मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सन्दीप क्षेत्रीले हँसाए ह्युस्टनका नेपालीलाई

सन्दीप क्षेत्रीले हँसाए ह्युस्टनका नेपालीलाई


हिमालयखबर संबाददादा- 
टेक्सस (अमेरिका)।  ‘स्ट्याण्डअप’ कमेडीका लागि चर्चित नेपाली कमेडियन सन्दीप क्षेत्री ‘मिस्टर ह्याप्पी’ले गएको शुक्रवार साँझ ग्रेटर ह्युस्टनका नेपालीहरुलाई मज्जाले हँसाए। नेपाल र नेपालीहरुसंग सम्वन्धित समसामयिक विषयवस्तुहरुलाई व्यंगकलाले सिंगारेर प्रस्तुत गर्न खप्पिस क्षेत्रीले अमेरिकी जीवनशैली, रहन-सहन जस्ता विषयहरुलाई पनि आफ्नो व्यंग्यमा समेटेका थिए। करीब एक घण्टा ३० मिनेट आफ्नो हांस्यकला प्रस्तुत गरेका क्षेत्रीले श्रीमान-श्रीमतीका सम्वन्धमा समेत विशेष कमेडी गर्न भ्याए। 
 
उनका प्राय सबै प्रस्तुतिमा मज्जाले हाँसेका दर्शकदीर्घामा केही गुनासो पनि सुनियो- ‘उनको कमेडीको मुख्य विषय महिला बनाइयो।’ तर ठट्यौलीशैलीमा गरिएका व्यंगहरुलाई हाँसुन्जेलसम्म मात्र याद गरिनुपर्ने र त्यसलाई इस्यू बनाउन नहुनेमा भने धेरैको समान धारणा पनि सुनियो। 
 
नेपाली समुदायलाई बिभिन्न मनोरन्जनात्मक र सामाजिक आवश्यकताका विषयहरुमा सेवा प्रदान गर्ने उद्देश्यले अगाडि आएको एभरेष्ट मिडिया एण्ड मार्केटिंग एलएलसीको आयोजनामा भएको हँसाउने कार्यक्रममा नेपाली गजल बाचन कार्यक्रम समेत समावेश गरिएको थियो। 
 
कुनै पनि समाज उनीहरुको भाषा, साहित्य, संस्कृति र उनीहरुले अबलम्वन गर्ने चाल-चलनले धेरै हदसम्म चिनिने गर्दछ। झन् आफ्नो मूल भूमिबाट टाढा भएकाहरुको चिनारीमा उनीहरुको भाषा, साहित्य, कला र संस्कृतिले निकै ठूलो भूमिका खेलेको हुन्छ। आफ्नो उद्गमको परिचयका लागि सक्रिय ह्युस्टन, टेक्ससका साहित्यकर्मीहरुको गजल बाचनले कार्यक्रमलाई थप ओजिलो बनाएको प्रतिक्रिया धेरै सहभागीहरुको थियो। 
 
गजलकार एवं ‘मायाको मात’ मुक्तक संग्रहकी लेखिका एवं पत्रकार बिटु केसी, ह्युस्टनमा गजलयात्राको थालनीमा सक्रिय युवा सर्जक सतिश त्रिपाठी र गजल, गीत र कविता लेखनमा पनि उत्तिकै सक्रिय सर्जक बिलल पोखरेलका गजल प्रस्तुतिले श्रोताहरुको ध्यान निकै खिचेको थियो। 
 
स्थानीय आशियाना रेष्टुरेण्टमा आयोजित ‘हाँस्ने साँझ’मा ग्रेटर ह्युस्टन क्षेत्रका नेपाली समुदायका अगुवा, व्यवसायी एवं आ-आफ्ना पेशामा लब्ध-प्रतिष्ठित महानुभावहरु सहित करीब सयजना नेपालीहरुको सहभागिता रहेको थियो। ‘सबैलाई निशुल्क प्रवेश मिलाएको एभरेष्ट मिडिया एण्ड मार्केटिंगले सोही कार्यक्रम मार्फत नै आफ्ना साझेदारहरुको नाम समेत सार्वजनिक गरेको थियो। कार्यक्रम संचालक द्रोण गौतमले आफू सहित बच्चा तिवारी, जगदिश काफ्ले र सुजन पण्डितलाई संस्थापक साझेदारका रुपमा परिचय गराएका थिए। सोही अवसरमा भिजिट नेपाल २०२० को सफलताका लागि सबै नेपालीहरुलाई आ-आफ्नो क्षेत्रबाट सहयोग पुय्राउन अनुरोध गरिएको थियो भने नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटनदूतका हैसियतमा हालसालै नियुक्त जगदिश काफ्लेलाई शुभकामना समेत दिइएको थियो।