मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पर्यटकलाई सुरक्षा दिन ठमेल क्षेत्रमा ‘रात्रिकालीन गस्ती’ बढाइने

पर्यटकलाई सुरक्षा दिन ठमेल क्षेत्रमा ‘रात्रिकालीन गस्ती’ बढाइने


काठमाडौँ । नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई मध्येनजर गर्दै शान्तिसुरक्षा व्यवस्था थप मजबुद बनाइने भएको छ । 
 
पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले आज आयोजित कार्यक्रममा ठमेल क्षेत्रमा रहेका होटल, घरवास तथा होस्टल सञ्चालकबीच ‘पर्यटन सुरक्षा तथा दायित्व’ विषयक अन्तरक्रियामा नेपाल घुम्न आउने पर्यटकको सुरक्षाको जिम्मेवारी सबै नागरिकको भएको ठहर गरिएको छ । 
 
कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई थप मजबुद बनाउन नेपाल प्रहरी गम्भीर रहेको उल्लेख गरे ।
 
उनले भने, “नेपाल भ्रमणमा आउने पर्यटकको सुरक्षा नेपाल प्रहरीसँगै सचेत नागरिकको पनि हो ।”
 
प्रनाउ राठौरले नेपाल भ्रमण वर्षलाई लक्षित गरी नेपाल प्रहरीले ‘रात्रिकालीन गस्ती’लाई बढावा दिएको बताए । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सुरक्षित र व्यवस्थित ठमेल निर्माण गरेमात्र पर्यटकको आगमन बढ्ने बताए । 
 
पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेलमा आउने भएकाले पर्यटकको सुरक्षाको जिम्मेवारी होटल, घरवास र होस्टेल सञ्चालकको पनि भएको बताए । 
 
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले ठमेलको शान्ति सुरक्षाको उचित व्यवस्थापन, ट्राफिक र पार्किङको दीर्घकालीन व्यवस्था, फोहरमैला व्यवस्थापन गरेमात्र ठमेलमा पर्यटक बढ्ने बताए । 
 
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जथाभावी पर्यटकलाई तानेर दुःख दिने व्यक्तिलाई प्रहरीले कारबाही गर्ने बताए । 
 
नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले पर्यटक आकर्षित गर्ने खालका विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।