मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिखर सम्मेलन गरी सार्कलाई पुनर्जीवन दिन प्रधानमन्त्रीको आग्रह

शिखर सम्मेलन गरी सार्कलाई पुनर्जीवन दिन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन छिट्टो आयोजना गरेर संगठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन् । 
 
सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा दिएको सन्देशमा उनले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् । 
 
सन्देशमा उनले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकांक्षा पूरा गर्न संगठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताएका छन् । 
 
दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय संगठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । 
 
द्रूत आर्थिक, विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सृजना गरी दक्षिण एशियाका जनताको जीवनस्तर उकास्नमा सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्रीले स्मरण गरेका छन् । 
 
“सार्क दक्षिण एशियाका जाताको साझा मञ्च हो, गरिबी, जलवायु परिवर्तन र आतंकवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो,” उनले सन्देशमा भनेका छन् । 
 
यसैगरी मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएका छन् । 
 
यसै अवसरमा बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले पनि एक सन्देश जारी गरी तीनदशकभन्दा पुरानो साझा क्षेत्रीय संगठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास, सामाजिक उन्नयनका निम्ति उपयोग गर्न अपरिहार्य भएको बताएका छन् । 
 
सार्कका महासचिव अमजद हुसेन बी सियालले आठवटै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।