मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

तेस्रो गैँडाकोट महोत्सव सकियो, तीन लाखले गरे अवलोकन

तेस्रो गैँडाकोट महोत्सव सकियो, तीन लाखले गरे अवलोकन


नवलपुर । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा १३ दिनसम्म सञ्चालन भएको तेस्रो गैंडाकोट महोत्सवको तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । 
 
माघ १५ गतेदेखि सुरु भएको महोत्सवमा सोमबार अन्तिम दिनसम्म आइपुग्दा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेका संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । सो महोत्सवमा करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको सापकोटाले बताए । 
 
महोत्सवको समापन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको बताउँदै नवलपुर क्षेत्रलाई लक्षित गरी केबुलकारसहित अन्य परियोजना सञ्चालन गर्ने तयारी भइरहेको बताए । 
 
उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका महोत्सवले थप ऊर्जा प्रदान गरेको बताए । 
 
उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएको जानकारी दिए । साथै उनले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । 
 
गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले तेस्रो संस्करणको गैँडाकोट महोत्सव सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको बताए । दर्शकहरुको उल्लेख्य उपस्थितिका कारण महोत्सव सफल भएको कँडेलको भनाइ छ । 
 
महोत्सवमा सोमबार मञ्जु पौडेल, राजनराज सिवाकोटीसहित स्थानीय कलाकारले प्रस्तुति राखेका महोत्सवको सांस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए । महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
 
तेस्रो संस्करणको गैँडाकोट महोत्सवमा दरै, चेपाङ, थारु, गुरुङ, थकालीसहित विभिन्न नौ वटा जातजातिका सांस्कृतिक घर प्रदर्शनीका लागि राखिएका थिए । सो महोत्सवमा उद्योग, वाणिज्य, व्यावसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टलका साथै बाल उद्यानसमेत रहेको थियो । 
 
महोत्सवमा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लण्डन ब्रीज आकारको प्रवेशद्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)ले दर्शकको आकर्षण बढेको थियो भने विदेशी संस्कृतिको अवलोकन गराउने उद्देश्यले रसियन बेली डान्ससमेत महोत्सव अवधिभर विशेष प्रस्तुतिको रुपमा रखेको थियो । रसियन युवतीको आकर्षक डान्सले गर्दा महोत्सवभर दर्शकहरु खचाखच भरिएका थिए ।