मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको अन्तरिक विवाद मिलाउन छलफल जारी

काँग्रेसको अन्तरिक विवाद मिलाउन छलफल जारी


काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरूले आपसी छलफललाई तीव्रता दिएका छन् ।
 
यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा शुक्रबार बिहानैदेखि छलफल सुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 
 
शीर्ष नेताहरूबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ ।
 
बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिए ।
 
विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए ।
 
साथै यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच भएको छलफलमा शुक्रबार टुङ्गो लगाउने सहमति भएको थियो । 
 
आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरू सिंह र सिटौलालगायत उपस्थित थिए ।
 
काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो । 
 
काँग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित भएका थिए ।