मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छात्रालाई ट्रकले किचेपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू

छात्रालाई ट्रकले किचेपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू


कोहलपुर । कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कर्फ्यू लगाइएको छ । दिउँसो ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए । 
 
उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफ्र्यु लगाउने निर्णय गरेको हो । कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहिनी खोलासम्म लागू हुनेगरी कर्फ्यू लगाइएको हो ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार कोहलपुरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति सामान्य बनेपछिमात्रै हटाउने निर्णय भएको छ । कफ्र्यु आदेश जारी भएसँगै काहलपुर क्षेत्र सुनसान बनेको छ । 
 
यस्तै दुर्घटनामा गम्भीर घाइते कोहलपुर नगरपालिका–१० की बालिका प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बालिकालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ भने अन्य घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
 
आन्दोलनमा उत्रिएका विद्याथीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनीसमेत गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् । कर्फ्यू आदेश जारी भएसँगै कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 
 
अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीले संयमता अपनाउन अपिल गरेका छन् । थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए । उनले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताए । 
 
त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका चन्दको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए । 
 
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
 
नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
काँग्रेसले आज विज्ञप्तिमार्फत प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिकलगायत सुरक्षाकर्मीसहित दर्जनौँ घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद् भएको जनाएको छ ।
 
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारवाहीको प्रक्रिया थाल्न सरकारसँग माग गरिएको छ । काँग्रेसले सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।