मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

पञ्चतत्व -बिटु केसी

पञ्चतत्व -बिटु केसी


प्रिय
तिम्रो संकुचितताको सांघुरो खाडलमा
मलाई जबरजस्ती किन धकेल्छौ ?
मेरो हात , खुट्टा
मन र मस्तिष्कलाई
तिम्रो संकीर्ण विचारको डोरीले
बाँध्ने व्यर्थ कसरत नगर
विन्ती !
म उड़न चाहन्छु
बग्न अनि पोखिन चाहन्छु
फैलिन चाहन्छु
आकाश , धर्ती , हावा , पानी र आगो जस्तै
 
फैलिनुको उपमा दिनु परे
तिमी आकाश सम्झिन्छौ होइन र ?
चराचर जगतलाई
आफैमा समाहित पार्दै
सदैव फैलिरहेको
यो धर्ती सम्झिन्छौ होइन र ?
 
तिमी र म भित्र रहेको
यो एक सर्को शास
मात्र हावा न हो
न समाउन सकिन्छ
न बाँध्न नै
देख्दा पनि देखिंदैन कतै
तर पनि
सबलाई अनुभूति गराउँदै
हावा पनि निश्फिक्री फैलिरहेकै छ
होइन र ?
 
आगोलाई हेर
अलिक ध्यान दिएर हेर त
केवल सानो झिल्को नै
ज्वालामुखी बनेर फुट्दछ
भयङ्कर लप्का भएर फैलिन्छ
खै , किन हो मलाई
तातो आगोको रंग
असाध्य मन पर्छ
 
पानी अमृत हो
तिमीलाई थाहा छ ?
यो अमृतले
हाम्रो शरिरको सत्तरी प्रतिशत
भन्दा बढी भाग ओगटेको छ
पृथ्वीका हामी सबै प्राणी भित्रको
पानीलाई मापन गर्ने हो भने
कति हुँदो हो !
कत्रो विशाल माहासागर बन्दो हो !
सोचेको छौ ?
अनुमान गरेको छौ कहिले ?
भैगो
पानीको हिसाब नगर
कठिन हुन्छ
बरु
सजिलै बुझ्न
सागरलाई हेर
समुन्द्रलाई हेर
फैलिरहेकै छ निरन्तर
 
हो
यी नै पञ्चतत्वबाट बनेकी हुँ म
अब भन प्रिय
म कसरी खुम्चिउँ ?