मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आइसीसी विश्वकप लिग दुईमा नेपालद्वारा अमेरिका पराजित

आइसीसी विश्वकप लिग दुईमा नेपालद्वारा अमेरिका पराजित


काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । 
 
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । एक सय ९१ रनको विजय लक्ष्य पछ््याउने क्रममा अमेरिकाको पारी ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो । 
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आगमन गरेका सुवास खकुरेल तीन रनमै पेभेलियन फर्किए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । 
 
खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभेलियन फर्किनुभयो । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभेलियन फर्किए । नेपालको स्कोर ४९ रनको छँदा पाँच खेलाडी आउट भएका थिए । 
 
छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशल मल्ल र सातौँ नम्बरमा मैदान प्रवेश गरेका विनोद भण्डारीले नेपालको पारी उकासे । कुशलले ५१ बल खेल्दै ५० रन बनाए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । 
 
कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाए । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा सो कीर्तिमान बनाएका हुन् । 
 
यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले गत वर्ष युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए । 
 
त्यो बेला उनी १६ वर्ष १४६ दिनको थिए । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । सचिनले टेस्ट क्रिकेटमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । 
 
यस्तै विनोद भण्डारीले ५९ रन बनाए । उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए । बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिए । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक÷एक विकेट लिए । 
 
ब्याटिङ गर्ने क्रममा अमेरिकाको सुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा चार विकेट गुमाएको थियो । त्यो बेला टोलीको स्कोर १३ रनमात्र थियो । अमेरिकाले ११ ओभरमा २९ रन छँदा पाँचौँ विकेट गुमायो । अमेरिकाका लागि इयान होल्यान्डले अर्धशतकीय पारी खेले । उनले ७५ रनको योगदान दिए । १११ बल खेल्ने क्रममा होल्यान्डले सात चौका प्रहार गरे । यस्तै क्यामरोन स्टिभेन्सनले १९ र करिमा गोरेले १० रन बनाए । 
 
बलिङतर्फ नेपालका लागि करन केसीले चार विकेट लिए । सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिए । करनले सात दशमलव एक ओभरमा एक मेडन राख्दै १५ रन खर्चिए । सुशनले १० ओभरमा एक मेडन राखेर ४३ रन दिए ।
 
सन्दीपले १० ओभर बलिङ गर्दै दुई मेडन राखी २७ रन खर्चिए । कुशलले दश ओभरमा एक मेडनसहित ३० रन खर्चिए । करन केसी खेलको म्यान अफ दी म्याच घोषित भए । नेपालले आइतबार तेस्रो खेल ओमानसित खेल्ने छ । रासस