मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’


काठमाडौँ । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे । 
 
भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिए । “कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार छ”, उनले भने । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा सङ्क्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको बताए । 
 
“हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ”, उनले भने ।
 
नेपालको पर्यटन प्रर्वद्धनमा छिमेकी चीनको भूमिका अत्यन्त महत्वपूर्ण छ भन्दै उनले सो मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको बताए । 
 
विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
 
भाइरसको सङ्क्रमण फैलन नदिन सरोकारवालाले पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै उनले भने, “यसलाई रोक्न निजी क्षेत्रको सक्रियता आवश्यक छ ।” 
 
मन्त्री भट्टराईले लुम्बिनी, पशुपति, ठमेल, सौराहलगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अङ्ग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न आग्रह गरे । 
 
सरकारले काठमाडौँ उपत्यकामा कोरोना प्रभावितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्ने व्यवस्था मिलाएको छ । आवश्यकतानुसार सातै प्रदेशका विभिन्न अस्पतालमा यसको उपचार गर्ने व्यवस्था मिलाइने जनाइएको छ । 
 
विभाग र बोर्ड ‘फोकल पोइन्ट’
 
मन्त्रालयले पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई भाइरससम्बन्धी फोकल पोइन्ट तोकेको छ । विभाग र बोर्डले सरोकारवाला निकायसँग समन्वय गर्ने गरी काम गर्नेछन् । “भ्रमण वर्षमा आएका पाहुनामा यससम्बन्धी लक्षण देखियो भने विभाग र बोर्डका अधिकारीले सम्बन्धित क्षेत्रसँग समन्वय गर्नुहोला”, मन्त्री भट्टराईले भने । 
 
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले भाइसरबारे उच्च सतर्कता अपनाउनु जरुरी भए पनि अनावश्यक अड्कलबाजी गरेर भ्रमण वर्षलाई प्रभावित बनाउने काम गर्न नहुनेमा जोड दिएका थिए । 
 
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), होटल एसोसियन अफ नेपाल (हान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्स (नाटा) लगायत निजी क्षेत्रका व्यवसायीको सहभागिता थियो ।