मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्रिकेट रंगशालामा आयोजित महायज्ञमा एकैदिन उठ्यो पाँच करोड

क्रिकेट रंगशालामा आयोजित महायज्ञमा एकैदिन उठ्यो पाँच करोड


चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा आर्थिक सहयोग प्राप्त हुने क्रम बढ्दै गइरहेको छ । 
 
महायज्ञमा बिहीबारमात्रै ५ करोड रुपैयाँ बढी रकम संकलन भएको मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
 
महोत्सवमा जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको सुवेदीले जानकारी दिए । यस्तै, चितवनको पोल्ट्री व्यवसायीहरुको तर्फबाट नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले एक करोड सहयोगको घोषणा गरे ।
 
विष्टले महायज्ञस्थलमा ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै उपलब्ध गराउने बताएका छन् ।
 
यस्तै, चितवनका उद्योग संघले ५१ लाख ७७ हजार २२२ रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष राजु पौडेलले उक्त सहयोग रकम महोत्सवमा हस्तान्तरण गरे । संघले यसअघि पनि १२ लाख रुपैयाँ सहयोग गरेको थियो । 
 
उता चितवनको माडी नगरपालिकाले महोत्सवमार्फत् ३० लाख रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गरेको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।
 
यस्तै, बिहीबार विभिन्न संघसंस्था, आमा समूह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।