मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ट्रम्पलाई महाअभियोग

राष्ट्रपति ट्रम्पलाई महाअभियोग


हिमालयखबर संबाददादा 
अमेरिका- अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले(हाउस) राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाएको छ। पार्टी लाइन अनुरुप महाअभियोग सम्वन्धि प्रस्तावहरु माथि भएको मतदानमा राष्ट्रपति ट्रम्पलाई महाअभियोग (इम्पिचमेण्ट) लगाउने पक्षमा हाउसमा भएका एकजना स्वतन्त्र सहित २३० कंग्रेसम्यानहरुले मतदान गरेका थिए। त्यसैगरी एकजना डेमोक्रेट सासंद सहित १९७ जना रिपव्लिकन सासंदहरुले विपक्षमा मतदान गरेका थिए। दोश्रो प्रस्ताव( इम्पिचमेण्ट आर्टिकल) मा लगत्तै भएको मतदानमा २२९ मत पक्षमा र १९८ मत विपक्षमा परेको थियो। यसरी अधिकारको दुरुपयोग र संसदीय सुनुवाईमा अवरोध गरेको भनेर लगाइएको दुबै आरोपहरु माथि भएको मतदानमा बहुमतले राष्ट्रपतिलाई इम्पिच गर्ने प्रस्ताव पारित भएको हो। 
 
डेमोक्रेटहरुको नियन्त्रणमा रहेको हाउसले महाअभियोग लगाउने निश्चित नै थियो। बोली र व्यवहारमा निकै आक्रामक ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग लगाइएका तेश्रो र पहिलो रिपव्लिकन राष्ट्रपति भएका छन्। यस अघि एन्ड्रयू जन्सन (१८६८) र बिल क्लिन्टन (१९९८) पनि हाउसबाट इम्पिच भएका थिए।
 
स्पिकर न्यान्सी पेलोसीलाई हिजो ६ पेज लामो आक्रोसपूर्ण पत्र लेखेका राष्ट्रपति ट्रम्पले इम्पिचमेण्ट प्रक्रियालाई निरुत्साहित पार्न भरमग्दुर प्रयास गरेका थिए। सेप्टेम्वर २४ मा उनी बिरुद्ध महाअभियोग सम्वन्धि अनुसंन्धान गर्ने स्पिकर पेलोसीको घोषणा यता डेमोक्रेटहरुप्रति अत्यन्त क्रद्ध देखिएका ट्रम्पले सयौं आक्रोशपूर्ण ट्वीटहरु मार्फत इम्पिचमेण्ट प्रक्रियामा आफ्नो तिब्र असन्तुष्टी  व्यक्त गर्दै आइरहेका थिए। 
 
देशका लागि केही नगर्ने उग्रवामपन्थी शैलीका डेमोक्रेटहरुले इतिहासमै सबभन्दा कम बेरोजगार दर कायम गर्न सक्षम र दक्षिणी बोर्डरमा पर्खाल लगाएर  गैरकानूनी आप्रवासीको घुसपैठ रोक्न सक्रिय र ‘अमेरिका पहिले’ नीतिको पक्षपाती राष्ट्रपतिलाई इम्पिच गर्न खोज्नु नाजायज कार्य हो भन्दै आएका ट्रम्पलाई राष्ट्रपति पदको चरम दुरुपयोग गरेको र संसदीय अनुसन्धानलाई अवरोध पुर्याउने काम गरेको अभियोगमा महाअभियोग लगाइएको हो। 
 
एकजना पनि रिपव्लिकन सांसदको समर्थन प्राप्त गर्न नसकेको महाअभियोगले दिर्घकालसम्म अमेरिकालाई राजनीतिकरुपमा विभक्त गर्ने खतारा निम्त्याएको छ। आफ्नो पक्षमा नलाग्ने सबै मिडियाहरुलाई जनता बिरोधी ‘फेक न्यूज’ र डेमोक्रेटहरुलाई उग्रवामपन्थी र अमेरिकाको हितमा केही काम नगरेको आरोप लगाउने उनको छुद्रतापूर्ण व्यवहार नै अमेरिकालाई राजनीतिक द्वन्द्धमा धकेल्ने मुख्य कारक हो भन्ने धेरै राजनीतिक विश्लेषकहरुको तर्क रहॅदै आएको छ। 
 
तथ्यहरुलाई आफ्नो स्वार्थमा बढाई-चढाई गर्ने र फरक मत राख्नेहरुप्रति निर्मम ढंगले प्रस्तुत हुने , आफ्ना कुण्ठा, रिस र आवेगलाई ट्वीट मार्फत सार्वजनिक गरिहाल्ने उनको शैलीले अमेरिकी राष्ट्रपति पदको गरिमा र मर्यादालाई घटाएको धेरैको विश्वास छ। अन्तराष्ट्रियस्तरमा पनि ट्रम्पको खरो व्यवहार र रुखो प्रस्तुतिले अमेरिकी नेतृत्वलाई विश्वसामु कमजोर बनाएको अमेरिकी संचार माध्यमहरुले जनाउॅदै आएका छन्। हालै पेरिसमा सम्पन्न नेटोको सम्मेलनमा केही विश्व नेताहरुको ट्रम्पप्रतिको अनौपचारिक टिप्पणीले पनि उनको खस्किंदो अन्तराष्ट्रिय छविलाई उजागर गरिदिएको  थियो। 
 
हाउसले महाअभियोग लगाएपनि रिपव्लिकनहरुको बहुमत रहेको सिनेटमा हुने ट्रायलबाट भने राष्ट्रपति ट्रम्पले उन्मुक्ति पाउने निश्चित जस्तै छ। उनलाई पदबाट हटाउन आवश्यक दुई तिहाई मत सिनेटमा  नपूग्ने भएकाले बाॅकी अवधी पदमै बसिरहन कुनै संवैधानिक अड्चन नभएपनि महाअभियोगको दागबाट भने राष्ट्रपति ट्रम्प बच्न सकेनन्। तस्बिर: सामाजिक संजाल 
 
यो पनि पढ्नु होला :