मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमसिसी परियोजना संसदबाटै अनुमोदन हुन्छ : मन्त्री ढकाल

एमसिसी परियोजना संसदबाटै अनुमोदन हुन्छ : मन्त्री ढकाल


डडेल्धुरा । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन हुने दाबी गरेका छन् । 
 
मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसदबाट पास हुने जिकिर गरे । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट पाससमेत हुने उनको दाबी छ । 
 
“एमसिसी परियोजना कुनै सैन्य परियोजना होइन । हातहतियार र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,” उनले भने, “एमसिसी विकास परियोजना हो । नेपालका लागि आवश्यक पनि छ ।” एमसिसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो । 
 
पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भए पनि संसदमा लगिएका विधेयकहरू विधि प्रक्रियाबाटै लगेको जानकारी दिए । संसदमा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकमा केही कमी भए सुधार गरेर पास हुने उनको भनाइ थियो ।
 
यसैबीच, मन्त्री ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गर्दै डाक्टरहरु दुर्गम आउन नमान्ने प्रवृत्तिका कारण जनशक्ति अभाव भएको बताए । 
 
लामो समयसम्म डाक्टर अभाव रहेको अस्पतालमा अब क्रमिकरुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उनको दाबी छ । “डडेल्धुरा अस्पतालको जिम्मा संघले लिएको छ, यद्यपि केही अभावहरु कायम छन्, यो मन्त्रालय हामीले सम्हालेपछि व्यवस्थापन गर्दै जान्छौँ, यी हिजोका अभाव अब हट्दै जान्छन्”, उनले भने । 
 
डाक्टरहरु केन्द्रले पठाए पनि अध्ययन बिदामा बस्ने समस्या देखिएपछि अब कडाइ गरिने उनको भनाइ थियो । 
 
मन्त्री ढकालले अस्पतालको विकास समितिहरुले छिटै पूर्णता पाउने बताए । विगत लामो सयमसम्म डाक्टर अभाव झेल्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि पदपूर्ति नभएको अस्पतालले जनाएको छ । 
 
अस्पतालले विगत लामो समयदेखि दरबन्दीअनुसारका चिकित्सक पाएको छैन ।