मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठूलालाई पनि कानुन लाग्नुपर्छ : महान्यायाधिवक्ता खरेल

ठूलालाई पनि कानुन लाग्नुपर्छ : महान्यायाधिवक्ता खरेल


काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानुन नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् । 
 
झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उहाँले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए ।
 
गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी कार्वाहीको दायरमा आइरहेको चर्चा गर्दै उनले भने, “हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।”
 
उनले समाजमा अपराध नियन्त्रण र कानूनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए । उनले भने, “मान्छे पक्राउ पर्नासाथ छाडिदिनुप¥यो भनेर जनप्रतिनिधिहरु ठूला मान्छेकहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो ।”
 
पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानूनले दण्डनीय किटान गरिसकेको जनाउँदै महान्यायाधिवक्ता खरेलले छाउपडीमा जाने र पठाउने दुवैलाई कानुनबमोजिम कारबाही हुने जानकारी दिए । 
 
अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण महिलाहरुले ज्यानसमेत गुमाउनु परेको दुःखद अवस्था विद्यमान भएको हुँदा सरकार अन्धविश्वासविरुद्ध कठोर रूपमा प्रस्तुत हुने उनको धारणा थियो । 
 
सुविधासम्पन्न कार्यालय निर्माण
 
झापा जिल्ला सरकारी वकिलको कार्यालय भवन रु तीन करोड ७१ लाख ९० हजार लागतमा निर्माण भएको छ । पाँच कट्ठा तीन धुर क्षेत्रफलमा सो भवन निर्माणका लागि ह्याबिटेड आशिषदीप जेभी भद्रपुरले २०७४ साल असोज ९ गते ठेक्का सम्झौता गरेको थियो । 
 
निर्धारित अवधिभन्दा पाँच महिना ढिलो भवन निर्माण सम्पन्न भएको हो । पीडितमैत्री बयान कक्ष, छलफल कक्ष, पुस्तकालय, अतिथिगृह, आवासगृहसहित २६ कोठा रहेको सो भवन प्रविधिका दृष्टिले समेत अत्याधुनिक र सुविधासम्पन्न भएको जिल्ला सरकारी वकिलको कार्यालय झापाका प्रमुख केशव पन्तले जानकारी दिए ।