहिलो साताबाट त प्रमुख व्यापारिक स्टोरहरु भ्यालेन्टाइनमय नै लाग्छन् र मान्छेहरु आफना मायालुहरुलाई मनपर्ने उपहार किन्न तँछाड्-मछाड् गरिरहेका हुन्छन्।
 
‘सेन्ट भ्यालेन्टाइन्स डे’का पक्षपातीहरुको खुसी र उल्लासमय माया आदान-प्रदान अझै मौलाओस्। बिरोधीहरुले पनि यसको सकारात्मक पाटोका बारेमा चिन्तन-मनन् गरुन्। ह्याप्पी सेन्ट भ्यालेन्टाइन्स डे- प्रेम-दिवसको शुभकामना। माया रोपौं- माया उमारौं। माया बाँडौं, माया साटौं र माया बढाऔँ।