राजनीति / समाज

उपसभामुखले राजीनामा दिनुपर्छ : प्रवक्ता श्रेष्ठ

183 पटक पढिएको

14th Jan 2020, Tuesday | २०७६ पुष २९, मंगलवार ०७:१५
लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । 
 
आज बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 
 
उनले भने, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।” 
 
संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उनले बताए । उनले भने, “उनले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ ।’’ 
 
फरक प्रसङ्गमा उनले भने, “नेपाल र भारतबीच अहिले पश्चिममा सीमा विवाद रहेको छ, त्यो लामो समयदेखिको विवाद नै हो । नेपालले आफ्नो राष्ट्रिय सार्वभौम भौगोलिक अखण्डताको पक्षमा अडान राख्दै आएको छ ।” 
 
उनले वर्तमान सरकारले पहिलोेपटक लिम्पियाधुरासहित कालापानी र लिपुलेक पनि हाम्रो भूभाग हो भनेर राज्य र सरकारका तर्फबाट आधिकारिक धारणा प्रस्तुत गरेको बताए ।