मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सभामुख सापकोटा

लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सभामुख सापकोटा


काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गरे । 
 
उनले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिए ।
 
सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन् । 
 
प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएका हुन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएको घोषणा गरेका थिए । 
 
यसैबीच, सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको छ ।