मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही नौ लाख दिइने

सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही नौ लाख दिइने


काठमाडौँ । सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सागका विजेता खेलाडीलाई सम्मानका लागि आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
 
प्रधानमन्त्री ओलीले १३औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु नौ लाख पुरस्कार दिने घोषणा गरे । एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ । यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिइनेछ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत रु पाँच लाख प्राप्त गर्नेछन् ।
 
यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गरे ।
 
यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो । 
 
पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्बाङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो । मङ्गलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो ।