मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोटिहोम महायज्ञ एक सातामै बन्द, प्रमुख वाचक सम्पर्कविहीन, व्यवसायीहरु मर्कामा

कोटिहोम महायज्ञ एक सातामै बन्द, प्रमुख वाचक सम्पर्कविहीन, व्यवसायीहरु मर्कामा


चितवन- चितवनको नारायणी नदीकिनारमा माघ ११ देखि सुरु भएको ऐतिहासिक कोटिहोम महायज्ञ विवादका बीच शुक्रबारदेखि बन्द भएको छ ।

कोटिहोम महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराज भनिएका विजय भण्डारीबारे मिडियामा आएका ठगीसम्बन्धी नकारात्मक समाचारका कारण सुरुवातमै दाँतमा ढुंगा लागेसरह भएको थियो ।

ठूला अखबार र केही स्थानीय मिडियासँगको शीतयुद्धका कारण अन्ततः महायज्ञ नै रद्द भएको हो । प्रमुख वाचकविरुद्ध मिडियामा आएका समाचारका कारण मूल आयोजक र केही मिडियाको शीतयुद्ध नै चलेको थियो । मिडियाले एकपछि अर्को गरी खेदो खनेपछि महायज्ञ नै रद्द हुन पुगेको हो । 
नेपालमै पहिलोपटक भनिएको कोटिहोम महायज्ञ सुरु हुनुअगावै नकारात्मक समाचार आएपछि विवादित मात्र भएन, महायज्ञको उद्घाटन गर्न चितवन आएका उपराष्ट्रपति नन्दबहादुर पुन उद्घाटनै नगरी फर्किए । जसले गर्दा महायज्ञप्रति विश्वासको संकट उत्पन्न भयो ।

तथापि प्रमुख वाचकमा ईश्वर महाराजलाई नियुक्त गरिए पनि अपेक्षाविपरीत हुन पुग्यो ।

शुक्रबार महायज्ञ आयोजक संस्था भरतपुर २३ स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले एक प्रेस विज्ञप्ति जारी गरी बालयोगेश्वरले झुठा आश्वासन दिएका कारण महायज्ञ सञ्चालन गर्न नै असमर्थ रहेको बताएका हुन् ।

जारी विज्ञप्तिमा आफूहरु महायज्ञको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेकोले महायज्ञ आयोजक समितिबाट अलग भएको उल्लेख गरिएको छ । यस्तै, विज्ञप्तिमा मन्दिर व्यवस्थापन एवं महायज्ञ आयोजक समितिद्वारा चयन गरिएको मूल समारोह समितिलगायत सम्पूर्ण उपसमितिहरु पनि विघटन गरिएको जनाइएको छ ।

भण्डारी सम्पर्कविहीन, व्यवसायी मर्कामा

महायज्ञमा विजय भण्डारी प्रमुख वाचक रहेका थिए । विवाद भएपछि उनी फोनसमेत स्वीच अफ गरी सम्पर्कविहीन भएका छन् । महायज्ञ नै रद्द भएपछि नौतले यज्ञ मण्डप र पण्डाललगायतका टेण्टको जिम्मा लिएको न्यू संगम टेण्ट हाउस मर्कामा परेको छ ।

ठगीको आरोप लगाइएका महाराज भण्डारीले विभिन्न मिति राखी पेश्कीस्वरुप दिएका चेक नै अलपत्र परेको छ । अग्रिम रुपमा चेक काटिए पनि भण्डारीको खातामा रकम नै नभएको टेण्ट हाउसका सञ्चालकको भनाइ छ । महायज्ञ रद्द हुँदा विभिन्न व्यवसायीका कम्तीमा पनि एक करोड रुपैयाँभन्दा बढी नोक्सान हुने भएको छ ।