मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

रत्ननगर महोत्सव सुरु, निजी क्षेत्र अगाडि बढ्नुपर्छ : सांसद् पाण्डे

रत्ननगर महोत्सव सुरु, निजी क्षेत्र अगाडि बढ्नुपर्छ : सांसद् पाण्डे


चितवन । चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । 
 
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको एक समारोहबीच पूर्वअर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । 
 
महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले मेलामहोत्सवले स्थानीय उत्पादनभन्दा वाह्य वस्तुलाई प्राथमिकता दिने गरेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।
 
स्थानीय उत्पादनले प्राथमिकता पाएमात्रै महोत्सवको सान्दर्भिकता झल्किने भन्दै उनले अहिले आयोजना भइरहेका महोत्सवहरुमा बाहिरी वस्तुले स्थान पाएको र यहाँको पुँजी बाहिरिएको बताए ।   
 
निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्ने रणनीति नलिएको बताउँदै सांसद् पाण्डेले निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह गरे । पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने जिकिर गर्दै पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिए । 
 
सांसद् पाण्डेले चितवनको शक्तिखोरमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको काम छिटोभन्दा छिटो सुरु हुने विश्वाससमेत व्यक्त गरे । 
 
अर्का सांसद् कृष्णभक्त पोखरेलले अझै पनि एकले अर्काको विरोध गर्ने संस्कृतिको अन्त्य नभएको भन्दै सृजनाको काममा सबै लाग्नुपर्नेमा जोड दिए । 
 
कृषि र पर्यटनलाई प्राथमिकता दिँदै रत्ननगर उद्योग वाणिज्य संघले प्रत्येक दुई दुई वर्षमा महोत्सव गर्दै आएको छ । 
 
यसपटकको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोडबराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले बताए । 
 
उद्घादन कार्यक्रममा प्रदेश सांसद् कृष्णप्रसाद खनाल, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका जिल्ला नेता तेजेन्द्र खड्का, रत्ननगर नगरपालिकाकी उपमेयर तथा कार्यबाहक प्रमुख विमला दुवाडी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश नं ३ का सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव निराजन खनाललगायतले मन्तव्य राखेका थिए । 
 
महोत्सवको अवसर पारेर १३औँ साग प्रतियोगितामा तेक्वान्दो खेलबाट नेपालका लागि स्वर्णपदक हासिल गर्ने खेलाडी पार्वती गुरुङ र काँस्य पदक प्राप्त गर्ने खेलाडी शिशिर श्रेष्ठलाई उद्योग वाणिज्य संघ रत्ननगरले नगदसहित सम्मान गरेको थियो । 
 
यसपटकको महोत्सवलाई थप आकर्षित गर्न महोत्सव परिसरमै जीप लाइन सफारीको व्यवस्था गरिएको छ भने पञ्चकन्या मध्यवर्ती सामुदायिक वनमा जीप सफारीको पनि व्यवस्था मिलाइएको छ । 
 
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, संस्कृति, वस्तु एवं सेवाका पाँच सयभन्दा बढी वटा स्टल रहेका छन् । 
 
रत्ननगर महोत्सवअन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडीबजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने फेस्टिवलका संयोजक एवंम् आर्थिक समिति संयोजक ज्ञानबहादुर बिसुरालले बताए । 
 
मासु र अण्डा खपत बढाउन विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको विसुरालले जानकारी दिए । महोत्सव उद्घाटनअघि नेपाल माध्यमिक विद्यालयको चौरदेखि महोत्सवस्थलसम्म बृहत् शोभायात्रा निकालिएको थियो ।