मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शैक्षिक विकासमा समुदायको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति

शैक्षिक विकासमा समुदायको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति


तनहुँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रको विकासका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 
 
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज स्वर्णमहोत्सवमा पूर्व राष्ट्रपति यादवले समुदायको निरन्तर खबरदारी रहे शिक्षा क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरे । 
 
समुदाय, शिक्षक र अभिभावकको हातेमालोबाट शिक्षाको गुणस्तर अभिवृद्धि हुनसक्ने चर्चा गर्दै पूर्वराष्ट्रपति यादवले भने, “पञ्चुमुनीदेव विद्यालय आज यो अवस्थामा आइपुग्न समुदायको ठूलो हात रहेको सुन्न पाउँदा खुशी लागेको छ ।” 
 
देशको शिक्षाको स्थिति राम्रो नरहेको बताउँदै पूर्व राष्ट्रपति यादवले धेरै राजनीतिक परिवर्तन भए पनि शिक्षाको अवस्था भने परिवर्तन हुन नसकेकोमा दुःखेसो गरे । 
 
विद्यालय तथा क्याम्पस धेरै स्थापना भए पनि गुणस्तरीय विद्यालय, क्याम्पसको अत्यन्तै कमी रहेको भन्दै पूर्व राष्ट्रपति यादवले संसारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक रहेकोमा जोड दिए । 
 
प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँदै पूर्वराष्ट्रपति यादवले बालबालिकालाई दुव्र्यसनीबाट बचाएर दक्ष बनाउनुपर्नेमा जोड दिए । अबको युग प्राविधिक शिक्षाको भएको चर्चा गर्दै उनले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउनुपर्नेमा सुझाव दिए ।
 
पूर्वराष्ट्रपति यादवले जनताले छानेको प्रतिनिधिबाट निर्माण भएको नेपालको संविधान लोकतान्त्रिक र गणतान्त्रिक, समावेशी र समानुपातिक रहेको बताए । 
 
संविधानले विधिको शासन स्थापित गरेको बताउँदै उनले वर्तमान जनप्रतिनिधिले संविधानलाई ठिक ढङ्गबाट प्रयोग गरी मुलुकको विकास गर्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । 
 
सो अवसरमा विद्यालयका प्रधानाध्यापक ध्रुव मल्लले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 
विसं २०७४ मा सरकारबाट नमूना विद्यालय घोषणा भएको विद्यालयमा दुई हजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । 
 
विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित जनप्रेमी माध्यमिक विद्यालय प्रथम, आयोजक विद्यालय पञ्चमुनीदेव द्वितीय र कास्कीको गोगन माध्यमिक विद्यालय तृतीय हुन सफल भएको थियो । 
 
विजेताले क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेको छ ।स्वर्णमहोत्सवको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, दौड प्रतियोगिता, विज्ञान प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।