विचार / ब्लग

नत संस्कृती रह्यो नत सन्तती नै रह्यो

1410 पटक पढिएको

बलायर “प्रत्याशी”

बलायर “प्रत्याशी” | 16th Jan 2020, Thursday | २०७६ माघ २, बिहीवार ०७:१४
सन २०१९ को जुलाई १४ तारिखको दिन नेपाली मन्दिर टेक्सासमा वालबालिका र अविभावकले परिसर भरिभराउ थियो । भिडभाडलाई ब्यवस्थित गर्न र गाडीको पार्किङ ब्यवस्थापन गर्न आयोजकहरुलाई हम्मे हम्मे परि रहेको देखिन्थ्यो । यसको लागि स्वयमसेवकहरुले बेला बेलामा माईकको साहरा लिएको पाईन्थ्यो ।  दिउँसो १२ बजेको भगवान शिवको आरती हुने समय भन्दा करीव १५ मिनेट अगाडी एउटा छोटो कद भएका ब्यक्ती मन्दिर भित्र प्रवेश गरे । 
 
नमस्ते गर्नेको भिड र निधार झुकाएर नेपाली पारामा ढोग्नेको बिचमा कुर्ता सुरुवाल लगाएका छोटोकदका ब्यक्ती तिनै डा. चिन्तामणी योगी रहेछन जो पछि परिचयको क्रममा खुल्यो । उनीले नेपाल देखि टेक्सास सम्मको यात्रा हरेक वर्ष गर्दै आएका छन । उनको यस यात्राको उद्देश्य नै नेपालीमूलका प्रवासमा हुर्केका नानीबाबुहरुलाई नेपालसंग जोड्नका लागी हरेक वर्ष करिव दुई हप्ता समरक्याम कार्यक्रमलाई सहारा बनाइ रहेका छन् । जसलाई नेपाली समुदायको ठूलो साथ र सहयोग रहन गएकोछ । 
 
दुई हप्ताको समरक्याम्पको छोटो अवधीमा नानीबाबुलाई नेपालसंग पुरै जोड्न त के सकिन्थ्यो र ? तर पनि उनीहरुका भावनालाई नेपालआमा प्रेमी बनाउन र नेपाल बारे जान्ने उत्प्रेरणा जगाउन नेपालको ईतिहास, भूगोल, घर्म, संस्कृति, भाषा, कला, नृत्य-संगीतका साथै ध्यान तथा योगाभ्यासका बिषयबस्तु समाबेश भएको समष्टिगत प्याकेजको कार्यक्रम नेपाली समाजले पस्कदै आएकोछ ।    
 
नेपालीहरुले चासोका साथ लिएको र मनै देखि सहयोग गरेकोले होला हरेक वर्ष २०० जना भन्दा बढी बालबालीकाहरुले क्याम्पबाट दिक्षा लिई रहेका छन । निर्दिष्ट दैनिक क्रियाकलापका संगै नानीबाबुहरु अगाडीका गलैंचामा बसेर सहभागीता देखाई रहेका हुन्छन भने पछाडीका गलैचामा नेपालबाट आउनु भएका उनीहरुका अविभावक बुवा आमा हजुरबा हजुरआमा नियालेर हेरि रहेका हुन्छन । जसमा १०-१५ जना पाका हजुरआमाहरु आफ्ना नातिनातीनाहरुका कृयाकलाप हेर्ने, समय समयमा नेपाली भजन, गीतमा साथ दिने जस्ता क्रियाकलापले नानीबाबुहरु पनि उत्साहित भैरहेका हुन्छन ।       
  
गत वर्षको क्याम्पको तेस्रो दिन बालबालीकाहरु दिउँसो बाह्र बजेको खाना खाई रहेका थिए । एकजना करिव सत्तरी वर्षको हाराहारीको हजुरआमा म नजिकै आएर बाबु ! बाबु ! भनेर बोलाउनु भयो । मैले हजुर भन्दै आमालाई सम्बोधन फर्काउदै खाना खानु भयो भनि सोधे । आमाले मत बाहिरको खाना खान्न बाबु केही बेर पछि फलफुल खाउला भन्नु भयो । 
 
यति कुरा भैसके पछि पनि हजुरआमा त्यही नै उभि राख्नु भयो । मैले आमा केही थियो कि भनि फेरी सोधे । आमाले औला तेर्स्याउदै परको नानीलाई देखाउदै भन्नु भयो - “यी नानी मेरो छेउमा आएर खाली रोएर मात्र बसि रहेकी छिन, केही खान पनि मान्दैनन । मैलै जवरजस्ती दुई गाँस फकाएर खुवाए । खानै मान्दैनन । खाली मलाई अगालो हालेर रोई रहन्छिन भन्नु भयो” । 
 
 म र आमा उनी भए नजिकै गयौ । ति अबोध करिव सात बर्षे नानी थिईन । मैले नाम सोधे । उनले नेपाली मै श्रृजना भनि जवाफ दिईन । कति ज्ञानी छोरी रहेछौ के के खायौ छोरी ?  प्रश्न सोधेको मात्र के थिए फेरी तिनै हजुरआमाको साडीको फेर सामातेर रुन थालिन । मैले किन रोएको नानु ? “ग्य्रान्ड मा” को माया लाग्यो भनि अंग्रेजी नेपाली मिस्यार बोले । जसले उनलाइ सम्झन सजिलो बनाएछ । उनले टाउको हल्लाइन । मैलै फेरी “होयर ईज ईओर ग्य्राण्डमा” नानु ? भनि सोधे उनले नेपाल भनि बरर आँशु झारिन र भनिन “सी ईज लाईक हर” भन्दै तिनै हजुरआमालाई देखाइन । नभन्दै हजुरआमा देखेर झनै भाबुक बन्दै उनैले खुवाए मात्र खाना खाने भईन ।   
 
यो एक बाध्यता र परिस्थितिले जन्माएको परीवेसको परिणाम आफ्नै आँखा अगाडी छछल्किदा मेरो पनि मन रुन थाल्यो  । जसलाई मैलै स्वीकार गर्नु भन्दा अर्को बिकल्प थिएन । जसबाट मेरा न भित्रका सम्बेदनाका तरंगहरुले पुरै दिमाग नै तरङ्गित बनाई सोच्न बाध्य गरायो । 
 
जसबाट म पनि एकाएक त्यो जन्मेको हुर्केको गाउँ र तिनै फाँटलाई सम्झन पुगेछु । मात्र फरक यति थियो कि श्रृजना नानीले टाढाको हजुरआमालाई सधै सम्झे जस्तै मैले मेरो गाँउ र देश सम्झे । यहाँ केहीलाई अझै दिवाभ्रम हुन सक्छ । पराई देशमा सुख सयलमा बितेका दिनले जन्मभूमीलाई बिर्साई रहेकोछ भन्ने । धैरैले आरोप सहनु परेको छ श्रृजनाले हजुरआमालाई माया गर्दिनन भन्ने भ्रम जस्तै । तर यी अबोध नानीहरुको भित्री पिडा र उनहरुको अपार मायासंग यो दुनीयाँमा कुनै पनि मूल्य भेटाउन सकिदैन । 
 
यसै बिच साथीसंग श्रृजना नानीको घट्ना र पराईभूमी रहेका यस्तै तमाम नानीहरुलाई जडनको काम गरि नेपालसंग हाम्रो सामिप्यता महसुस गराउन नेपाली पाठशाला र समर क्याम्पका क्रियाकलाप र नेपालीहरुले दुःख गरेरे प्रवासमा बनाएका पशुपतीनाथ, बुध्द आदि भगवानका मन्दिरहरु आफैमा एक महान थालनी भन्दै छलफल गरयौ । यसै समयमा पर टाढाको गलैचाबाट उनै हजुरआमाले पुलुक्क ती श्रृजना नानीलाई हाँस्दै हेर्नु भयो । श्रृजनाले पनि मुस्कुक्क मुस्काई दिईन । उनीहरु माझको सामिप्यताको गहिराई झनै बढेको देखिन्थ्यो । 
 
यो समिप्यता भन्ने चिजको पनि एक आफ्नै स्वरुप हुँदो रहेछ । जसले बाल मस्तिस्कमा ठुलो असर पार्छ भन्ने ज्ञान मनोबैज्ञानिक बल्वे (Bowlby) को अनुसन्धानमा पढेको थिए तर आज यहाँ पुरै देखियो । वालबालिका कस्तो परिवेशमा हुर्केका छन, त्यसैको नतिजावाट उनीहरुमा आफु भित्रको “म” र सामाजिक, सम्बेगात्मक, मानसिक पक्षहरुको विकास हुन जाने हुन्छ  भन्ने उनको ठहरलाई मैलै एक किसिमले यहाँ महसुस गरे । 
 
यो श्रृजनामा घटेको एक सानो घट्ना मात्रै होईन । हामी नेपालबाट बिदेश होस वा गाँउबाट शहर पस्दा हजारौ श्रृजनाहरुले भोगेको पिडा हो । नानीहरुले सबैभन्दा माया गर्ने हजुरवा हजुरआमासंगको बिछोडको बेदना हो । 
 
मेरो प्रश्नको मैलै जवाफ खोज्न थाले र उनै मनोबैज्ञानिक बल्वे (Bowlby) को  अनुसन्धान तिर फेरी फर्कै जसमा उनले यदि वालबालिकाहरु समाजमा धुलमिल नहुने, अस्थिर ब्यबहार र भावना देखाउने, अरुसंग अन्तरक्रिया गर्न नमान्ने, भनेको नटेर्ने लगाएतका समस्याको जड नै वाल उमेरमा हुर्कदा नजिकको व्यक्तीसंग हुनु पर्ने भावनात्मक सह-सम्वन्धको भूमिका हुन्छ भन्ने भनाई श्रृजनाको कठिन हुर्काई विचको बेमेलले मन बेचैन भयो । श्रृजनाको लागि उनको नेपालमा रहेकी हजुरआमा वालसखा थिईन जो संग उनले आफु सधै सुरक्षित र आनन्दित महसुस गर्थिन तर अहिले उनी यसबाट बन्चित भएको परिस्थीतीले मन दुख्यो । 
 
आज उनीसंग आईप्याड, धेरै खेलौना, मिठा मिठा परिकार छन तर उनको नजिकको नाता जो संग प्रारम्भिक समय बिताईन, त्यो छैन । यस किसिमको बिछोड र छुटाईको छटपटीबाट उनिहरुमा असिमित कुन्ठा र पिडाहरु भएको मैलै एक बालक भित्र सजिलै पढ्ने अवसर पाए । 
 
हामीले प्रवासमा धेरै चाहेर पनि गर्न सक्दैनौ । तर हाम्रा धेरै श्रृजनाहरु जो यस किसिमको  परिस्थितीबाट हुर्कन बाध्य छन, तिनीहरुलाई नेपालमा रहेका हजुरआमा र हजुरबा संग जोड्ने प्रयास गराउनु सक्नु पर्छ । नेपाल आमासंग जोड्न सक्नु पर्छ । जसमा केवल नानीबाबुलाई नेपाली  भाषा, कला, संस्कृति सिकाई दिएर दिनको दश पन्ध्र मिनेट नेपालमा रहेका हजुरबा, हजुरआमासंग कुरा गराउन सकेको खण्डमा पुरा हुन सक्छ भन्ने ज्ञान श्रृजनाले दिईन। यहाँ कयौले स-साना घरासी सामान्य समस्याका कारणले यो काम गर्न सकि रहेके देखिदैन भने कसैले यसलाई बुझेर पनि आवस्यकता ठानेको देखिदैनन । अचानोको पिडा खुकुरीलाई हुदैन भने झै यस किसिमको पिडाको मारमा हाम्रा धेरै श्रृजना परेका छन । यस पिडा भित्र श्रृजनाको पिडा लुकेको देखिन्छ त्यो स्वयमका बुबा आमाका कारणले श्रृजीत पिडा रहेछ ।
 
संयोगवस केही दिन पछि श्रृजनाका बुवासंग कुरा गर्ने मौका मिल्यो । यहाँ दोस श्रृजनाको  केही छैन । कलिलो पाँच वर्षको उमेरमा नेपालवाट प्रवास पुरयाउने बामा-आमा नै दोसी रहेछन । झनै ति हजुरआमा जसले श्रृजनाको मायालाई सम्हाल्नका लागि उनको वालकालमा साथै हुनु पर्थ्यो नभए कमसे कम हरेक दिन मेसेन्जरको लाईभमा भए पनि कुरा गर्नु सक्नु पर्थ्यो । त्यो नभएको करिव एक बर्ष भैसकेको रहेछ । श्रृजनाकी आमाले अमेरीका आएपछि नेपालमा रहेकी हजुरआमासंग घरायसी चिसोपनले बोलचाल बन्द गरेको रहिछिन । यसको प्रभावबाट एक वालिकाले आफ्नो वाल्यकालको सहयोगी नजिकको साथी हजुरआमासंगको सम्वन्धबाट टाढीनु परेको रहेछ । 
 
त्यो सानो बालमस्तिस्कलाई के थाहा घरको कुरा । उनले त हजुरआमाको स्वरुप पनि भुल्न थाली सकेकी थिईन । उनलाई पाको उमेरका सबै आफ्ना हजुर आमाका जस्तै आकृतिका लाग्छ रे । बुझ्नु पर्ने उनका आमा-बुवाले हो । तर निर्दयीता भनौ बा अबुझ बनेको अविभावकत्वका सामु के नै लाग्दो रहेछ र ?  श्रृजनालाई वाल्यकालमा तोतेबोली सिकाउने, खुवाउने हजुरआमा मात्र सपनामा सिमित हुन पुगेकी छिन । सपनामा पनि कहिले सम्म देखिने हो उनको तस्वीर ? 
 
यो एक काल्पनिक नभएर वास्तविक परिदृश्य हो । यो प्रवास भित्र नेपालआमाको माया खोज्नेहरुको भविस्यसंग गाँसिएको चुनौती हो । जसलाई नेपाल  सरकार र गैरआवासीय नेपाली संधले समय मै सचेता अपनाउनु जरुरी छ ।
 
नेपालका केही उपबुज्रुक गलत राष्ट्रवादी नायकको प्रवास प्रतीको हेराई र यसरी नै नेपालसंगको सम्बन्ध टुटाउदै लैजाने श्रृजनाका बुवाआमाहरुको सोचाइबाट भोलीका दिनमा नेपालसंगको नाताको सहजै अडकल लगाउन सकिन्छ । 
 
नेपालआमाका खातिर, नेपाली बंश र रगतका खातिर अनि विश्वमाझमा हाम्रो पहिचानको लागी नेपालसंग भावी-पुस्तालाई जोडौ । उग्रराष्ट्रवादको खोलवाट निस्केर आफ्ना भाईभैनी र नेपालआमाका सन्ततीलाई माया गरौ । हैन भने जडन टुट्दै गएमा, मनमुटु दुख्दै गएमा  हाम्रो भाविपुस्ता नेपालबाट झनै टाढीनेछ जसमा दोशी अहिलेको पुस्ता हुनेछ । साथै यदी हामीले हाम्रा नानीबाबुहरुलाई नेपाली भाषा, कला, संस्कृती आदीसंग जोड्न सकेनौ र नेपालमा रहेका अग्रजसंग उनीहरुलाई मिस्याउन सकेनौ भने भोलीका दिनमा यी नानीहरुमा नत नेपाली संस्कार र संस्कृति देख्नेछौ नत यीनीहरु नेपाली सन्तती रहनेछन । एक दिन हामी पछुताउदै भन्ने छौ कि नत संस्कृती रह्यो नत सन्तती नै ।