मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालका बैंक तथा वित्तीय संस्थामा ह्याकरको खतरा !

नेपालका बैंक तथा वित्तीय संस्थामा ह्याकरको खतरा !


काठमाडौँ । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच अर्ब विदेश लैजाने योजना तुहिएको छ ।
 
उक्त घटनाबारे प्रहरीले बेलैमा खबर पाएकाले ठूलो रकम विदेशिनबाट जोगिएको हो । उक्त घटनामा सङ्लग्न १८ जनालाई पक्राउ गरी कानूनी कारवाही अघि बढाइसकिएको छ । उनीहरुले बैकबाट निकालेर विदेश पठाउन ठिक्क पारेको ६० लाख बरामद गर्न प्रहरी सफल भयो । अझै पनि घटनामा सङ्लग्न रहेका धेरै एजेन्ट फरार छन् भने विदेशी ह्याकर पक्राउ पर्न सकेका छैनन् । 
 
उनीहरुले धेरैजसो बैंक र वित्तीय संस्थालाई तारो बनाउँदै आएका छन् । यसरी रकम लैजाने गिरोहले भारतको भूमि प्रयोग गर्ने गरेका छन् । लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका छन् । विदेशी ह्याकर तथा ठगीका गिरोहले सबै घटनामा नेपाली एजेन्ट परिचालन गर्ने गरेका छन् । 
 
यस्तै घटनामा सङ्लग्न रहेका तीन जनालाई पक्राउ गरी आज मात्रै महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा यसैगरी रु १४ करोड ६७ लाख रकम विदेश गएको खुल्न आएको छ । विदेशमा बसेर प्रविधिको दुरुपयोग गरी उनीहरुले नेपालीलाई प्रयोग गरेर नेपालका वैंक तथा वित्तीय संस्थाको पैसा लगेका हुन् ।
 
यस्ता घटनामा नाइजेरियन नागरिक पिटर हरम्यान एसेन्जा, स्मीथ मोरिस र १० जना भारतीय नागरिकको सङ्लग्नता रहेको खुल्न आएको छ । उनीहरुले भारतको दिल्ली र मुम्बई तथा पाकिस्तान, चीन, तान्जानिया, बेलायतमा बसी नेपालका नागरिकलाई एजेन्ट बनाइ रकम लाने गरेका छन् । बैंक वित्तीय संस्थासँगै उनीहरुले सामाजिक सञ्जाल या अनलाइनको माध्यमबाट चिठ्ठा परेको र पार्सल आएको बहानामासमेत व्यक्तिको करोडौँ रकम ठगेर लगेका छन् । 
 
उक्त गिरोह नेपालका बैंक तथा वित्तीय संस्थासमेत ह्याक गर्ने कार्यमा सङ्लग्न रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए । भाइवर, ह्वाट्स एप, ईमो, फेसबुकलगायत सामाजिक सञ्जालको प्र्रयोग गरी रकम विदेश पठाउने कार्यमा सक्रिय रहेका तीन जनालाई महाशाखाले हालै पक्राउ गरेपछि उक्त कुरा खुलेको हो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका १७ का ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार छन् । 
 
नेपाली एजेन्टले ठगी तथा ह्याक गरेको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत खाता खोलेर विदेश पठाउने गरेका थिए । उक्त रकममध्ये १५ देखि २० प्रतिशत नेपाली एजेन्टलाई दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत लगेको फेला परेको छ ।
 
प्रहरीको अनुसन्धानमा ४० भन्दा बढी नेपाली एजेन्ट उक्त कार्यमा सक्रिय छन् । एउटै एजेन्टले छ भन्दा बढी बैँक खाताबाट कारोवार गरेको र हालसम्म रु १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शङ्कास्पद रुपमा कारोवार भएको फेला परेको छ । 
 
सोही गिरोहले नेपालको कृषि विकास बैंक र पानस रेमिट ह्याक गरेको तथा अन्य १७ वटा बैंकलाई उक्त ठगी कार्यमा प्रयोग गरेको पाइएको छ । उनीहरुले बैंक अफ काठमाडाँै, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन, नेविल, लुम्बिनी विकास, माछापुच्छ, एसबिआई, नेपाल बङ्गलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्टाण्डर्ड च्यार्टर, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंक प्रयोग गरेको पाइएको छ । 
 
अहिलेसम्म ३४ जना नेपाली घटनामा सङ्लग्न रहेको पाइएको छ । यस्तो घटनामा पीडित भएको भनेर १५ जना प्रहरीको सम्पर्कमा आएका छन् । ठगी गरेको रकम पठाउन प्रयोग भएका बैंकको सफ्टवेयरसमेत ह्याक गरेको हुनसक्ने आशङ्कामा अनुसन्धान जारी रहेको महाशाखाका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । रासस