मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती भव्यरुपमा मनाइँदै

पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती भव्यरुपमा मनाइँदै


काठमाडौँ । राष्ट्रनिर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा आज पुस २७ गते आइतबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । 
 
सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी भई राष्ट्रनिर्माताको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिएको छ । 
 
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा फैलिएका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । 
 
तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तित्वका रुपमा उनको सर्वत्र प्रशंसा हुँदैआएको छ । 
 
पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी नेताहरुबाटै उनको योगदानको मुक्तकण्ठले सराहना भएको छ । नेपाली सेनाले पनि सैनिक मुख्यालय जंगी अड्डामा अवस्थित राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरी स्मरण गरेको छ । 
 
मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घूस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्रनिर्माताको धारणा सदासर्वदा स्मरणयोग्य रहिआएको छ । राष्ट्रनिर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न पछिल्लो समय प्रखररुपमा आवाज मुुखरित हुँदै आएको छ । 
 
नेपाल एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न र स्वतन्त्र राष्ट्रकै रूपमा नेपाल रहन सम्भव नरहेको भनी विश्लेषण गरिँदै आएको छ । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुुलिस क्लब प्रदर्शनी मार्गमा आइतबार दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ । 
 
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा गोरखाको चारवटै स्थानीय तह र नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । यद्यपि सरकारले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरी अन्याय गर्दै आएको छ । 
 
शाहको देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्ने आयोजना गरेका छन् । 
 
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका अध्यक्ष कुशबहादुर डंगोल भन्छन्, ‘विसं १७७९ मा पुस २७ का दिन पिता राजा नरभूपाल शाह र माता कौशल्यावतीका प्रथम पुत्र पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोर्नुभएको हो’, उनले भने, ‘नेपाल एकीकरणको मुहान मानिएको नुवाकोटका नागरिकले आधुनिक नेपालको जन्मदाता एवं राष्ट्रिय एकताका प्रतिकका रुपमा खासगरी पृथ्वीनारायण शाहलाई सधैँ श्रद्धा, सद्भाव र सम्मान दिने गर्दछन् । एकीकरण अभियान थालनी भएको नुवाकोट ऐतिहासिक दृष्टिले नेपालको दोस्रो राजधानी, पृथ्वीनारायण शाहद्वारा दिव्योपदेश जारी भएको थलो र उनले देहत्याग गरेको भूमि भएका कारण पनि उहाँको मूल्यांकन अन्यत्रभन्दा नुवाकोटमा बढी हुने गरेको छ ।’
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुंक्त)का केन्द्रीय उच्चस्तरीय कार्य समितिका सदस्य झनक प्याकुरेल भन्छन्, ‘नेपाल एकीकरणसँगै यहाँ भित्रिएको मुस्लिमसहितका हिन्दू धर्मावलम्बीको बसोबास, ठकुरी, मगर, नेवार, कुमाल, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायण शाहकै कारण फैलिएको नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ ।’
 
नेकपा माले नुवाकोट प्रमुख कृष्णहरि गजुरेल भन्छन्, ‘नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायणको स्मरणमा २००७ सालपछि एकता दिवस मनाउन थालिएको थियो, तर ६२/६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन ।’
 
उनी भन्छन्, ‘लामो समयदेखि राष्ट्रियस्तरबाट र केही वर्षदेखि जनस्तरबाट मात्र पुस २७ गते मनाइँदै आएको ‘राष्ट्रिय एकता दिवस’का बारेमा नेपालीले विभिन्न तर्कवितर्क गर्दै आइरहेका छन् । तर यसको सुनुवाइ भने सरकारबाट हुनसकेको छैन यो कति अपमानजनक रहेको छ ।’
 
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित भन्छन्, ‘पृथ्वीनारायण शाहले बाइसे र चौबीसे राज्यलाई एकीकरण गरेर बृहत् नेपाल बनाउनुभएको थियो । उहाँको यो योगदानलाई भुल्न नहुने भनेर नै हामीले पृथ्वीजयन्तीका दिन विदुर नगरपालिकाभरि सावर्जनिक बिदा दिएका हौँ ।’
 
तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिएको उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकाले उनको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्छ भन्ने आभास सम्पूर्ण नेपालीमा हुनुपर्ने उनले बताए । 
 
त्यस्तै नुवाकोट साहित्य प्रतिष्ठानका सल्हाकार श्रीराम श्रेष्ठ भन्छन्, ‘पृथ्वीनारायण शाहको बाटो बिराएकै कारण पूर्वमा टिष्टा, पश्चिमकिल्ला काँगडा, दक्षिणमा गंगा नदीसम्म फैलिएको नेपाल ब्रिटिस–इण्डियासँग भएको सुगौली सन्धिपश्चात् निकै खुम्चिएको छ ।’ 
 
उनी थप्छन्, ‘खुला सिमाना रहेको भारतले नेपालको सीमा अतिक्रमण र नेपालमा भारतीयकरणको अभियान जारी रहेको छ । जुन कुरा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सोच्नुभएको र चाहनुभएको थिएन । पृथ्वीनारायण शाहको दिव्योपदेशमा जेजे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कूटनीतिका नाममा गरिरहेका छन् । यो नै राष्ट्रिय दुर्भाग्य हो ।’
 
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अपमान गर्नु, भुल्नु एउटा गम्भीर ऐतिहासिक भूल भएको उनको ठहर छ । नुवाकोटमा गोर्खालीको कब्जा भएकाले नुवाकोटका सिपाही भागी बेलकोटमा अड्डा जमाइ बसेकाले कालु पाँडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी शाहले बेलकोटमा हमला गर्नुभयो र जयन्त राना यहाँ पक्राउ परेको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । 
 
त्यस्तै, विदुर–५ पिपल्टारका समाजसेवी उद्धव पनेरु भन्छन्, ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर चार वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नुभयो । नुवाकोट र बेलकोटको विजयपछि गोरखालीले अन्य अरु ठाउँमा विजय प्राप्त गरेको इतिहास पढ्न पाइन्छ । यस्ता राष्ट्रका अभिभावक पृथ्वीनारायण शाहलाई हामी युवाले भावी सन्ततिलाई उहाँको ऐतिहासिक धरोहरलाई सम्झाउनुपर्छ भुल्न दिनुहुँदैन ।’ 
 
उनी भन्छन्, ‘राजा शाहले एकीकरणकालदेखि सुुरु नुवाकोटको सांस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन, ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, देवीघाटको जाल्पा माई, वन्देवी, नुवाकोट भैरवी, दुप्चेश्वर महादेव, बेत्रावती धामलगायत गुम्बा, नुवाकोटका नौ वटा ऐतिहासिक कोट र नुवाकोटको साततले दरबारलगायतका अनेकौँ साक्षी प्रमाणले शाहको पौरख र अस्तित्वलाई हामी सबै नुवाकोट र देशैभरिका जनताले सम्झिने गर्दछन् ।’