मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सुनको भाउ हालसम्मकै उच्च, तीन सातामै चार हजारले वृद्धि

सुनको भाउ हालसम्मकै उच्च, तीन सातामै चार हजारले वृद्धि


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्नेबित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५०० कायम भएको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा रु ७५ हजार २०० कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य रु ७४ हजार २०० थियो । चाँदीको मूल्य भने प्रतितोला रु ९०० मा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मुल्य रु ९०० नै थियो । 
 
यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो ।
 
आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला रु चार हजारले वृद्धि भएको छ । पुस १ गते  प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा रु ५० ले वृद्धि भएको छ । 
 
महासंघका अनुसार गत मङ्सिरमा सामान्य अंकले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ ।
 
गत मङ्सिर १ गते छापावाल सुन प्रतितोला रु ७१ हजार ८००, तेजाबी सुन, रु ७१ हजार ५०० र चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको थियो ।
 
सोही महिनाको २० गते छापावाला सुन प्रतितोला रु ७१ हजार ७००, तेजावी सुन रु ७१ हजार ४०० र चाँदी रु ८५० मा कारोबार भएको थियो । 
 
एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुन रु तीन हजार ८०० ले वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको जनाइएको छ ।