मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार र अख्तियारप्रति कांग्रेस आक्रामक : पूर्वाग्रही कदमविरुद्ध सदन र सडक संघर्षमा

सरकार र अख्तियारप्रति कांग्रेस आक्रामक : पूर्वाग्रही कदमविरुद्ध सदन र सडक संघर्षमा


काठमाडौँ- सरकारप्रति नरम प्रतिपक्षीको भूमिका खेल्दै आएको कांग्रेसले आफ्ना नेता उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेपछि उक्त कार्यको विरोधमा सदनदेखि सडक संघर्ष गर्ने भएको छ । शुक्रबार कांग्रेसका भातृसंंगठनहरु माइतीघर मण्डलामा भेला भई सरकारविरुद्ध संघर्षमा उत्रिएका हुन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ललिता निवास जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता गच्छदारसहित १७५ जनाविरुद्ध एकैचोटी मुद्दा दायर गरेको थियो । तर, बालुवाटार जग्गा प्रकरणमा जोडिएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई चोख्याउँदै ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरेपछि कांग्रेस आन्दोलित भएको हो । 
 
कांग्रेसकै निर्देशनमा नेपाल विद्यार्थी संघले सरकार र अख्तियारविरुद्ध सडक संघर्ष गरेको हो । माइतीघर मण्डलामा आयोजित सभामा भातृसंगठनका नेताहरुले कांग्रेसले उपसभापति गच्छदारको बचाउका लागि प्रदर्शनमा उत्रिएको नभई अख्तियारको पूर्वाग्रही कदमविरुद्ध संघर्ष गर्नुपरेको प्रष्ट पारेका छन् । अख्तियारले शक्ति र सत्ताको बलमा कसैलाई काखा र कसैलाई पाखा गरेको उनीहरुको आरोप छ ।
 
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आफूहरु आफ्ना नेतालाई बचाउन आएको नभई अख्तियारको कदमको विरुद्ध प्रदर्शनमा उत्रिएको प्रष्ट पारे । उनले भने, मन्त्रिपरिषद्मा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल अनि कारबाहीचाहिँ गच्छदारलाई, मुख्यसचिव जोगिने, सचिवमाथि कारबाही हुने भन्दै आक्रोश पोखे । उनले ललिता निवासको लालपुर्जा लिने नेकपाका सहासचिव विष्णुप्रसाद पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । 
 
नेकपाको सरकार पूर्वाग्रही ढंगले अगाडि बढिरहे सरकार ढलाइदिने चेतावनी पनि उनले दिएका छन् । सरकारको लोकतन्त्रविरोधी कदमको प्रतिकार गर्न कांग्रेस एकढिक्का भएर उभिनुपर्ने नेता बस्नेतको भनाइ थियो ।
 
नेपाल विद्यार्थी संघ तदर्थ समितिका अध्यक्ष राजीव ढुंगानाले शुक्रबारबाट सुरु गरिएको सडक संघर्ष उपसभापति गच्छदार जोगाउनका लागि नभएको स्पष्ट पार्दै आफ्ना नेताले मुद्दा लडेर निर्दोष साबित हुने बताए । 
 
देश प्रधानमन्त्रीय पद्धतिमा चल्ने भएकाले  मन्त्रिपरिषदबाट निर्णय गराई लालपुर्जा दिने र लिने निर्दोष हुने, भूमाफियाबाट लेनदेन गरी आठ आना जग्गा लिने विष्णुप्रसाद पौडेल निर्दोष हुने यो कति न्यायसंगत कुरा हो ? उनले प्रश्न गरेका छन् ।  
 
तरुण दलको संयोजनमा आइतबार पनि संघर्ष गरिने अध्यक्ष बस्नेतले बताए । कांग्रेस संघर्षमा उत्रिसकेको बताउँदै आन्दोलनको विश्राम सरकार ढालेरमात्रै गर्ने उनले चेतावनी दिए । आन्दोलनका क्रममा नयाँ बानेश्वरको निषेधाज्ञा तोडिन सक्ने संकेत पनि उनले गरे । 
 
सभामा नेविसंघका नेताहरुले राणा, पञ्चायत र राजतन्त्र ढालेको कांग्रेसलाई वर्तमान सरकार ढाल्न कुनै आइतबार नभएको जिकिर गरे ।