राजनीति / समाज

विप्लव समूहको गतिविधिले प्रतिबन्धलाई पुष्टि गर्‍यो : प्रवक्ता बाँस्कोटा

258 पटक पढिएको

16th Jan 2020, Thursday | २०७६ माघ २, बिहीवार ०७:१५
काठमाडौँ । विप्लव समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो ।
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए । 
 
“लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्य नै भनेका हौँ, विप्लव समूहको गतिविधि आतङ्ककारी क्रियाकलाप हो”, उनले भने, “लुकेर, छिपेर हमला गर्ने गतिविधि आतङ्ककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।” 
 
विप्लव समूहले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया  र विधिद्वारा समस्याको निरुपण गरिने बताए । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उल्लेख गर्दै उनले सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै हल्ला फैलाएर शक्तिशाली देखिन विप्लब समूहले सो हर्कत गरेको बताए । 
 
“विप्लवले कब्जा गरेर जग्गा कब्जा हुँदैन । नेपाल सरकार आफैँले ललिता निवासको जग्गाको सम्बन्धमा छानबिन चलाइरहेको छ । त्यो अरु कसैले भनेर होइन, जग्गा हिनामिना भएको छ भन्ने सरकार आफैँले थाहा पाएपछि छानबिन गरेको हो”, उनले भने, “त्यो जग्गा जसले जे भने पनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यो जग्गाको वास्तविकता पत्ता लगाउँछौँ, सरकारी जग्गा व्यक्तिलाई दिन सकिँदैन ।” 
 
विप्लव समूहलाई शान्तिपूर्ण प्रक्रियामा आउन सरकारले पटकपटक आग्रह गरेको उल्लेख गर्दै उनले विप्लव समूहको केही व्यक्ति सो समूह परित्याग गरेर विभिन्न दल प्रवेश गरिसकेकाले शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न अनुरोध गरे । 
 
“उहाँहरु (विप्लव समूह) सरकारले आरोप लगायो भन्नुहुन्छ, सरकारले यहाँयहाँ आक्रमण गर त भनेको छैन नि ! उहाँहरुले टेलिफोनको टावर ध्वस्त बनाउनुभएको छ । यो त जनताको सम्पत्ति हो । एक÷एक पैसा तिरेर देशले बनाएको हुन्छ”, उनले प्रश्न गर्दै भने, “त्यो त सरकारको सम्पत्ति होइन नि, जनताको सम्पत्ति हो नि ! जनताको सम्पत्तिमाथि किन खेलबाड गर्नुपर्‍यो ?”
 
‘रावलको ज्यान सुरक्षित छ’
 
प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उनीमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका छन् । 
 
“विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन”, उनले भने, “यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।”
 
“रावल नेकपाकै नेता हुनुहुन्छ, उहाँको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ । पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्”, उनले भने, “उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटारबाट धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।”