मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एमसीसी विरोध गर्नेबाट सचेत होऔँ

एमसीसी विरोध गर्नेबाट सचेत होऔँ


जनस्तरमा रहेको सम्बन्ध, लगानी तथा व्यापार, आपसी सहयोगलगायतका पक्षहरुबाट दुई देशबीचको कूटनीतिक सम्बन्धका आधार तयार गरिन्छ । यस आधारमा हेर्दा नेपालले अमेरिकासँग अति राम्रो कूटनीतिक सम्बन्ध बनाइराख्न प्राथमिकता दिनुपर्ने हो । यसमा केही तथ्यहरु मनन गरी अमेरिका भारतबाहेक सबैभन्दा बढी नेपाली समुदाय स्थायी रुपमा बसोवास गरेको देश हो । अमेरिकाबाट नेपालले सवैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्छ । राष्ट्र बैंकका अनुसार अमेरिकाबाट वार्षिक १७० अर्ब रुपैयाँभन्दा बढी नेपालले रेमिट्यान्स भित्राएको छ । व्यापार, पर्यटक आगमन, आर्थिक सहयोग दृष्टिले पनि अमेरिका नेपालका लागि महत्वपूर्ण छ । नेपाली विद्यार्थीले आफ्नो कलेजलाई निरन्तरता दिन सबैभन्दा रुचाइएको देश पनि अमेरिका हो । नेपाली समुदायले अमेरिकामा झण्डै २०० अर्ब रुपैयाँ लगानी गरेका छन् । यो नेपालबाट ल्याएर होइन यही आर्जन गरेर धनी भएका हुन् ।
 
यो यथार्थलाई जिम्मेवार राजनीतिक नेतृत्वले पनि राम्रोसँग बुझ्नुपर्ने थियो । तर, यसलाई भुलेर अमेरिकासँग व्यवहार गर्दा नेपालका कतिपय जिम्मेवार व्यक्तिहरुले सस्तो लोकप्रियताका आधारमा धारणा बनाउने र सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । अमेरिका समाज्यवादी देश हो, विश्वभर यसको दादागिरी छ, भन्ने गलत मानसिकताले नेपालका कतिपय व्यक्तिहरु ग्रसित छन् । अमेरिका विश्वकै शक्तिशाली देश हो, विश्वका प्रत्येक मुद्दामा अमेरिका संलग्न हुन्छ । यसले नेपाललाई के फरक पारेको छ र ? अमेरिकाले नेपालको सिमाना मिचेको छैन । नेपालीलाई दुःख दिएको छैन । बरु समस्या परेका नेपाललाई चाहिएको सहयोग गरेकै छ । अमेरिका आउने नेपालीले आफ्नो योग्यताअनुसार काम गरेर बसेका छन् । कैयौंले लगानी गरेर कमाएका छन् ।
 
अमेरिकासँग सम्बन्ध राख्दा चीन रिसाउँछ, वा भारतले आपत्ति जनाउँछ भन्ने आधारमा हेरिनु हुन्न । छिमेकी देश चीन र भारत नेपालका लागि जति महत्वपूर्ण छन्, अमेरिका पनि नेपालका लागि त्योभन्दा कम महत्वपूर्ण छैन । बरु चीन र भारतले आफना स्वार्थका आधारमा नेपालसँग सम्बन्ध राखेका छन् । कालापानीमा भारतीय सैनिकले राज गरेका छन् । चीनले दलाई लामालाई समेत नेपाल आउन दिइरहेको छैन । दुवैको नेपालसँग सुरक्षा चासो छ । यो स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप होइन, बरु चीन र भारतले हामीलाई दुःख दिँदा अमेरिका सहयोगी बन्न सक्छ ।
 
के नेपाल अमेरिकाबीचको सम्बन्ध यसअनुसार छ त ? कूटनीतिक भाषामा नेपाल अमेरिका राम्रो सम्बन्ध छ भनिए पनि यर्थाथ यस्तो छैन । जनस्तरमा र सेनाबीच दुई देशको सम्बन्धमा कुनै समस्या छैन  । तर, सरकारले यसअनुसार अमेरिकासँग सम्बन्ध राख्न सकेको छैन । नेपालका केही राजनीतिक नेताहरुले त सस्तो लोकप्रियता र चीन र भारतको प्रभावमा परेर अमेरिकाको विरोध गरेका छन्  । नेपालको स्वतन्त्र अस्तित्व र राष्ट्रियताको हुर्मत लिएका छन् । हाल सरकारी तहमा दुई देशबीचको सम्बन्ध चिसो छ । पछिल्लोपटक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत् नेपाललाई प्राप्त भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोगमा लफडा गरिएको छ । एमसीसीमा लफडा गर्नेहरु नेपालीलाई सधैँ गरिब बनाउने मानसिकताबाट प्रभावित भएका हुन् । विकासविरोधी हुन् । एमसीसीमा लफडा भइरहँदा अमेरिकाबाट सहयोगस्वरुप नेपाली सेनाले दुई स्काई ट्रक जहाज प्राप्त गर्यो । अमेरिका र नेपाली राजदूत र सैनिक अधिकारीले उक्त जहाजमा बसेर फोटो खिचे । सेना स्तरमा नेपाल र अमेरिकाबीच राम्रो सम्बन्ध छ । दुई देशका बीचका सेनाको जावतजावत बाक्लो छ । यहाँ कुनै विरोध छैन । तर, विकासका लागि आएको सहयोगमा किन विरोध ? अहिले विकास कार्यका लागि आएको सहयोगमा अनावश्यक कुतर्क गरिएको छ ।
 
विसं २००७ सालदेखि नै अमेरिकाले नेपाललाई सहयोग गर्न थालेको हो । तराईमा मलेरिया नियन्त्रण अमेरिकी सहयोगकै देन हो । नेपालको कृषि आधुनिकीकरणमा अमेरिकी सहयोगको देन छ । शिक्षा, पूर्वाधार निर्माणदेखि स्वास्थ्य क्षेत्रमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको छ । यो यथार्थ हुँदाहुँदै एमसीसीमा के को कोलोहालो ? एमसीसीमा यस्ता शर्त छन्, जसले गर्दा यो पैसामा अनियमितता गर्ने ठाउँहरु निकै कम छन् । यो सहयोगबाट निजी फाइदा लिन सकिँदैन । तर, देशमा राम्रो पूर्वाधार बन्छ । यसले गर्दा पनि कतिपयले यो सहयोगको विरोध गरेको हुनसक्छ । एमसीसीलाई कतिपयले इन्डो प्यासेफिक रणनीतिकअन्तर्गत आएको सहयोग हो भन्दै विरोध गरेका छन् । अमेरिका अधिकारीका अनुसार यो सहयोग इन्डो प्यासेफिक रणनीतिकअन्तर्गत नै हो ।  यसमा नेपाललाई के समस्यो भयो त ? नेपाल चीनको बीआरआईमा जान हुने, काम न काजको सार्क, बिमिस्टेकमा बस्न हुने, अमेरिकाको इन्डो प्यासेफिक रणनीतिक स्वीकार्न किन नहुने ? यसले नेपालको राष्ट्रियता कहाँ संकटमा पर्छ ? चीनले सगरमाथा हाम्रो होभन्दा राष्ट्रियता संकटमा परेन, भारतले नेपाली भूमिमा सेनाको व्यारेक राख्दा राष्ट्रियता संकटमा परेन । तर, इन्डो–प्यासेफिक रणनीति स्वीकार्दा राष्ट्रियता संकटमा पर्छ भन्नु आफैँमा हाँस्यास्पद कुरा हो । 
 
कुतर्क गरेर आमनेपालीलाई चीन र भारतको स्वार्थमा प्रयोग गर्न खोजिएकोमात्र हो । चीन र भारतवाट निजी स्वार्थ पाइरहेकाले यस्ता तर्क गरेका हुन् । हुन त बेला बेलामा चीन र भारतको सित्तैमा भ्रमण, आफ्ना छोराछोरी, नातेदार र आसेपासेलाई निःशुल्क छात्रवृत्ति पाउनेलगायत निजी फाइदा लिएकाले विरोध गर्नु स्वाभाविक हो । अमेरिकाको विरोध गर्दा खाएको नुनको सोझो होला । चीन र भारतबाट कुन नेताले कसरी निजी फाइदा लिए, लिएका छन् । राष्ट्रपतिदेखि तलसम्म अध्ययन गरौँ, जनतासमक्ष सार्वजनिक गरौँ अनि खुलस्त हुन्छ । अहिले एमसीसी विरोध गर्नेबाट सचेत हुनैपर्छ । उनीहरु राष्ट्रघाती हुन् । तस्बिर : सामाजिक सञ्जाल