मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसको विश्वभरि त्रास, चीनमा कम्तीमा ८० जनाको मृत्यु

कोरोना भाइरसको विश्वभरि त्रास, चीनमा कम्तीमा ८० जनाको मृत्यु


बेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र २८ सय जना संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
 
संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घन्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनामा यसको संक्रमण हुनसक्ने आशका गरिएको आयोगले जनाएको छ ।
 
कोरोना भाइरसबाट निको भएर एक हजारभन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किए पनि उनीहरुलाई विशेष निगरानीमा राखिएको छ । उक्त संक्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
 
संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ सहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।
 
ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।
 
मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।
 
संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ भने कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।
 
यस संक्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरि नै त्रास फैलिएको छ ।
 
चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाइ छ ।
 
उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका मुख्य लक्षण हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे समस्या हो ।
 
यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरू गर्न लागेको जनाएको छ ।
 
अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मंगलबार प्रस्थान गर्ने जनाएको छ । (रासस/सिन्ह्वा)