विचार / ब्लग

स्वस्थानी व्रतकथा र साक्षरताको मापक

480 पटक पढिएको

– रामचन्द्र भट्ट

हिमालयखबर | 11th Jan 2020, Saturday | २०७६ पुष २६, शनिबार १५:०३
हिजोदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु भएको छ । मातृभूमि नेपालमा मात्र होइन, संसारका सबै कुना जहाँ नेपाली पुगेका छन् उनीहरुसँगै स्वस्थानीको किताब पुगेको छ । स्वस्थानी किताबसँगै कथा वाचन र श्रवण पनि पुगेको छ । 
 
स्वस्थानीको व्रतकथा घरमा कहिलेदेखि वाचन गर्न सुरु गरियो भनेर ठ्याक्कै याद भने छैन । पहिलोचोटी स्वस्थानीको कथा सुन्दा भने ६ वर्ष जति उमेरको थिएँ होला । भान्दाईको घरमा बास बस्ने गरि जाँदा स्वस्थानी सुन्न जाने भन्दै राती ८ बजे अँध्यारोमा ५ मिनेट हिँडाएर औलेनी टंकप्रसाद न्यौपानेको घरमा लगेको हल्का याद छ ।
 
त्यहाँ झण्डै एक घण्टासम्म सबै जना एकाग्र भएर स्वस्थानी सुने । तर मेरो दिमागमा टंकप्रसाद न्यौपानेले वाचन गरेको एकशव्द पनि घुसेन । ‘स्वस्थानी भनेको हामी भुराभुरीले नबुझ्ने कुरा रहेछ’ भन्ने दिमागले ठान्यो । अर्कोतिर प्रसादका लागि भनेर ताछिएको उखु र बदामतिर मात्र ध्यान थियो मेरो र भान्दाईको । 
 
‘कथा भनिसकेपछि यो उखु र बदाम खान पाइन्छ’ भान्दाईले कानमा खुसुक्क भने । कथा वाचक टंकप्रसाद मेरा भान्दाईको पनि भान्दाई थिए । 
 
त्यसको अर्को साल हाम्रो घरमा पनि स्वस्थानी वाचन सुरु भयो । छाला (के को छाला हो भनेर पनि जानकारी भएन । तर मृगको हुनुपर्छ भन्ने मेरो अनुमान छ ।) ले मोरिएको स्वस्थानीको किताब घरमा पहिलेदेखिनै रहेछ । अरु बेला त्यो किताबलाई खोल्न खोज्दा हुँदैन भन्दै हजुरआमा हप्काउनुहुन्थ्यो । स्वस्थानीको ब्रतकथा सुरु भएपछि काठको सन्दुकमा राखिएको त्यो किताबले बाहिर निस्कने अवसर पायो । गाउँकै कस्ले हो स्वस्थानीको किताब राखेर पढ्ने खटिया लगेको तर हराइदिएको भन्दै हजुरआमा गुनासो गर्दै हुनुहुन्थ्यो । किताबलाई खटियामा राखेर पढ्न सजिलो हुने रहेछ । 
 
साँझ सबैले खाना खाएर आमाले भान्छाको काम सकिसकेपछि बा स्वस्थानी कथा भन्न थाल्नुहुन्थ्यो । 
 
‘यम् ब्रह्मा बरुलेन्द्र रुद्र मरुत स्तुन्बन्ती दिव्यै इस्त....’ को मन्त्रोच्चारण सुरु भएपछि हामी सबै फुलपाती लिएर हात जोड्थ्यौँ । पहिलो वर्ष त कथा केही बुझिएन । तर अर्को वर्षदेखि कथा वाचनको दायित्व मेरै काँधमा आइलाग्यो । किनकी बा भन्दा पछि घरमा स्वस्थानीको किताव पढ्नसक्ने म मात्रै थिएँ । भाई–बहिनीहरु सानै थिए । 
 
आफैँले कथा वाचन थालेपछि कथा बुझ्न थालियो । सुरुका केही अध्यायसम्म सृष्टीको उत्पत्तिका कुराहरु साह्रै निरश लाग्थे । मधु–कैटभका कथाले थोरै आनन्द दिन्थ्यो । जब महादेवकी पत्नी सतीदेबीको प्रसंग आउँथ्यो। त्यसपछिमात्र कथा अलि रोमाञ्चक लाग्न सुरु हुन्थ्यो । 
 
सतीदेवीले अग्नीकुण्डमा फाल हालेर प्राणत्याग गरेपछि बहुलाएका महादेवले लाशलाई बोकेर बिभिन्न ठाउँमा यात्रा गर्दा उनका अंगहरु पतन भएका कुराहरु आउँथे त्यसपछि अझै मनलाई तान्थ्यो । तान्नुको कारण पनि थियो । त्यो हो–सतीदेवीको एउटा अंग (जाँघ) पतन भएर जालपादेबी उत्पन्न भएको कुरा आउँदा असाध्यै निकट बनाउँथ्यो । जालपादेबीको मन्दिर मेरो घरबाट हिँडेर आधा घण्टामा पुगिने देबीघाटमा पर्छ । जहाँ बिभिन्न पर्वहरुमा जात्रा लाग्दै आएको छ । सतीदेवीका शरिरका अंगहरु जहाँजहाँ पतन भए त्यहाँ एकएक थरि भगवानको उत्पत्ति भएको कुरा वर्णन गरिएको छ । 
 
एक महिनासम्म हरेक साँझ स्वस्थानी कथा पढिसक्दा लाग्थ्यो– संसारमा सबैभन्दा ठूलो भगवान भनेकै स्वस्थानी देवी रहिछन् । पुरै स्वस्थानी देवीमा आशा र भरोशा हुन्थ्यो । 
 
कथा भन्ने, सुन्ने क्रममा जब भगवान विष्णुले भेष बदलेर जालन्धर पत्नीको सतीत्व लुट्थे हजुरआमा भन्नुहुन्थ्यो–‘यस्तो छलछाम त देउताकै पालादेखि हुने रहेछ ।’ स्वस्थानी कथाको केन्द्रका रुपमा महादेवलाई बनाइएको तथ्य तीन वर्षजति लगातार वाचन गरेपछि दिमागमा घुस्यो । 
 
सात वर्षकी गोमा ब्राह्मणीलाई दुःख दिन ७० वर्षिया वृद्धको भेष बदलेर आउने महादेवको प्रसंग होस् या सुमेरु पर्वत परिक्रमा गर्न कुमारलाई पठाएर हिड्न नसक्ने गणेशलाई विजेता घोषणा गरिएको सन्दर्भ होस् सबैतिर अन्यायका थुप्रै घटनाहरु दिमागमा घुसे । 
 
हरेक वर्ष स्वस्थानी पढ्दा पढ्दा कुन अध्यायमा के वर्णन गरिएको छ भनेर अहिलेपनि याद छ । विशेषगरि कथा सुरु गर्नु अघि पढिने र समाप्त भैसके पछि पढिने मन्त्र अहिले पनि खरर याद छ । वर्षेनी पढ्दा कहिलेकाँही त दिक्क लाग्थ्यो । त्यही भएर स्वस्थानी वाचन गर्नुपर्ला भनेर खाना खाइसके म सुत्नतिर लागिहाल्थेँ । त्यसपछि कथा वाचनको जिम्मा बहिनीको भागमा पथ्र्यो । धेरै वर्षसम्म हाम्रो घरमा कथा वाचन र श्रवणले निरन्तरता पाएको थियो ।
 
हिन्दु धर्मका धेरैजसो कथा–पटकथा, देवता–दैत्यको उत्पत्ति र सन्दर्भको उठान भारतवर्ष (भारत) बाट भएका छन् । त्रेता, द्वापर युग र त्यसको सेरोफेरोमा आएका नायक (भगवान) को केन्द्र भारत छ । त्रेता युगमा भगवान रामका पुरुषार्थमा आधारित रामायण र द्वापर युगमा श्रीकृष्णका पुरुषार्थमा आधारित महाभारतका उडानस्थल भारतनै थिए । तर स्वस्थानी व्रतकथाको उठानदेखि बैठान सबै उ बखतको नेपालमै सिमित छ । उ बखतको नेपाल भन्नाले काठमाडौंको विशेषगरि चारभञ्ज्याङ भित्रै यो कथाको उत्पत्तिदेखि अन्त्यस्थल केन्द्रित छ । 
 
आदरणीय शैलेश आचार्यले दाइले एक पटक सन्दर्भवश भन्नुभएको थियो–‘राणाकालिन समयमा मानिसहरु तिर्थयात्राका लागि देश बाहिर नजाउन् भनेर काठमाडौंलाईनै केन्द्रित बनाएर कुनै चलाख लेखकको शिल्पी कलमको प्रयोगबाट स्वस्थानीको रचना भएको हो ।’ दाइको यो तर्कलाई खण्डन गर्ने आधार मसँग छैन । बरु सहमत हुन सकिने आधार धेरै छन् । किनकी राणकालिन अवस्थामा नेपालीहरु तिर्थयात्राका लागि वनारस, हरिद्वार, गया नजाउन् र त्यहाँको चेतना नेपाल पस्न नपाओस् भन्ने उद्वेश्यमा केन्द्रित रहेर स्वस्थानीको रचना भएको हुनुपर्छ भन्ने उहाँको तर्क दमदार लाग्यो । स्वस्थानीमा वर्णित शालीनदी, लावण्यदेश अहिले पनि काठमाडौ उपत्यकाको पूर्बी–उत्तरमा छ । त्यहाँ वर्णन भएको कैलाश पर्वत र श्लेशमान्तक वन, मृगस्थली खोज्न पशुपतिनाथ मन्दिरको पारिपट्टी मात्र पुगे हुन्छ । 
 
स्वस्थानीको अर्थ हो–आफ्नै स्थान । यो ग्रन्थले आफ्नै स्थानकोलाई पूज्ने र सम्मान गर्ने संस्कार सिकाउन खोजेको छ । समायनुकुल सुधार, संशोधन जुनसुकै क्षेत्रमा पर्छ । त्यसबाट स्वस्थानी पनि अलग रहन सक्दैन । नेपाली धर्मसाहित्यमा भानुभक्तीय रामायण पछि अधिकांशका घरमा पुगेको अर्को गद्य साहित्य स्वस्थानी ब्रतकथानै हो । 
 
मानिसहरु आदर्शमै रहुन्, धर्म संस्कृतिमै लिन रहुन्, शासन व्यबस्थामै समर्पित रहिरहुन्, राजा भनेका भगवानका अंश हुन् भन्ने धारणा गढाउनका लागि स्वस्थानी कथा प्रयाप्त छ । शिव शर्माको भेषमा आएका महादेवले गोमा ब्राह्मणीसँगको संसर्गबाट पैदा भएका नवराज राजा भए । स्वस्थानीले उनी भगवानका अंश हुन् भन्ने दर्शाउन खोजेको छ । 
 
स्वस्थानी कथाको सान्दर्भिकताको विषयमा वहश गर्न जरुरी पनि छैन । किनकी हाम्रो समाज निकै अघि पुगिसकेको छ । कहिलेकाँही सामाजीक सञ्जालमै टिप्पणी गरेको देख्छु–‘बाल दुराचारी साहित्य हो स्वास्थानी ।’ यस्ता टिप्पणी गर्नु र आलोचना गर्नुको कुनै तुक म देख्दिन । किनकी तत्कालिन समाजलाई नियन्त्रणमा राख्नका लागि, मानिसलाई भड्किन नदिनका लागि धार्मीक विषय निकै ठूलो औजार थियो । अघिल्लो साँझसम्म फोहोरको डुंगुर फाल्दै आएको भित्तामा भोलीपल्ट एकाबिहानै कुनै भगवानको चित्र टाँसिएको देख्यौ भने अक्षता, पूmल, धूपले पूजा गरेर नैवेध चढाउने संस्कारबाट आएका हौँ हामी सबै । 
 
स्वास्थानी त्यतिखेरको समाजमा नैतिक आचरण सिकाउने कथा थियो । काठमाडौंको एउटा कुनालाई नेपालभर चिनाउने कला पनि थियो । आन्तरिक पर्यटक बढाउने मेसो पनि थियो थियो । स्वस्थानी कथा तत्कालिन समाजलाई बाँध्ने एउटा लक्ष्मणरेखा पनि थियो कि भन्ने महसुस हुन्छ । सबैभन्दा मुख्य कुरा यो कथा नेपाली समाजको साक्षरताको मापक पनि थियो । विशेषगरि बिहेबारी छिन्नु अघि भनिन्थ्यो रे–‘फलानाको छोराले धेरै पढेकी त छैन, स्वस्थानीसम्म भन्न सक्छे रे ।’ अक्षर चिन्नु, वाचन गर्नुलाई ‘अक्षर फुटाउनु भनिन्थ्यो रे त्यतिखेर । धेरै पुरानो तथ्य त मलाइ जानकारी छैन । ३० वर्ष अघिसम्म स्वस्थानी वाचन गर्नसक्ने बुहारी घरमा भित्रिनु भनेको गाउँ समाजमा गर्वको विषय थियो । 
 
स्वस्थानीको व्रतकथाको जब प्रसंग आउँछ बाल्यकालको मात्र नभएर उखु, बदाम, सखरखण्ड, पिँडालु, सुन्तला लगायत प्रसादका यादहरु पनि हुत्तिदै आउँछन् । 
हरिओम उपनयनु मंगल व सकल जगन मंगलालय श्रीमान दिनकर किरण....