मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

रंगशाला निर्माणका लागि सहयोगको ओइरो, एकैदिन उठ्यो १५ करोड

रंगशाला निर्माणका लागि सहयोगको ओइरो, एकैदिन उठ्यो १५ करोड


चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा शनिबार हालसम्मकै धेरै आर्थिक सहयोग संकलन भएको छ ।
 
शनिबार सातौँ दिनमा मात्रै १५ करोड रुपैयाँ बढी सहयोग संकलन भएको मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । यससँगै धनधान्याचलमा ३० करोड रुपैयाँ उठेको छ ।
 
शनिबार रंगशाला निर्माणका लागि जारी धनधान्याचलमार्फत बाग्मती प्रदेश सरकारले थप १० करोड सहयोग घोषणा गरेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले थप १० करोड सहयोग घोषणा गरेका हुन् । यसअघि शुक्रबार बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका थिए । मुख्यमन्त्रीले मन बढाएसँगै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि १५ करोड रुपैयाँ सहयोग घोषणा भएको छ । 
 
सहयोग घोषणा गर्दै मुख्यमन्त्री पौडेलले निर्माणाधीन रंगशाला बाग्मती प्रदेश र समग्र देशकै गौरवको विषय भएको बताए । उनले यो अभियानमा प्रदेश सरकारको सधैँ सहयोग रहिरहने पनि बताए । यस्तै, उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म प्रदेश सरकारको तर्फबाट आवश्यकताअनुसार सहयोग गरिरहने प्रतिबद्दतासमेत व्यक्त गरे । 
 
सहयोग गर्नेहरुको होडबाजी 
 
नारायणगढस्थित बालकुमारी कलेजले १५ लाख रुपैयाँ सहयोग गरेको छ । कलेजका प्राचार्य जगदीश्वर खनालले उक्त रकम घोषणा गरेका हुन् । यस्तै, सांसद् उमेश श्रेष्ठले ११ लाख ५१ हजार, इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११, काठमाडौँ निवासी योगप्रसाद पण्डितबाट १० लाख १ हजार, सप्तगण्डकी बहुमुखी क्याम्पसले ६ लाख एक हजार १११ सहयोग गरेका छन् । 
 
यस्तै, भरतपुर सरकारी अस्पतालका सम्पूर्ण कर्मचारीको तर्फबाट एक दिनको तलबबराबर रु ५ लाख ७३ हजार ९०७, काठमाडौँ वान हार्ट कलेज तथा स्कुलबाट ५ लाख ५ हजार ५५५, भरतपुर १ निवासी उमाशंकर अग्रवालबाट ५ लाख ५५ हजार ५५५, ललितपुर निवासी शारदा अधिकारीबाट ५ लाख ५५ हजार ५००, कैलाश पेट्रोल पम्पबाट ५ लाख सहयोग प्राप्त भएको छ । 
 
यसैगरी, महेन्द्रलाल प्रधानबाट ४ लाख ५५ हजार, स्काइराइडर आमावि रत्ननगरबाट ३ लाख २५ हजार ५५५, श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट ३ लाख, ताराकुन्ज सहकारी संस्थाबाट ३ लाख सहयोग प्राप्त भएको छ ।     
 
यस्तै विभिन्न संघसंस्था, आमा समूह, टोलसुधार समिति, सहकारी संस्था तथा व्यक्तिहरुले पनि मनग्य सहयोग गरेको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । अन्य दिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । आइतबार सहयोगीदाताहरु अझै बढ्ने मूल आयोजक समितिले जनाएको छ ।
 
सहयोग बढेपछि एक दिन थप
 
रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव एक दिन थप गरिएको छ । धनधान्याचलमा सहयोग गर्ने दाताहरु बढ्दै गएकोले एक दिन थप गरिएको मुल आयोजक समितिका संयोजक विजय सुवदीले जानकारी दिए । अब २६ गतेसम्म हुने भनिएको धनधान्याचल २७ गतेसम्म चल्ने छ । धनधान्याचलको २७ गते भव्य कार्यक्रमबीच समापन गरिने संयोजक सुवेदीले बताए ।
 
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव भइरहेको छ । महोत्सवमा पण्डित दीनबन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब रुपैयाँको लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य जारी छ ।