मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने


बेइजिङ । चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बुधबार बिहानसम्म चीनभर १ हजार १०० व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । 
 
कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मंगलबारमात्रै ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका थिए ।
 
संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिँदै यस भाइरसको सङ्क्रमण रोक्न गरेका प्रयासको सराहना पनि गरेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन् । उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 
 
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाइँमा आवश्यक सहयोग गर्ने बताएका छन् । उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रशंसा गरेका छन् । 
 
चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजारभन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जानकारी दिएका थिए । 
 
नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समुदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् । 
 
उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै यो सङ्ख्याले स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न सकेको छ या छैन भनेर पनि निरीक्षण भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको सङ्ख्या बढाइने बताए । 
 
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन् । उनले पनि चिनियाँ प्रयासहरुको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताएका छन् ।  
 
ग्रीक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गरेका छन् । यस महामारीको नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आश्वासन उनले दिएको समाचारमा जनाइएको छ । 
 
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राखेका छन् ।  
 
यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताएका छन् ।   
 
उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको समाचारमा जनाइएको छ ।  
 
हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सिन्हवा