मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौँ । समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिए ।
 
संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै सुनुवाइ नभएपछि सरकारमा रहिरहनुको औचित्य समाप्त भएको निष्कर्षसहित पार्टीले समर्थन फिर्ता लिएको आज सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए । 
 
“आज बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ, अब हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा बस्ने जानकारी गराउँछु” अध्यक्ष यादवले पार्टीको निर्णय सुनाउँदै भने ।
 
संविधानको धारा ७६ को उपधारा २ बमोजिम तत्कालीन संघीय समाजवादी फोरम नेपाल २०७५ जेठ १४ गते सरकारमा सामेल भएको थियो । सरकारमा उक्त पार्टीबाट अध्यक्ष यादव उपप्रधानमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए भने अर्का नेता मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री थिए । यसअघि यादव उपप्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत भएका थिए । 
 
समाजवादी पार्टीद्वारा आज जारी विज्ञप्तिमा यही पुस ७ गते संविधान संशोधनका लागि आवश्यक गृहकार्यका लागि संविधानविद् सम्मिलित विज्ञ सुझावसमिति गठन गर्न मन्त्रिपरिषद्मा गरिएको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरी दुईबुँदे सहमतिबाट पछाडि हटेकाले सरकारबाट बर्हिगमन भएको उल्लेख छ । 
 
अबको बाटोबारे पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले संसदमा प्रतिपक्षमा रही रचनात्मक र सिर्जनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 
 
पार्टीले अधिकारबाट वञ्चित भएका समुदायको मुद्दालाई स्थापित गराउने, शासकीयस्वरुप, समानुपातिक समावेशीतालगायतका विषय सच्याउन भूमिका खेल्ने बताउँदै उनले भने, “सबैले मेरो संविधान हो भनेर गौरव गर्ने परिस्थिति हामी बनाउन चाहन्छौं, पहिलेको चाहना पनि त्यही थियो, यसमा पार्टी निरन्तर लागिरहन्छ ।” 
 
मुद्दा स्थापित गर्न सदन र सडकबाट शान्तिपूर्ण र अहिंसात्मकरूपमा प्रस्तुत हुने उहाँको भनाइ छ । यसअघि पटक–पटक प्रधानमन्त्रीलाई भेटेर मागपत्र दिएको तथा संसद्, मन्त्रिपरिषद्, पार्टी–पार्टीबीच कुराकानी भए पनि संविधान संशोधनको विषयमा कुनै सुनुवाइ नभएको यादवले जिकिर गरे । 
 
नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले एकलौटी सरकार चलाउँदै आएको र सम्झौता पनि सरकारले एकलौटी तोडेको उनले आरोप लगाए ।  
 
राजपा सरकारमा जान्छ भन्ने मलाई लाग्दैन 
 
पत्रकार सम्मेलनमा सोधिएको अर्को जिज्ञासामा अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारमा जान्छ भन्ने आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । 
 
“राजपा सरकारमा जान्छ भन्ने कुरामा मलाई विश्वास छैन, उसले हिजो भनेको कुरा आज उल्ट्याउला भन्ने लाग्दैन, सहमति गरेर गएमा त्यो राजपाको स्वतन्त्रता हो” यादवले भने । 
 
पार्टी एकीकरणका लागि महत्वपूर्ण विषय नै समाजवादी पार्टीले सरकार छोड्नुपर्छ भन्ने रहेकाले अब सरकार छाडेपछि त्यो विषय टुङ्गिएको उल्लेख गर्दै अध्यक्ष यादवले अब दुई पार्टीबीच ठूलो समस्या नरहेको दाबी गरे । 
 
उनले पार्टी एकीकरणका लागि राष्ट्रिय परिषद् र केन्द्रीय समितिको बैठकले निर्णय गरिसकेको समेत बताए । दुई पार्टीबीच पनि धेरै कुराकानी भइसकेको जानकारी दिँदै उनले राजपा सकारात्मक रुपमा अघि बढे एकीकरणमा कुनै समस्या छैन भने ।