मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोटिहोम महायज्ञमा जन्तीभोजसहित विवाह गराइने

कोटिहोम महायज्ञमा जन्तीभोजसहित विवाह गराइने


चितवन । नारायणगढको नारायणी नदी किनारमा आयोजना हुने एक महिने कोटिहोम महायज्ञमा विवाह गर्न इच्छुक युवायुवतीका लागि जन्तीभोजसहित विवाह गराइने भएको छ ।
 
आगामी माघ ११ देखि फागुन ११ गतेसम्म हुने सो कोटिहोम महायज्ञमा पाँच हजार १०० सय रुपैयाँमा नै धूमधामसँग विवाह गरिने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । महायज्ञका मूल वाचक वालयोगेश्वर माहाराजश्रीले महायज्ञ अवधिभर पञ्चेबाजा बजाउँदै जन्तीभोजसहित पाँच हजार १०० रुपैयाँमा नै विवाह गराइने बताए ।
 
विवाह गर्न योग्य उमेर भएका युवायुवतीले विवाह गर्ने इच्छा देखाएमा जन्ती जति आए पनि भोज गराएर सोही शुल्कमा नै महायज्ञकै सवारी साधनमा वरबधुलाई घरमै पु¥याइने वालयोगेश्वरले बताए । महायज्ञस्थलमा लगन हेर्न तथा जुराउन नपर्ने भएकाले वरबधु राजी भएको अवस्थामा विवाह गराइने महाराजश्रीले बताए । 
 
माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा विवाहसँगै सामूहिक ब्रतबन्धसमेत गराइने उनको भनाइ छ । एक महिनासम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट् मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ ।
 
चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।
 
नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए ।
 
उक्त विराट् मासिक ज्ञानमहायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।
 
महायज्ञ अवधिभरमा ३५ हजार दान गर्ने परिवारको एक जना, ६५ हजार दान गर्ने परिवारका दुई जना, ८५ हजार दान गर्ने परिवारका तीन जना र एक लाख रुपैयाँ दान गर्ने परिवारका चार जना सदस्यलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइने महाराजश्रीले बताए ।
 
उनका अनुसार महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञको यज्ञमण्डप निर्माण सकिएर यज्ञ कुण्ड निर्माणको काम भइरहेको छ ।