मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि एकताबद्ध बनौँ : उपप्रधानमन्त्री पोखरेल

राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि एकताबद्ध बनौँ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताएका छन् । 
 
राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले आज जितगढी किल्लामा आयोजना गरेको राष्ट्रिय एकता दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा बोल्दै उनले राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि सबै जनतालाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहेको धारणा राखे । 
 
“यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो”, उहाँले भन्नुभयो, “हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छौँ ।” रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरुले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताए ।
 
“यतिबेलाको आवश्यकता कुनै पनि पार्टी, सङ्गठन र अभियानमा लागेका सबै नागरिकहरु म र मेरो भन्ने कुराबाट होइन, हामी र हाम्रो भन्ने चेतनाबाट जागृत हुन आवश्यक छ । तबमात्र हाम्रो मुलुकलाई गौरवशाली मुलुक भनेर सम्झन सक्छौँ,” उनले भने । उनले सरकार अहिले नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा लागेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । 
 
उपप्रधानमन्त्री पोखरेलले सरकारले बनाएका योजना सफल पार्न सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राखे । 
 
उनले खेलमा सहभागी र विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सीताराम खड्काले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । 
 
राष्ट्रिय एकता दौड 
 
राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजु प्रथम भएका छन् ।
 
रिमालले फुल म्याराथनतर्फ ४२ किलोमिटरको दूरी  २ घण्टा ३१ मिनेट २ सेकेण्डमा पार गर्नुभएको थियो भने महिलातर्फ कोजुले २ घण्टा ५६ मिनेट ५१  सेकेण्डमा दौड पूरा गरे । 
 
प्रतियोगितामा नेपाली सेनाकै राजन रोकाय द्वितीय र नेपाली सेनाकै कल्याण बानियाँ तृतीय भए । रोकायले २ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरे भने बानियाँले २ घण्टा ३७ मिनेट ४ सेकेण्डमा दूरी पूरा गरे । 
 
महिलातर्फ नेपाली सेनाकी सरीता वासीले ३ घण्टा १२ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोस्रो स्थान हासिल गरिन् भने ३ घण्टा ३२ मिनेट १६ सेकेण्डमा दौड पूरा गरी सशस्त्र प्रहरी बलकी कृष्णेश्वरी सिन्तकला तृतीय बनिन् । 
 
त्यसैगरी १० किलोमिटर पुरुषतर्फ नेपाली सेनाका शिव रायमाझी प्रथम, श्रीकाश राई द्वितीय र गणेश सिंह ठकुरी तेस्रो भए । रायमाझीले ३३ मिनेट १५ सेकेण्ड, राईले ३३ मिनेट २५ सेकेण्ड र ठकुरीले ३३ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेका थिए । 
 
दश किलोमिटरको दौडमा महिलातर्फ पनि नेपाली सेनाकै सानुमाया कार्की प्रथम, सीता सेन द्वितीय र सीता चौधरी तृतीय बनिन् । कार्कीले ४० मिनेट २२ सेकेण्ड, सेनले ४३ मिनेट ५३ सेकेण्ड र चौधरीले ४४ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरिन् । 
 
यसैगरी २१ किलोमिटर पुरुषतर्फको दौडमा नेपाली सेनाबाटै प्रथम स्थानमा गजेन्द्र राई, द्वितीय स्थानमा रामजी बस्नेत र तृतीय स्थान मिलन कार्कीले हासिल गरे । राईले एक घण्टा १२ मिनेट २१ सेकेण्डमा, बस्नेतले एकघण्टा १३ मिनेट ९ सेकेण्डमा र कार्कीले एक घण्टा १४ मिनेट १५ सेकेण्डमा दौड पूरा गरे । 
 
एक्काईस  किलोमिटर महिलातर्फको दौडमा एक घण्टा २६ मिनेट ३३  सेकेण्डमा दौड पूरा गरी नेपाली सेनाकै खेलाडी विश्वरुपा बुढा प्रथम, एक घण्टा ३० मिनेटमा दौड पूरा गरी नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपाने द्वितीय र एक घण्टा ३५ मिनेट  ३५ सेकेण्डमा दौड पूरा गरी नेपाल प्रहरीकी रेखा विष्ट तृतीय बने ।
 
प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार तथा तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्राप्त गरे । पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले रु ५० हजार, दोस्रोले रु २५ हजार र तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । 
 
बुटवलको गोलपार्कबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको दौड प्रतियोगिता जीतगढी किल्लामा समापन भएको हो । उपप्रधान तथा रक्षामन्त्री पोखरेल, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतले पनि दौडमा सहभागी भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए ।