मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अदालतको कतिपय फैसला र आदेश अनुकरणीय : प्रधानन्यायाधीश

अदालतको कतिपय फैसला र आदेश अनुकरणीय : प्रधानन्यायाधीश


बुटवल । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतको कतिपय फैसला र आदेश अनुकरणयोग्य भएको बताएका छन् । 
 
नेपाल बार एसोसिएशनले आज बुटवलमा आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन तथा ४६औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा उनले वैयक्तिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, पिछडिएको समुदाय र अल्पसङ्ख्यकका विषयमा भएका फैसला वा आदेश अनुकरणीय रहेको उल्लेख गरे । 
 
प्रधानन्यायाधीश जबराले सामाजिक विकृतिका रुपमा रहेको बोक्सी, छाउपडी प्रथालगायतका विषयमा पनि अदालतको आदेश भएको उल्लेख गरे । 
 
उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अपरिहार्य भएकामा जोड दिँदै कानून व्यवसायी र अदालतबिना न्यायपालिका अघि बढ्न नसक्ने बताए । 
 
प्रधानन्यायाधीश जबराले भने, “स्वतन्त्र, निष्पक्ष र सुदृढ न्यायपालिकाबाट मात्रै कानूनको सशक्त पालना हुन्छ ।” उनले आफ्नो कार्यकालमा अहिलेसम्म न्यायाधीशको विषयमा उजुरी नपरेको स्पष्ट गरे । 
 
सो अवसरमा उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आवश्यक छलफल र परामर्श गरेर संविधान पुनरावलोकनका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्ने बेला भएको बताए । 
 
उनले विज्ञ समूहको प्रतिवेदनका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै विगतका केही वर्षदेखि न्यायाधीश नियुक्तिमा राजनीतिक रङ दिइएकाले अदालतप्रति अनास्था बढेको बताए । 
 
उपप्रधानमन्त्री यादवले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरे सक्षम र स्वतन्त्र न्यायपालिका निर्माण हुने विश्वास व्यक्त गरे । 
 
उनले भने, “न्याय प्रणाली एकात्मक भएकाले प्रदेशसँगको सहकार्य आवश्यक भएको छ ।” बुधबारसम्म जारी रहने सम्मेलनमा सहभागी हुन देशभरबाट करिब ६०० कानून व्यवसायी बुटवलमा भेला भएका छन् ।