मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाअघि नै सम्पन्न हुने

पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाअघि नै सम्पन्न हुने


दमौली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे बताएका छन् ।

१०८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा आजदेखि तनहुँको दमौलीमा सुरु महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले मुलुकको विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको बताए ।

मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताए । काठमाडौँमा  रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले मात्र धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको उनले बताए ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भइसकेको भन्दै मन्त्री भट्टराईले पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अगाडि नै सकिने बताए । निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

दमौलीमा निर्माण गर्न लागिएको बेदव्यासको १०८ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आगामी बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।

नेपाल धार्मिक सहिष्णुता मुलुक भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उनको भनाइ थियो । मन्त्री भट्टराईले पुरानो मौलिक शहर बन्दीपुर, धार्मिक ऐतिहासिक स्थल देवघाट, आदिकविको जन्मस्थल चुँदीरम्घालाई व्यवस्थितरुपमा विकास गर्ने सरकारको सोच रहेको सो अवसरमा जानकारी गराए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले मूर्ति निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिए ।

यही माघ २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा करीब रु पाँच करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुने भए पनि कोषमा रु ५० लाख मात्रै रहेकाले महायज्ञमार्फत बजेट जुटाउने प्रयास गरिएको श्रेष्ठले बताए ।