मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल भ्रमण वर्षको अन्तिम तयारी पूरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

नेपाल भ्रमण वर्षको अन्तिम तयारी पूरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने


काठमाडौँ । सन् २०२० जनवरी १ तारिखका दिन अर्थात् पुस १६ गते नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार भ्रमण वर्षको दशरथ रङ्गशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको छ ।
 
राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेिछन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । 
 
सोही दिन सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ । प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकैसाथ उद्घाटन हुँदैछ ।
 
त्यस्तै जनवरी ७ तारिख अथात् पुस २२ गते विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ । विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाइनेछ । 
 
पत्रकार सम्मेलनमा भ्रमण वर्षको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा भ्रमण वर्षको भव्य शुभारम्भ गरिने तथा सोही दिन सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटनको आवश्यक तयारी पूरा गएको जानकारी दिए ।
 
मन्त्री भट्टराईले गत साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै अधिकांश समय नेपाल भ्रमण वर्षका लागि खर्चिएको र भ्रमण वर्षलाई सफल बनाउन १०० भन्दा बढी संघसंस्थासँग सरकारी तथा सरोकारवाला निकायसँग छलफल र बैठक गरिएको बताए । 
 
निजी क्षेत्र, गैरसरकारी संस्था, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र स्वयंमसेवी समूहलगायत क्षेत्रसँग मन्त्री भट्टराईले अन्तरक्रिया गरी भ्रमण वर्षलाई सफल बनाइदिन अनुरोध गरेका थिए । 
 
उनले सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको र यसबीचमा भएका छलफल पर्यटक भित्र्याउनेमा मात्र केन्द्रित नभई राष्ट्रिय एकता कायम गरी भ्रमण वर्षलाई कसरी राष्ट्रिय उत्सव र अभियानकै रूपमा मनाउन सकिन्छ भनेर सरोकारवालासँग छलफल गरिएको जानकारी दिए । 
 
मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले यसको विकास प्रवद्र्धनमा आम नेपाली सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिए ।
 
उनले थपे, “राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सव तथा राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ र पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएका छौँ ।” 
 
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई बनाउन आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको योगदान बढाउनुपर्नेमा जोड दिए । 
 
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई सङ्ख्यात्मक मात्र नभई गुणात्मक हिसाबले पनि अगाडि बढ्नुपर्छ र साथै पूर्वाधारलाई अघि बढाउनुपर्छ भनेर भ्रमण वर्ष मनाइरहेको स्पष्ट गरे । 
 
भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य र व्यवस्थित गर्न सबैखाले तयारी गरिएको जानकारी दिए ।
 
उद्घाटन समारोहका दिन दशरथ रङ्गशालामा तीन रंगको पास वितरण गरिएको छ सेतो, पहेँलो र निलो । जुन सेतो सर्वसाधारणका लागि, पहेँलो विशिष्ट पाहुनाका लागि र नीलो अति विशिष्ट पाहुनाका लागि विशेष कार्ड बनाइएको छ ।